Monday 16th of December 2019

नौबिसे–मुग्लिङ सडक चार लेन बन्दै

पृथ्वी राजमार्गको सवारी चाप व्यवस्थापन गर्न सरकारले नौबिसे–मुग्लिङ खण्ड चार लेनमा विस्तार गर्ने भएको छ। कतिपय ठाउँमा अहिलेको सडक यथावत् राखी त्रिशूली नदीपारि नयाँ बनाउने योजना छ।

सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले विश्व बैंकको आर्थिक सहयोगमा नौबिसे–मुग्लिङ खण्ड विस्तार गर्न लागेको जानकारी दिए।

यो आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि विश्व बैंककै सहयोगमा भएको हो।

‘विस्तृत डिजाइन तयार भइसकेको छ,’ वैदेशिक समन्वय महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भने, ‘विश्व बैंकसँग आर्थिक सहयोग निम्ति छलफल चलिरहेको छ।’

उनका अनुसार जारी सडक आयोजना समीक्षा र नयाँ टुंगो लगाउन विश्व बैंक प्रतिनिधिमण्डल नेपाल आएको छ। उक्त टोलीसँग बिहीबार करिब डेढ घन्टाको छलफलमा नौबिसे–मुग्लिङ खण्ड विस्तार लगायत नयाँ आयोजनाबारे कुराकानी भएको श्रेष्ठले जानकारी दिए।

मुग्लिङ–नारायणघाट स्तरोन्नतिसँगै विभागले नौबिसे–मुग्लिङ खण्ड विस्तार गर्न लागेको हो।

यो सडकलाई काठमाडौंको ‘लाइफलाइन’ मानिन्छ। यहाँ खपत हुने पेट्रोलियम पदार्थदेखि तरकारी, फलफूल लगायत अधिकांश उपभोग्य वस्तु यही बाटो हुँदै भित्रन्छन्। कुनै कारणले अवरुद्ध हुँदा काठमाडौंमा बजार अभाव हुन्छ। त्यस्तो बेला धेरैचोटि पेट्रोलियम पदार्थको हाहाकार भोग्नुपरेको छ। चार लेनको बनाएर सवारी चाप कम गर्न सके यात्रुको समय बचत र ढुवानी लागत घट्ने विभागका अधिकारी बताउँछन्।

विभागले नौबिसे–मुग्लिङ विस्तारमा दुइटा विकल्प अघि सारेको छ।

पहिलो विकल्पमा करिब सय किलोमिटर लामो यो खण्ड स्तरोन्नति गरी चार लेनको बनाइनेछ। स्तरोन्नति गर्नुपर्ने ठाउँमा सकभर भित्तो काटिने छैन। बरु नदी किनारमै ‘रिटेनिङ वाल’ उठाएर ढलान गरी सडक विस्तार गरिनेछ। पहिरो जोखिम भएका र विस्तार गर्न नमिल्ने ठाउँमा अहिलेकै सडक यथावत् राखेर त्रिशूलीपारि नयाँ बनाइनेछ। नयाँ बन्ने सडक चार लेनकै हुनेछ।

श्रेष्ठका अनुसार नयाँ सडक बनाउनुपर्ने ठाउँ पहिचान भइसकेका छन्। यो करिब २५ किलोमिटर हुनेछ।

खासगरी धादिङको विशालटारदेखि फिस्लिङसम्म १५ किलोमिटर हिस्सा त्रिशूलीपारि बनाउने योजना छ। कृष्णभीर लगायत अन्य जोखिमपूर्ण भीर छल्न पनि नयाँ बनाउनुपर्ने अध्ययनमा देखिएको छ। यो थप १० किलोमिटर हुनेछ।

काठमाडौंबाट पोखरा जोड्ने दुई सय किलोमिटर लामो पृथ्वी राजमार्गका धेरै ठाउँमा बाक्ला बस्ती छन्। बैरेनी, गजुरी, मलेखु लगायत ठाउँमा चार लेनको राजमार्ग बनाउँदा बस्ती सुरक्षालाई ध्यान दिइने श्रेष्ठले बताए।

‘बाक्लो बस्ती भएका ठाउँमा चार लेनको राजमार्ग बनाउँदा स्थानीयलाई सडक वारपार गर्न कठिनाइ हुनेछ। अहिलेकै अवस्थामा राख्दा जोखिमपूर्ण हुनसक्छ,’ उनले भने, ‘जथाभाबी बाटो काट्दा दुर्घटना हुने र आवागमन अवरुद्ध हुने समस्या आउनसक्छ।’

यही समस्या हेरेर बाक्लो बस्ती भएका ठाउँमा आकाशेपुलहरू बनाउने योजना छ। बस्तीलाई चाहिने संख्यामा आकाशेपुल बनाएर अन्यत्रबाट सडक वारपार गर्न निषेध गरिने उनले बताए।

चार लेन विस्तार र करिब २५ किलोमिटर नयाँ बनाउन ३० करोड अमेरिकी डलर लाग्ने अनुमान छ। विभागले यही सहायता निम्ति विश्व बैंकसँग छलफल अघि बढाएको हो। यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा पूरा हुने विभागले जनाएको छ।

विभागको दोस्रो विकल्प नौबिसेदेखि मुग्लिङसम्मको पूरै हिस्सा त्रिशूलीपारि बनाउने हो। यसको पनि सम्भाव्यता अध्ययन भइसकेको छ। लागत निकाल्न बाँकी छ।

