Sunday 23rd of February 2020

लघुकथा: बेहुली ‘उहाँको श्रीमानले उहाँलाई हरेक दिन…..’

हिजो गाउँघरमा तुरुकफुरुक गर्ने रञ्जु दिदी आज निराश बनेकी छे । हिजो अरूलाई रुनु हुन्न भनेर सान्त्वना दिन खोज्ने रञ्जु दिदी आज आफै झन्कार गर्दैछे  । जीवनचक्र रहेछ । सबैलाई त्यो चक्रमा बाँधिनुपर्ने बाध्यता हुँदो रहेछ । त्यस्तै एक बाध्यता भनौं वा खेल रञ्जु दिदीमा आइपर्छ ।  रञ्जु दिदीले पनि त कहाँ सोचिकी हुँदी होलिन् र ? म बिहे गर्छु । छोराछोरी जन्माउँछु । बुढा सासूससुराको स्याहार गर्छु, अनि घरबारी हुन्छु । अहिले त्यस्तै एक कथा बनेको छ रञ्जु दिदीको ।

बालापनमा सँगै गोठालो जान्थ्यौँ । रञ्जु दिदी भन्नुहुथ्यो–  सन्तोष राम्रो पढाइ लेखाइ गर्नु पर्छ, ठूलो मान्छे बनेर आमाबुबालाई खुसी राख्नु पर्छ  । अनि सुन्न त्यो  तल्लो घरको दिदी त कति माइत आउनुहुन्छ है ? उहाँको श्रीमानले उहाँलाई हरेक दिन रक्सी पिएर पिट्नुहन्छ रे । त्यस्तो पनि के विवाह गर्ने है सन्तोष ? मत त्यस्तोे बिहेसिहे केही पनि नगर्ने । यस्तै शब्दहरू रञ्जु दिदी गोठालो जाने समयमा बेलाबखत भनी राख्थिन् मलाई ।

पढाइ लेखाइमा राम्रै मिहिनेत गर्ने रञ्जु दिदीको व्यवहारमा खोट लगाउनु पर्ने खाली ठाउँ नै थिएन । गाउँघरमा मिलनसार, सोझी भनेर चिनिने रञ्जु दिदीको सुन्दरतामा अरूको भन्दा  कमी थिएन । सँगैका साथीसँगीहरूको धमाधम बिहे हँुदै  गर्दा रञ्जु दिदी भने आफ्नो जवानी यौवनको सुगन्धले थरीथरीका केटाहरूलाई आफ्नो वरिपरि लोभ्याउन्थिन् र तिनी केटाहरूलाई नटेरेझैँ भुसुना सम्झिँदै आफ्नो बाटो लाग्थिन्, कुनै मतलव नै नभएझैैँ । आफ्ना साथीहरूलाई यति छिट्टै विवाह नगर्नु भनेर पनि सम्झाउन्थिन् तर मन भएपछि कसको के लागोस् र रञ्जु दिदीका साथीहरू भने कोही आफ्नै चाहनाले घरबाटै भागेर त कोही आमाबुबाले रोजेको केटासँग विवाह गरेर सवारी हँुदै थिए ।

रञ्जु दिदी भने ती  केटाहरूका लागि “आकाशको फल आँखा तरी मर”झैँ थिइन् । किनकि रञ्जु दिदीले विवाह गर्न त के विवाहको सपनासम्म समेत सोचेकी थिइनन् । तर आज अपसोच जे नसोचेको त्यही हुन गएको छ रञ्जु दिदीका लागि ।

हिजो  आफ्ना साथी सङ्गीहरूलाई विवाह गर्नु हुन्न भनेर सम्झाउने रञ्जु दिदीलाई आज उसका आमा बुबाले सम्झाउँदै भन्ने गरेका छन्– छोरी, छोरीको जातै यस्तै हो । पराइको माल हुनुपर्ने, विवाह गर्दैन भनेर के गर्छस्, साथका  साथीसङ्गीहरू वालबच्चा खेलाउन लागि सके । तेरो पढ्ने इच्छा थियो । हामीले जसोतसो लेखायौँ पढायौँ । हाम्रो त मन थिएन आफ्नो जन्मे पराइको दैलोमा छिराउने  । तर के गर्छेस् छोरी, समाजलाई यो कुरा पच्दैन । घरमै बुढीकन्या छोरी पालेकी छे भनेर भोलि समाजले कुरा काट्छ ।  नाइँ नभन् छोरी । हामी तिमीसँगै छौं ।  पल्लो गाउँका सचिवको छोरो भर्खर सुब्बाको जागिरमा पोस्टिङ भएको छ । हिजो तेरो हात माग्न आउनुभएको थियो । हामीले छोरीसँग सल्लाह गरेर खबर गरौंला भनेका छौं । खानदान राम्रै छ । केटोको सरकारी जागिर छ रे ? घरपरिवारलाई पनि सजिलै पाल्न सक्छ । हामीले पनि  तिमीलाई उसैको हात थमाई दिने योजना बनाएका छौं ।  कसो होला छोरी ?

हिजो साथीहरूलाई विवाह नगर भनेर सल्लाह दिने रञ्जु दिदी आज  आफै दोधारमा परेकी छे । अनि हिजो साथीसङ्गीहरूलाई नरोऊ भनेर सान्त्वना दिन खाज्ने रञ्जु दिदी आज आफै झङ्कार गर्दछे कि आफू अब बाँकी रहेन जसरी । आज उसै रञ्जु दिदीलाई उसैका ती साथीहरू सम्झाउँदै छन्– नरो रञ्जु, हाम्रो कर्म नै यस्तै हो, पराया घरमा जानै पर्ने  । तिमी त पढेलेखेकी छौ । तिमी जस्तै पढेलेखेको राम्रै केटो पाइहाल्छौ । अनि तिमी किन रुन्छौ भन त ? रुने त हामीले पो हो । अशिक्षित पर्यौं । श्रीमान पनि उस्तै । दिन भरी जुवातास खेलेर राति दारु घोक्ने, अनि घरमा आएर श्रीमतीलाई पिट्ने  । भन त ? तिमिलाई रुनु छ कि हामीलाई ? नरोउ रञ्जु आफूलाई सम्हाल सब ठीक हुन्छ । यस्तैयस्तै सल्लाह दिन्छन् रञ्जु दिदीका साथीहरू । रञ्जु दिदीलाई भने आफ्नो घर छोडेर पराया घर जान पटक्कै मन छैन ।

मन नभएर पो के गर्नु ? जसोतसो सम्हालिन खोज्छ । रञ्जु दिदीको लागि संसारको सबैभन्दा खुसी उसका आमाबुबा हुन् । अब उसले अन्तिम योजना बनाउँदै छे । हिजोका दिनमा आफूलाई जन्माउने, पालनपोषण गर्ने, शिक्षादीक्षा दिलाएर गाउँको सक्षम महिला बनाएर शिर ठाडो पार्न सहयोग गर्ने, उसका आमाबुबाको योजना र खुसीमा रञ्जु दिदीले कसरी नाइँनास्ती गर्न सक्थी होला र ? उसले पनि हजुरहरूको खुसी नै मेरो खुसी हो भनेर उहाँहरूको प्रस्ताव स्वीकार गर्न पुगिन् ।

उसको स्विकारसँगै रञ्जु दिदीको विवाह हुने समय तय गरियो । रञ्जु दिदीको विवाहको सन्देश गाउँघरमा एक कान दुई कान हुँदै ओल्लो–पल्लो गाउँसम्म समेत पुुग्यो । चन्द्रमुखी मुहार भएकी रञ्जु दिदीको लागि तड्पिने ती केटाहरूसम्म समेत पुग्यो उसको विवाहको खबर । प्रेम दिवसको मौका छोप्ने गरी लेखिएका लामा–लामा हस्तलिखित प्रेमपत्रहरू च्यात्दै आफूले समयमै प्रेम प्रस्ताव राख्न नसकेको  धिक्कार्दै लठ्ठी रहेका देखिन्छन भने कोही जवान युवाहरू चाहिँ आफ्ना हातमा ब्लेडले खोप्दै पीडाको आराम लिइरहेका देखिन्छन् ।

रञ्जु दिदीको विवाहको दिनहरू पनि नजिकिदै छ । आजभोलि गाउँमा सबैले रञ्जुदिदीलाई बेहुलीको उपमा दिएका छन् । सबैले उसलाई गाउँघरमा बेहुली भनेर बोलाँछन् । हो साँच्चै बेहुली दिदी आजभोलि बेहुली जस्तै बनेकी छे । सरल स्वभाव, सबैसँग निहुरिएर कुरा गर्न थालेकी छे । हिजो गाउँघरमा तुरुकफुरुक गर्ने रञ्जु दिदी आज आफूलाई सभ्य कल्पिन्छे होली । दिन बित्दै, हप्ता बित्दै रञ्जु दिदीको विवाहको दिन पनि आयो ।

गत साल तल्लो घर पारु दिदीको  बिहेमा खुवै रमाइलो गरी कम्मर मर्काएकी रञ्जु दिदी आज  आफ्नै विवाहमा भने बिलौना गर्न ब्यस्त देखिन्छे । सायद आफ्ना पुराना साथीसङ्गीहरूबाट पोइली घरमा गर्नुपर्ने काम धन्दाको सापटी माग्दै थिई ? सबैको बीचमा देखिन्छे । वरिपरि उसका साथीसङ्गीहरूले घेरिएकी छे । रुदै कराउँदै एक–एक गरी अङ्कमाल गर्दैछे ।  सोच्छु सायद उसका साथी सङ्गीहरूले सल्लाह–सुझाव नदिएका हुन् कि ? त्यसैले पो झन चलायमान भएर डाढ मार्दै पो हो कि ? त्यहि माहोलको विचमा रञ्जु दिदीको विवाह पनि सम्पन भयो ।

आज म देखिरहेको छु । गत साल  तल्लो घर पारु दिदीको विवाह भयो ।  रञ्जु दिदी र पारु दिदी  सँगैको  हुन् । तर पारु दिदी आजभोलि रञ्जुदिदीभन्दा धेरै जेठी जस्तो देखिरहेकी छिन् । अनि सोच्छु–रञ्जुदिदी पनि आउँदो सालसम्म पारु दिदी जस्तै देखिलिन् । विवाह हुनु अगाडि शरीरबाट जवानीको सुगन्ध आउने रञ्जुदिदी भोलि उसको बच्चाले  छातीमा पिसाब गर्ला । आज जवानीको सुगन्ध आउने रञ्जु दिदीको शरीरबाट भोलि पिसाबको गन्ध आउला ।

आज उसको सुन्दरताले नजिकिने केटाहरू भोलि टाढैबाट बाटो काट्लान हो । हो, अझ साोच्छु त्यसैले त रञ्जु दिदीले विवाह कहिल्यै पनि विवाह गर्दैन भन्ने निर्णय गरेकी हुँदी होलिन् । सायद लाग्छ, बेहुली दिदीलाई आफ्नो सुन्दरताको घमण्ड कायम राख्ने सोच हुँदो होला । त्यसैले त बेहुली दिदीले विवाह गर्दिन भनेकी होलिन् ।

-सन्तोष रोकाया   
मष्ट्रा गा.पा २, बझाङ
हाल : धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्