Saturday 21st of September 2019

ससुरा बा ! (कथा)

मान्छेका जीवनमा दुईवटा बा हुँदा रैछन । एउटा जन्मदिने आफ्नै बा अनि अर्का चाहिँ ससुरा बा । जीवनमा काइला बा, राइला बा, माइला बा अनि स्यानाबा र जेठाबा भन्दा आफ्नै बा र ससुरा बाको महत्व अत्यधिक हुने रहेछ । यो कुरा हरेक विवाहित युवाहरूलाई थाहा छ । घरमा बा अनि ससुरालमा ससुरा बा । महत्व यिनैको हुन्छ ।

बिहे पछाडि मात्र भेटिएका हुन् मेरा ससुरा बा । स्कुल पढ्दा मन पर्ने हरेक केटीका बालाई ससुरा बा बनाउने हुटहुटी चल्थ्यो तर कहिले सफल भएन ।

हल्दार माइलाको छोरी सिन्धुलाई प्रपोज गरेपछि  हल्दार माइलालाई आफ्नै बा जस्तो सम्मान गर्न थालेको थिएँ तर अभागी म ! हल्दार माइला मेरा ससुरा बा बन्न सकेनन् । उनी मेरो ससुरा बा बन्न अति उत्तम थिए । स्कुल पढ्दाको कुरकुरे बैंसमा उनलाई नै मेरो जीवनको ससुरा बा ठानेको थिएँ तर सफल भएन । सिन्धुले एउटा तोरीलाउरे टिपेर टाप कसेपछि मेरो सपना सेलायो ।

कलेजमा पढ्ने भएसी रोल्पाबाट घोराही पढ्न झरेकी विनितालाई अति मन पराउँथे । मैले मात्र होइन, विनिता आफै पनि मलाई आफ्नो जीवनको राजकुमार ठानेकी थिई । हामी एक अर्काको प्र्रेममा फसेका थियौँ । मैले मेरो घरमा उसलाई बुहारी भनेर चिनाएको थिएँ ।

एक दिन एक्कासि विनिताका बा भेटिए । त्यो खिस्सा पनि काइदाको छ, सुन्नुस् ।

तरकारी पसलमा सागका मुठा उचालेर पसलेसँग भाउमा बार्र्गेिनङ गर्दै गरेकी विनितालाई हल्का जिस्काउन खोजेँ, उसले कर्के नजरले बालाई देखाउँदै भनी “उ मेरा बा !”

मैले आफ्नै ससुरा बा जस्तै मानेँ, सतर्क अवस्थामा उभिएर नमस्ते टक्र्याएँ । उनी खिस्स हाँसे, हासोभित्र हाम्रा नाता झल्किए । तर ससुरा बा भनेर सम्बोधन गर्न सकेन । म पनि खिस्स हाँसेँ, विनिता आफैले परिचय गराई “उ मेरो क्लास फ्रेन दीपक हो !”

उसका बा फेरि हाँसे, म लजाएँ ।

अभागी मैले विनिताका बालाई पनि ससुरा बा बनाउन सकिनँ । कलेज बिदामा रोल्पा कुदेकी विनिता दुई वर्षपछि कलेजमा भेटिएकी थिई । निधारमा अलि लामै सिन्दूरको लर्को थियो, अनि पेटमा उसको सन्तान हुर्कंदै थियो । उसका जुँगे बालाई अरू कसैले ससुरा बा बनाएछ । तर मैले त्यो बेलासम्म ससुरा बा भेटाएको थिएन अर्थात म कुवाँरा थिएँ तर ऊ चैँ आमा बन्दै थिई ।

ऊ मलाई देखेर पनि नदेखे जस्तो गरेर लजाई अनि मेरो दिमागबाट विनिता हराई ।

उसको धोकाले मनमा नराम्रोसँग डेरा जमायको थियो । म उसलाई भुल्ने बहाना खोज्दै थिएँ । यसैबीच अझ धेरै पढ्ने भनेर कुदँे काठमाडाँै । बसाई भयो कीर्तिपुर । कीर्तिपुरको पाँगा भन्ने निक्कै चर्चित थियो हामी जस्ता गरिब विद्यार्थीहरूका लागि । सस्तामा कोठा पाइन्थे ऊ बेला तर अहिले थाहा छैन ।

सुँगुरका खोर जस्ता सानासाना कोठा भएको घरमा डेरा थियो । घरबेटी माथि बस्थे, बीचको फ्ल्याटमा चारवटा कोठा । प्रत्येक कोठामा अलग अलग जिल्लाका विद्यार्थी बस्थ्यौँ । मेरो अघिल्तिरको कोठामा थिई सरु धिताल फ्रम सिन्धुली ।

