Wednesday 16th of October 2019

बुबाको कान्छी श्रीमतीलाई बुबाको शेषपछि छोराले श्रीमती राख्ने परम्परा

प्राज्ञ डा. जगमान गुरुङज्युले इमेज च्यानलबाट प्रसारित ”हट सिट ”  को अन्तर्वार्तामा, “किरातीहरुको कान्छी आमा स्याहार्ने प्रथा भएको ,जुन १९१० सालमा जङ्गबहादुरको पालामा जारी भएको मुलुकी ऐन, जसको १९२२ मा छापिएको प्रतिको __”बिहाबारीको महलमा _किरातहरुलाई सानीआमा स्याहार्ने हक भनेर दिएको” कुरा भनेका छन् |

 

एउटा प्रसङ्गमा किरातीहरुले अघि भाउजु मात्र होइन कान्छीआमा पनि स्याहार्ने प्रचलन थियो, जो ऐनमा समेत उल्लेख भएको कुरो उनले उठाएका रहेछन् | भाउजु स्याहार्ने चलनको छिटफुट प्रमाण त अझपनि राइ,लिम्बु जातीमा यथावत देख्न सकिन्छ पनि |

 

तर कान्छीआमा अर्थात् बाबुले बिहे गरेको कान्छी श्रीमती बाबुको मृत्यु पछि सौताका छोराहरुले स्याहार्ने कुरा कति सत्य हो ? यसको प्रमाणचाहीं पाइएको छैन। तर केही लिम्बु साहित्यकार, इतिहासकारहरुले भने यो तथ्यलाइ आङ्शिक रुपमा स्वीकार्दा रहेछन् | तर मलाइभने यसमा विश्वास लागेन |

 

डा.जगमान गुरुङका अनुसार १९९६ मा रङ्गनाथ पौड्याल मुख्तियार भएको समय उनले २ रुक्का जारी गरी, “किरात राई,लिम्बुले अबदेखि कान्छीआमा नस्याहार्नु” भन्ने आदेश दिएका रहेछन्। यस्को अर्थ त्यो समयसम्म राइ,लिम्बुहरुले कान्छीआमा स्याहार्थे |

 

तर यस्मा अर्को प्रसङ्ग जोडिन्छ। यो आदेश किराती राइहरुले चाहीं स्वीकारे, तर लिम्बुहरुले चाहीं, यो हाम्रो कुलधर्म हो, यसैले हामीले विगतमा भाउजु व्यहोर्नपाए जस्तै कान्छीआमा पनि स्याहार्न पाउँ भनेर बिन्तिपत्र हालेछन् | डा.जगमान गुरुङको यही भनाइलाई आधार मानेर केही साम्प्रदायिक सोच भएकाले राइहरुले चाहीं कान्छीआमा स्याहार्दैनन्, लिम्बुले मात्र स्याहार्ने हो भन्ने किसिमले सामाजिक सञ्जालमा स्यालहुइयाँ चलाउँदा केही अन्योल उत्पन्न भयो | तर ,त्यसपछि लिम्बुहरुले कान्छीआमा स्याहार्ने भए त त्यसको अवशेष भाउजु स्याहारेको झैँ कतै-न-कतै हुनुपर्ने … ? तर त्यो भेटिन्न | यसर्थ, केही पातकी लिम्बुहरुले त्यसो गरेहोला त भन्न सकिन्छ, तर लिम्बु जातिमा नै यो संस्कार थियो भन्ने आधार चाहीं छैन ,पाईंदैन |

 

अब अर्को रोचक कुरा __

आखिर जगमान गुरुङले के को आधारमा किरातीहरुमा कान्छीआमा स्याहार्ने चलन थियो भने ..?  यस बिषयतिर जाउँ | खासमा यो किराती राई, लिम्बुले कान्छीआमा स्याहार्थे भन्ने कुरा गुरुङले यो अन्तर्वार्तामा पहिलोपटक भनेका होइनन। उनले यो कुरा त २०६७ सालमा नै __”तमुवानको इतिहासिक वृतान्त” पुस्तकको पेज ८१ मा लेखिसकेका थिए। धन्न हाम्रा साम्प्रदायिक सोच भएका साथीहरुले त्यो चाहीं पढ्न भुलेछन !

 

किरात धर्म-सभ्यतामा कान्छीआमा स्याहार्ने सनातन कुलधर्म थियो भन्ने निस्कर्ष गुरुङले कसरी निकाले ??  बुझ्नु पर्ने मूल कुरो चाहीं यहाँ छ | अब यो प्रसङ्गमा छोटो चर्चा गरौं |

 

खासमा गुरुङले यो निस्कर्ष किरात सभ्यता र धर्मबाट प्रभावित भएर ल्याएको कुरा प्रसङ्गमा उठाएका छन् | तर बिडम्बना, उनले यो प्रसङ्ग गुरुङ समुदायमा प्रचलित मिथकको आधारमा ल्याएका हुन् |

 

