Monday 27th of January 2020

लेखापरीक्षण गर्न आलटाल गर्ने ६ निकायमाथि कारबाही गर्न महालेखाको पत्र, लेखापरीक्षण गर्न अटेर गर्ने कार्वाहीमा !

काठमाडौं  । महालेखापरीक्षकको कार्यालयले पटक–पटक लेखापरीक्षण गर्न ताकेता गर्दा पनि अटेर गर्दै आएका नेपाल खाद्य संस्थान, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, खानेपानी संस्थान र त्रिभुवन विश्वविद्यालयलाई कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको छ ।
महालेखाले नागरिक लगानी कोष, बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमाथि छानबिन र कारबाही गरी त्यसको विवरण छिटोभन्दा छिटो महालेखापरीक्षकको कार्यालयमा पठाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । खाद्य संस्थानलाई कारबाहीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पत्राचार गरेको छ । यसैगरी, त्रिभुवन विश्वविद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई र खानेपानी संस्थानलाई कारबाही गर्न खानेपानी तथा सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।
महालेखापरीक्षक टंकमणि शर्माले ती निकायलाई समयमै लेखापरीक्षण गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरेकाले कारबाहीका लागि पत्र लेखिएको जानकारी दिए । वर्षौंदेखि लेखापरीक्षण नगर्ने र आलटाल गर्ने ती निकायको आर्थिक कारोबारबारे आफूहरू गम्भीर बनेको महालेखापरीक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्