Monday 27th of January 2020

अफगानिस्तानमा दश सुरक्षा अधिकारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको खाब्जाघर जिल्लामा तालिबान आतंककारी समूहले गरेको एम्बुस आक्रमणमा परी कम्तीमा दश जना सुरक्षा अधिकारी माएिका छन् ।
यस आक्रमणमा परी अरु नौ जना सैनिक घाइते भएका समाचारमा जनाइएको छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल खिलिल आसिरले सो जानकारी दिएका हुन्।

गस्तीमा रहेको अफगान सेना र प्रहरीको संयुक्त सुरक्षा फौजमाथि तालिबानहरुले सो आक्रमण गरेका थिए । उनीहरुले सडकमा एम्बुस थापेर सो आक्रमण गरेका बताइएको छ ।

खाब्जाघर जिल्लाको पुल ए मोमिन क्षेत्रमा शुक्रबार अति व्यस्त बजारमा तालिबान आतंककारी समूहले गरेको एम्बुस आक्रमणमा दश सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएका आसिरले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए।

यस आक्रमणबाट तालिबान आतंककारी समूहतर्फ पनि केही लडाकू हताहत भएको तर यसको विस्तृत विवरण प्राप्त नभएको बताइएको छ ।

कुन्दुज र बादख्शान प्रान्तको छिमेकमा पर्ने तखार प्रान्तमा तालिबान आतंककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ ।

त्यस क्षेत्रमा यसअघि पनि लडाकूहरुले आक्रमण गर्ने गरेका थिए । उनीहरुको बाक्लो उपस्थितिका कारण सुरक्षाकर्मीहरुले पनि पछिल्लो समयमा उनीहरुको निगरानी गर्ने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्