गुरुङ जातिमा एउटा प्रचलित मिथक छ | उनीहरुको झाँक्री, पूजारी अर्थात् पज्यु र ल्हेब्री पढ्ने भन्ने प्रसिध्द पे अर्थात् कथामा __”अगु कर्वा” नाम गरेका भीरमौरी काढ्ने पात्रको प्रसङ्ग छ | जसको ९ भाइ छोरा र ७ बहिनी छोरी हुन्छन् | उनले भर्खरकी कान्छी श्रीमती ल्याउँछन् | कान्छीआमाको रुप र यौवन देखेर छोराहरु लोभिन थाल्छन् | एक दिन मह काढ्न भीरमा जानुपर्ने हुन्छ | ९ भाई छोराहरुले बाबुलाई यही मौकामा मार्ने षड्यन्त्र गर्छन् | बाबुले मह काढ्न भीरमा चोया बाबियोको भर्याङ्गमा चढ्न छोराहरुलाइ भन्छन्। तर सबै छोराहरु एउटा-एउटा निहुँ निकालेर पन्छिन्छन् | अन्तमा बाबु आफैं चढ्छन् | षड्यन्त्रकारी छोराहरुले भर्याङ्ग काटिदिन्छन् | उनीहरु बाबु मर्यो भन्ने ठानेर घर फर्कन्छन् |

 

अब ९ भाईमा कसले कान्छीआमा स्याहार्ने भनेर छलफल हुँदा जस्ले कान्छीआमाको नाकमा लाउने नत्थामा बाण हानेर छिराउन सक्छ उसले नै व्यहोर्ने सर्त हुन्छ | उनीहरु पँधेरोमा गएर तारो हान्न थाल्छन् तर कसैले पनि छिराउन सक्दैनन् |

 

अर्कोतर्फ छोरीहरुले बाबु मर्यो भनि काग,चिल,गिद्दलाइ उनको मासु खान पठाउँछन्। तर उनी भीरमा जिउँदै अड्केर रहेको पाउँछन् | अनि गिद्दले उनलाई पिठ्युँमा राखेर उडाएर झार्छ र उद्दार गर्छ | उनी घरमा आएपछि कान्छी श्रीमतीबाट यो सबै कुरा बुझेपछि षडयन्त्र थाहा पाउँछन्। अनि श्रीमतीसँग आफ्नो बाण र धनु मागेर ….यदि तिम्रो र मेरो मायामा सत्यता छ भने तिम्रो नत्थमा मैले मात्र बाण छिराउन सक्छु भनेर धारामा जान्छन् | छोराहरु धमाधम बाणको तारो हानिरहेका हुन्छन। उनले गएर जब तारो हान्छन् एकै पटकमा नत्थमा छिर्यो | छोराहरुले गएर त्यो बाण कस्को हो भनेर हेरे त्यो उनीहरुको बाबुको थियो भन्ने थाहा पाए | त्यसपछि अगु कर्वाले छोराहरुलाई भुत हुने श्राप दिए |
.

खासमा गुरुङज्यूले गुरुङ समुदायमा प्रचलित अगु कर्वाको यो कथा/ मिथक किरात समुदायबाट प्रभावित/आएको भन्ने उनको तर्क छ | बाबु मरेपछि कान्छीआमा स्याहार्ने चलन गुरुङमा छैन। तर १९२२ सम्म किरातीहरुमा भएकोले यो कथा पनि किरातको हो। संस्कार पनि किरातको हो भन्ने उनको तर्क सुन्दा त उनलाई आफ्नै सभ्यता,मिथकमा नै विश्वास नभएको देखिन्छ | आफ्नै मिथकमा विश्वास नगर्ने उनले जवर्जस्ति गुरुङको मौलिक मिथकलाइ किरातको हो भन्ने उनको आग्रह गज्जबको छ |

 

कान्छीआमा स्याहार्ने किरात राई लिम्बुको संस्कारको प्रसङ्ग यसरी डा.जगमान गुरुङले किरात राई लिम्बुमा थोपरेका छन्। थाहा छैन, अरु गुरुङहरुले यो अगु कर्वा लाई गुरुङको मिथक/इतिहास भन्छन कि किरातको ?  तर जगमान गुरुङज्यु चाही किरात राइ लिम्बुको भनेर गुरुङको अपनत्वबाट पन्छिन खोज्छन ,खोजिरहेछन | अन्तत यसले गुरुङ पनि किरात समुदाय भित्र कै हुन् /रहेछन भन्नेचाहीं आधार दिन्छ |

 

उनले अन्तर्वार्तामा पश्चिम सात थपल्याको प्रसङ्ग ल्याएका छन्, जसलाई किरातीहरुलाई सानी आमा नस्याहर्नु भन्ने रुक्का सँगै उनीहरुलाई चाहीं भाञ्जी नस्याहर्नु भन्ने रुक्का दिएको कुरा भनेका छन् |  तर, १९१० को मुलुकी ऐनको पुछारमा दिएको रुक्काको नक्कलमा सात होइन पाँच थपौलाका जैसी बाहुनहरुलाई चाही भान्जी नस्याहार्नु भन्ने लेखिएको छ |

 

अर्को, गुरुङले भाउजु नस्याहर्नु भन्ने रुक्का १८८३ मा जारी गरिएको भनेका छन् | तर मुलुकी ऐन १९१० को मुलुकी ऐनको परिसिष्टमा भने १८९३ साल असाढ सुदी ७ रोज ४ शुभम् मा जारी गरिएको देखिन्छ |

-सन्त थलङ

प्रतिक्रिया दिनुहोस्