उसले यस्तै गरेर परिचय दिएकी थिई । मैले  ‘म दीपक, घर चैँ दाङ’ मात्र भने उसले “सरु धिताल फ्रम सिन्धुली !” भनी ।

कोठामा इन्ट्री मारेकै दिन हाम्रा आँखा जुधेका थिए । त्यहीबेलादेखि ऊ मेरो मनमा बसेकी थिई । एकै नजरमा हाम्रो माया बसेको थियो ।

 

मलाई धोका दिँदै पुटुल्ल उक्सेको भुँडी देखाएर लोप्पा ख्वाएकी थिई विनिताले दाङमा । म डराएको पनि थिएँ, अब प्रेम विवाह गर्न सक्दैन या मैले खोज्या जस्ता गजक्क परेका ससुरा बा हुनेछैनन् मेरा भनेर । तर सरुलाई देख्न थालेपछि फेरि मनमा खुशीका किरणहरू पलाउन थाले ।

बीएन  नर्सिङका लागि ब्रिज कोर्ष गर्न बसेकी सरु र डिग्री गर्न काठमाडौँ छिरेको म बीच मायाका टुसा पलाउन थाले । ऊ हाँस्थी, मैले हसाउँथे । म ठुस्किन्थे, ऊ फकाउँथी ।

दिन चल्दै थिए । न कसैको डर, न कसैको छेकवार ।

एक दिन सिन्धुलीबाट उसका बा आए । टाउकोमा फिटिङवाला ढाका टोपी लगाउने, चट्ट परेका हेन्सी ससुरा बा । हेर्दै भर्खरका देखिने सरुका बालाई अङ्कल भनेर बोलाउँदा पनि अप्ठ्यारो लाग्ने । साथी जस्तालाई कसरी ससुरा बा भन्ने होला ?

सरुका बा बस्दासम्म हाम्रो पिरतिमा हल्का डिस्टब भयो । न डेटिङ न त मायापिरतिका गफ । भेटिँदा नमस्ते टक्रायो अनि आफ्नै कोठामा मस्त । आजभोलिको जस्तो सामाजिक सञ्जाल र फोनहरू हुन्थ्यो भने सुटुक्क गफिन हुन्थ्यो, त्यो बेला त उहीँ डेटिङमै हो मस्किने, जिस्किने अनि मायापिरती साटने । अहिलेको जस्तो फोन बाटै लभ, फोनबाटै ब्रेकअप हुने जमाना कहाँ थियो र ?

एकदिन हुनेवाला ससुरा बा गए सिन्धुली , बा गएकै दिन सरुले भनी “ आउदो महिना इन्ट्रान्स ईक्जाम छ , देन आई विल ब्याक टु सिन्धुली । ”

उसले हास्दै भनी, मेरो मनले नमिठो महसुस गर्यो । सरुका बालाई ससुरा बा बनाउने सपना देख्दा देख्दै एक दिन सरु फ्याट्ट उठेर सिन्धुली गई । जाँदा निक्कै वाचा कसम पनि खाई छिट्टै आउँछु भनेर तर ऊ आइन । अहिलेसम्म उसलाई भेटाइनँ । सरु सिन्धुली बाटै बेपत्ता भई, उसका बालाई ससुरा बा ठान्ने मेरा सपना दुई तीन महिनासम्म आँखामा बाँचे तर समय सँगै कता हराए कता । अन्ततः सरुले पनि मलाई धोका दिई ।

आफूले मन पराएको मान्छेको साख्खै बालाई ससुरा बा ठान्ने म मात्र हैन सायद । स्कुल पढ्दादेखिको एउटा साथी छ खिमे । ऊ गाउँमै हँुदा सरितालाई अति मन पराउँथ्यो । एक दिन सरिताका बा बजारमा देखिए । मैले खिमेको कानमा सुटुक्क भने “उ देखिस तोत्ले आउँदैछ !”

ऊ अर्कोतिर बटारियो, सरिताका बा हामीभन्दा अलि पर पुगेपछि मेरो कान निमोठ्दै भन्यो “साले बुवा भन, इज्जत गर्न सिक । ससुराबा हुन् मेरा, अबदेखि तोत्ले नभनेस् ।”

अगाडिका दुई चारवटा दाँत नभएर हो कि जन्मजात उस्तै हुन सरिताका बा तोत्ला सेठ थिए । गाउँभर उन्लाई सुटुक्क तोत्ले भन्थे । बोली स्पष्ट नबुझिने अनि कुरा गर्दा मुखबाट थुकका छिटा निकाल्ने हुनाले उनलाई तोत्ले भन्थ्यौँ तर उनका अगाडि कस्ले भनोस् तोत्ले । ‘काजी साँप !’ भन्यो अनि साइड लाग्यो ।

