Tuesday 17th of September 2019

फोरमसँग कुरा मिलेन, तर नेताहरु आशावादी

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने विषयमा आज भएको वार्ता निश्कर्षविहिन बनेको छ ।

सिंहदरवारमा बुधबार साँझ भएको वार्तामा सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र र फोरम नेपालबीच सहमति हुन सकेन ।

आजको बैठक निर्णायक हुने बताइए पनि नेताहरुले समय अपुग भएको कारण भोलि फेरि बैठक बसेर सहमतिको प्रयासलाई जारी राख्ने बताएका छन् ।

बैठक बारे जानकारी दिँदै एमाले नेता प्रदीप ज्ञवालीले आजको बैठकमा संविधान संशोधन र सरकारमा सहभागिताको मोडालिटीबारे छलफल भएको बताए ।

‘संविधान संसोधनको कन्टेन्टमा भन्दा पनि संशोधन र सरकारमा सहभागिताको मोडालिटीबारे छलफल भएको छ । एमालेले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन हुन सक्ने बताउँदै आएको छ । त्यसैको सेरोफेरोमा छलफल र सहमतिको प्रयास भएको छ,’ उनले भने, ‘वार्ता भंग भएको छैन । सकारात्मक दिशामा अघि बढेको छ । आज अलि समय पुगेन । भोलि बिदा पनि छ । भोलि बैठक बसेर यसलाई टुंग्याउँछौँ ।’

यता, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि वार्ता सकारात्मक दिशामा अघि बढेको जानकारी दिँदै छलफल जारी राख्ने बताए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि छलफल सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिए ।