Friday 3rd of April 2020

​रहस्यमय बन्दै भैरहवा गोली काण्ड, पिडीत र पिडक पक्षले कुनै बयान दिएनन् !

भैरहवा  । भैरहवाका ब्यबसायी हरिस सेठियालाई लक्षित गर्दै गत सोमवार साँझ भएको गोली प्रहारको घटना रहस्यमय बन्दै गएको छ । घटनाका बिषयमा पिडीत र पिडक पक्षले कुनै बयान नदिँदा प्रमाण जुटाई घटनाको रहस्य उद्घाटन गर्नतर्फ प्रहरी जुटेको छ ।
स्थानीय बैंक रोडमा मोवाइल पसल गर्दै आएका सेठयालाई लक्षित गरी गोली प्रहार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । गोली प्रहार गरेलगत्तै पेस्तोलसहीत भारत महारजगंन्जका ४६ बर्षीय रामजान मुसलवान पक्राउ परेका थिए । बुधवार मोटरसाइकल चालक सोही स्थानकै मन्जुर आलम पक्राउ परेका थिए । 
गोली प्रहार गर्ने र मोटरसाइकल चलाउने दुई भारतीय नागरिकसहित घटनालगत्तै उक्त स्थानमा देखिएका सिद्धार्थनगरका अर्का आलु ब्यबसायी मोहन बानियाँ पनि पक्राउ परेका छन् । सेठियामाथि यसअघि सिवरात्रीको दिनमा समेत गोली प्रहार भएको खुलेको छ । जुनबेला बानियाले मोटरसाइकल चलाएका थिए भने उनको पछाडी सेठिया थिए । दुवै घटनामा उनी अघिपछि देखिएपछि अनुसन्धानमा तानिएका हुन् । तत्कालीन अवस्थामा आफूलाई लक्षित गरी भएको गोली प्रहारको घटना सेठियाले लुकाएको प्रहरीले जनाएको छ । सोही बिषयलाई लिएर प्रहरी सेठियालाई पटक–पटक सोधपुछ गरेको छ ।  बानियालाई दुवै घटनामासँगै रहेको आधारमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको हो । तर यो घटनाबारे पीडित सेठिया र पक्राउ परेका अरु तिनै जनाले प्रहरीलाई घटनाका बारेमा खुलस्त बयान दिएका छैनन् ।
जसका कारण घटना थप रहस्यमय बन्दै गएको छ । जुनसुकै प्रश्नको उत्तर पनि थाहा छैन् बाहेक अरु केही बोलेका छैन्, रुपन्देही प्रहरी प्रवक्ता एवं डिएसपी डिल्लीनारायणा पाण्डेले भने– ‘दुवै पक्षबाट बयान खुलस्त भएको भए अहिलेसम्म घटनाको रहस्य खुलिसक्थ्यो । पीडित र पीडक पक्षको भूमिका सहयोगी नदेखिएपछि घटनालाई गम्भीर रुपमा लिँदै हामी रहस्य उजागर गर्न सुक्ष्मरुपमा लागेका छौ ।’ पीडित र पिडक पक्ष दुवैको बयानबाट रहस्य तत्कालाई बाहिर नआएपछि प्रहरीले उनीहरुका थप गतिविधिलाई नियाल्दै अनुसन्धान अगाडि बढाइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्