खिमेको जीवनमा तोत्ला सेठ ससुरा बा बनेरै आएका रहेछन् । कहिले काहीँ म तोत्ला सेठसँग भेट हुँदा आज भोलि झुकेर बा भन्दै नमस्कार टक्र्याउँछु ।

खिमे जस्तै ससुरा बाको इज्जत गर्ने अर्को थियो चड्डी । नाम सन्तोष भए पनि हामी उसलाई चड्डी भन्थिम् । ऊ पनि रिमाको बालाई कसैले नराम्रो भनेको सहनै नसक्ने । ससुराबाको इज्जत गर्ने खालको ज्वाइँ थियो ऊ । तर जीवनभरको ससुरा बा बनाउन सकेन रिमाको बालाई । आजभोलि अलि पूर्वैबाट ससुरा बा बनाएर बसेको छ । रिमाले अर्कैलाई लोग्ने बनाएर बसेकी छे ।

अरुका कुरा छाडौँ, मेरै ससुरा बाहरूका कुरा गरौँ ।

अनि सरु हराएपछि मेरो कलेज जिन्दगी पनि लगभग सकिनै थालेको थियो । म डिग्रीको थेसिस सकेर डेरा दाङमै सारेँ । अब बाआमाले खोजेका ससुरा बालाई चट्ट नमस्कार गर्ने अनि मज्जाले खुट्टामा ढोगाउने रहर मनभरी थियो ।

उमेरले तीन दशकमा पाइला टेक्न थाल्दा पनि बाआमाले ससुरा बा खोज्देनन् । म आफैले एउटी बत्तीस लक्षणले युक्त बुहारी खोजौँ भन्न पनि नसक्ने, आफ्ना लागि आफै ससुरा बा खोज्दै पनि हिँड्न नसक्ने ।

एक दिन फुपुले कुरा ल्याइन् “तिवारीको छोरी गजप छे, दीपकलाई त्यही केटी सुहाउँछे, नाई नास्ती नगरोस् । उसको घरमा म कुरा चलाउँछु ।”

अब तिवारी बालाई ससुरा बा बनाउने सपना देख्न थाले । एक दिन फुपूकै पछि लागेर केटी हेर्न गइयो । सबै ठीकै लाग्यो, तिवारी बा निक्कै बूढा ।  मलाई मेरा ससुरा बा मजस्तै मिजासिला चाहन्थे तर उनी त पूजापाठ अनि धर्मकर्ममा लिप्त वाला ।

छोरी मन पर्यो तर ससुरा बा मनपरेन, रिज्याक्ट भन्ने हिम्मत थिएन । सु गर्ने बहानामा केटो टाप कस्यो । केटी देखाउन लैजाने मामा पछि एक्लै आए रिसाउँदै ।

अर्कीको कुरा आयो । केटी अत्यन्त सुन्दर । केटीमा खोट लगाउने ठाउँ छैन तर ससुरा बा भित्तामा झुण्डिएका । स्वर्गीय चिन्ताप्रसादको छोरी सुश्री लेखेर कार्ड बनाउनुपर्ने अवस्था । सिधै रिजेक्ट गरियो, किनभने मलाई ससुरा बा पनि बनाउनुथियो । ससुरा बा भित्तामा झुण्डेको अवस्थामा उनकी छोरीलाई मैले बिहे गर्न मानिन अनि भएन बिहे ।

यस्तै कुरा आउँदा आउँदै एउटा कुरा आयो । ससुरा बा पनि ठ्याक्कै ससुरा बा जस्ता । श्रीमतीजी पनि ठ्याक्कै श्रीमती जस्तै  । भन्छन् नि ! जोडी स्वर्गबाटै बनेर आएको हुन्छ भनेर, साच्चै बनेरै आएको रैछ क्यारे । मैले ससुरा बालाई हेरेरै कुरा ओके गर्दिएँ । उनकी छोरीमा खोट लगाउने ठाउँ थिएन ।

ससुरा बाकै कुराबाट यति लामो कथा जन्मियो । पढदा झ्याउ लागे होला, वाहियात लागे होला । साच्चै म यस्तै छु । जसलाइ मन पराउँथेँ, उसको बालाई ससुराबा ठानिहाल्थे । मनमा एउटा घर बनाइहाल्थेँ अनि सपनामै संसार सजाइहाल्थेँ । तर निधारमा लेखेको मात्र हुन्छ भन्या साच्चै रहेछ ।

जीवनमा दर्जनौँ केटी मन पराइयो, कसैलाई प्रेममा फसाइयो त कसैलाई मनका कुरा नखोल्दै गुमाइयो । हरेकका बालाई ससुरा बा ठानियो तर अन्त्यमा जहाँ लेखेको थियो त्यही ससुराली बनाइयो अनि ससुरा बा पनि भाग्यले जुराकैलाई बनाइयो ।

प्रतिक्रिया दिनुहोस्