‘हामीले दुवै विकल्पमा विश्व बैंकसँग कुराकानी गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘चरणबद्ध कार्यान्वयन गर्न सकिन्छ।’

पहिलो चरणमा अहिलेको सडक चार लेन बनाएर नदीपारि २५ किलोमिटर नयाँ बनाउने र त्यसपछि विस्तार गरी नौबिसे–मुग्लिङ जोड्ने योजना छ। यसो गर्दा अहिलेको सडकमा सवारी आवागमन अवरुद्ध हुँदैन।

निर्माणाधीन मुग्लिङ–नारायणघाट सडक पटक–पटक अवरुद्ध हुँदा यात्रुले कष्ट झेल्दै आएका छन्। वैकल्पिक बाटो नभएकाले आवागमन नरोकी धर नभएको अधिकारीहरू बताउँछन्। यहाँ पनि नदीपारि नयाँ बनाउने योजना थियो। कार्यान्वयन भएन।

दोस्रो विकल्पमा गए पृथ्वी राजमार्गमा दुईवटा फराकिला वैकल्पिक सडक तयार हुनेछन्। यसले आगामी धेरै वर्षसम्मको सवारी चाप धान्न सक्ने श्रेष्ठको भनाइ छ।

उनका अनुसार नौबिसे–मुग्लिङ खण्डको चार लेन सडक नागढुंगा हुँदै सिस्नेखोलासम्म बन्न लागेको सुरुङ मार्गसँग जोडिनेछ।

जापान सरकारको १७ अर्ब रुपैयाँ ऋण सहयोगमा काठमाडौंको सितापाइलाबाट सिस्नेखोलासम्म सुरुङ मार्ग बनाउने योजना छ। यो २.६ किलोमिटर लामो हुनेछ। सन् २०२२ सम्म पूरा गर्ने लक्ष्य छ।

अत्यधिक सवारी चाप हुने यो बाटो धेरै उकालो, घुमाउरो र साँघुरो छ। यहाँ सवारी गति प्रतिघन्टा १०–१५ किलोमिटरभन्दा बढी हुँदैन। सुरुङ मार्ग बनेपछि ४० किलोमिटर प्रतिघन्टा हाराहारी पुग्ने श्रेष्ठले बताए। त्यहाँबाट सोझै चार लेनको नौबिसे–मुग्लिङ सडकसँग जोडिनेछ।

‘सवारी अझ व्यवस्थित गर्न काठमाडौंबाट बाहिर जाँदा अहिलेकै बाटो प्रयोग गर्ने र आउँदा धार्केबाट सोझै सुरुङ मार्ग छिर्ने उपाय अपनाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘यसका लागि काठमाडौं–नौबिसे खण्ड पनि चार लेनको बनाइँदैछ।’

पृथ्वी राजमार्ग निर्माण चिनियाँ सहयोगमा सन् १९६४ मा सुरु भएको हो। सन् १९७७ मा पूरा भएको थियो।

बनेपा–बर्दिबास सडक खुल्नुअघि काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने एक मात्र बाटो यही थियो। अहिले पनि सर्वाधिक चल्तीको सडक हो।

नौबिसे–मुग्लिङ खण्ड भारतीय नाकालाई चीनको केरुङसँग जोड्ने सबभन्दा छोटो बाटोको मुख्य हिस्सामा पर्छ। भारतको सिमानादेखि चिनियाँ नाकासम्म चार लेन सडक विस्तार गर्ने उद्देश्यअनुरुप यो आयोजना अघि बढेको हो। चीनले केरुङसम्म रेलमार्ग बनाउन लागेकाले यसको उपयोगिता अझ बढी छ। रेलमार्ग नेपालसम्म विस्तार गर्ने योजना पनि छ।

यसअन्तर्गत मुग्लिङ–नारायणघाट सडक केही वर्षदेखि निर्माणाधीन छ। मुग्लिङबाट नौबिसे पनि चार लेन सडकले जोडिएपछि यो गल्छी हुँदै सोझै त्रिशूली निस्कन्छ। त्यहाँबाट अर्को चरणमा रसुवागढीसम्मको बाटो फराकिलो पार्ने योजना छ।

नेपाललाई लामो समयदेखि भारत र चीनको पारवाहन मार्गका रूपमा अघि बढाउनेबारे छलफल चलिरहेको छ। भारत र चीनबीच वार्षिक करिब ८० अर्ब अमेरिकी डलर बराबर व्यापार हुन्छ।

विश्वको आर्थिक शक्ति बन्ने प्रतिस्पर्धामा रहेका यी दुई छिमेकी मुलुकबीच स्थलमार्गबाट व्यापार गर्ने बाटो कम छन्। भएका स्थलमार्ग पनि विवादित छन्। झैझगडा भइरहन्छन्। केहीअघि दुवै देशले सीमा क्षेत्रमा सैनिक तैनाथ गरेका थिए। त्यसमाथि उच्च हिमाली क्षेत्रमा पर्ने ती बाटो आधा समय हिउँले ढाकिएको हुन्छ। आवागमन हुँदैन।

नेपालको स्थलमार्ग दुई ठूला अर्थतन्त्रको आर्थिक सेतु बन्न सक्ने र नेपाललाई फाइदा हुनेमा व्यापार विज्ञहरूले जोड दिँदै आएका छन्।

नौबिसे–मुग्लिङ र उता मुग्लिङ–नारायणघाट खण्ड फराकिलो भएपछि भारत र चीन जोड्ने स्थलमार्गको ठूलो हिस्सा चार लेनको हुनेछ।

प्रतिक्रिया दिनुहोस्