Tuesday 10th of December 2019

सेनाका ठेक्का कब्जा, रक्षामन्त्रीको बदनाम गर्दै ठेकेदार !

काठमाडौं । एमालेका महासचिव तथा रक्षामन्त्री इश्वर पोखरेलको नाम लिंदै केही बदनाम ब्यक्तिहरुले फाइदा लिने काम गरेका छन् । नेपाली सेनामा ठेक्कापट्टा गर्ने विजय श्रेष्ठ पछिल्ला दिनमा रक्षामन्त्रीसँग निकट सम्बन्ध भएको भन्दै फाइदा लिन तल्लीन छन् । नेपाली सेनामा धेरै वर्षअघिदेखि सेटिङ मिलाउँदै ठूला ठूला ठेक्का पाउँदै आएका विजय श्रेष्ठ अहिले रक्षामन्त्री ईश्वर पोखरेलसँग कुनै प्रसंगमा खिचेको फोटो प्रदर्शन गर्दै आफू नजिक रहेको देखाउने गर्दछन् । मन्त्री पोखरेलको नाममा उनी सेनाभित्र अझ धेरै ठेक्का हात पार्न लागिपरेका छन् ।

व्याग (झोला)को कुनै जानकारी र आइडिया नभएका विजय श्रेष्ठले सेटिङकै कारण सेनामा वेभ इक्युप्मेन्ट व्यागको ठेक्का हात पार्न सफल भएका छन् । सेनापतिको निवास शशी भवनका लागि चाहिने सम्पूर्ण सामानको सप्लाई गर्ने ठेक्कासमेत विजय श्रेष्ठले नै पाएका कारण प्रधानसेनापति र उनकी श्रीमतीसँग पनि सम्बन्ध कायम गरेका छ्न । जुन सम्बन्धका कारण सेनाभित्रका ठेक्काहरू उनैले पाउने गरेका छन् । जो प्रधानसेनापति भए पनि श्रेष्ठले शशी भवनको ठेक्का पाएकै कारण सैनिक मुख्यालयले गर्ने ठेक्का प्रक्रियाका अधिकांश काम उनैले पाउने गरेका हुन् ।

उनले वेभ इक्युप्मेन्टका अलावा फाष्ट ट्रयाकका लागि चाहिने आवश्यक सामान झण्डै २५ करोड बराबरको ठेक्कासमेत हात पार्न सफल भएका छन् । यसबाहेक कोटेशनमा मात्रै ठूलो काम श्रेष्ठले पाइरहेका छन् । सेनाभित्रको राम्रो सेटिङ भएकै कारण ठेकेदार श्रेष्ठले छोटो समयमा अथाह पैसा कमाएको सम्भाररथी विभागकै सैनिक अधिकृतहरू बताउँछन् ।
ठेक्का पाएर पनि श्रेष्ठले धेरै सामानहरू समयमा नै नबुझाएको समेत ती सैनिक अधिकृतले बताए । यिनै ठेकेदार श्रेष्ठ अहिले रक्षामन्त्री ईश्वर पोखरेलसँग नजिकको मात्रै होइन धेरै नजिकको सम्बन्ध रहेको भ्रम छरी सेनाभित्रका अरू ठेक्का हात पार्न उनले दबाब दिन थालेका छन् । अहिले सेनाले डिएमएस बुटको टेण्डर आह्वान गरेको छ ।

यसअघि टेण्डर आह्वान गरिए पनि रद्द गरी दोस्रो पटक टेण्डर आह्वान गरेको हो । सो डिएमएस बुटका लागि ठेकेदार श्रेष्ठले रक्षामन्त्री ईश्वर पोखरेलसँग आफ्नो राम्रो सम्बन्ध रहेको देखाएर सम्भाररथी विभागका उपरथी दीपक भारतीलाई दबाबमा पारिरहेका छन् । मन्त्री पोखरेल रक्षामा रहिन्जेलसम्म अब सेनाका धेरै ठेक्काहरू आफूले हात पार्ने रवाफसमेत ठेकेदार श्रेष्ठले देखाउँदै आएको सम्भाररथी विभागका एक कर्णेलले बताए । मन्त्री पोखरेलको धापासी हाइटको कुँवर कोलोनीमा आफ्नो आउजाउ बाक्लो हुने गरेको कुरा समेत उनले सेनाका हाकिमहरुसँग सुनाउँदै काम फत्ते गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्