Wednesday 22nd of January 2020

लाहुरे सेक्युरिटीका मालिकले मजदुरको दुई करोड ठगे, पाँच वर्षदेखि कर पनि तिरेनन्

काठमाडौं । विभिन्न संघ/संस्था वा अफिसहरुमा राखिने सेक्युरिटी कम्पनीहरुले लामो समयदेखि सेक्युरिटी मजदुरहरुको श्रम शोषण गरेको खबर एकपछि अर्को सार्वजनिक हुनेक्रममा वृद्धि भएको छ । सुरुमा विभिन्न लोभ देखाउँदै सेक्युरिटीमा भर्ना गराउने र माग भई आएका कम्पनी वा अफिसमा पठाएर उनीहरुबाट मोटो रकम असुली गर्दै मजदुरको भने शोषण गरेको सम्बन्धित पीडितहरुले बताएका छन् । पछिल्लो पटक प्राप्त जानकारीअनुसार लाहुरे सेक्युरिटी सर्भिस प्रालि नामको संस्थाले एक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी सेक्युरिटी मजदुरको तलवभत्ताबाट ठगी गरेको आरोप लागेको छ । सो संस्थाका सञ्चालकद्वय श्रीकृष्ण परियार र विशाल परियारले ३५१ जना पीडितहरुको जम्मा एक करोड ५५ लाख ४८ हजार तीन सय सात रुपैयाँ तलबभत्ता खाइदिएको भन्दै पीडित मजदुर संघर्ष समितिले सरकारसमक्ष उक्त रकम उठाइदिन माग गर्दै निवेदनसमेत पेस गरेका छन् । पीडितहरुले आफूहरुको परिश्रम हिनामिना गरिदिएको भन्दै तत्काल सरकारले दोषीमाथि कडा कारबाही गरेर आफूहरुको रकम उठाइदिनुपर्ने माग गरेको छ ।
उक्त रकम ड्युटी गरेबापतको तलब, सञ्चय कोष, उपदान, सञ्चित घरबिदा र दसैं बोनस सेवाबापतको रहेको समेत उल्लेख गरेका छन् । देशभरिका बैंक तथा वित्तीय संस्थामा आबद्ध राज्यको सम्पत्तिको संरक्षक भएर दिनमा २४ घण्टासम्म लगातार उभिएर र रातमा आँखा झिमिक्कसमेत नगरी, तराईको प्रचण्ड गर्मीमा र हिमालको कठ्याङग्रिने जाडोमा आफ्नो ज्यानको प्रवाह नगरीकन कर्तव्य पूरा गरेको तर आफूहरुको परिश्रम भने सञ्चालकहरुले खाइदिने गरेको आरोपसमेत उनीहरुको रहेको छ ।
उनीहरुका अनुसार कार्यरत पीडितले कम्पनीसँग पैसा मागे उनीहरुलाई नै जागिरबाट विस्थापित गराउने काम गरेको छ । उनले भनेका छन्, ‘हामी कुटिएका छौं, टाउको फुटेको छ, तलब माग्न जाँदा उल्टै हामीमाथि सांघातिक हमला गरियोे र कतिपय साथीहरुको टाउको फोडिएको छ, राज्यले यस्तो ज्यादती गर्नेलाई तत्काल कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’
सामाजिक सुरक्षाबापत एक प्रतिशत रकम कट्टा गरेको तर सामाजिक सुरक्षामा दाखिला नगरीकन हिनामिना गरेको, यस विषयमा कर कार्यालयमा समेत निवेदन दिँदा कुनै सुनुवाई नभएको पीडितहरुको भनाइ रहेको छ । उक्त सेक्युरिटी कम्पनीले अहिलेसम्म करसमेत नतिरेको आरोप लगाएको छ ।
सञ्चालकले २०७२ साल साउनबाट आफूहरुको रकम हिनामिना गरेको पीडितहरुको आरोप लागेको छ ।
प्राप्त समाचारअनुसार न्यूनतम अठारहजारदेखि पच्चिस हजारमा बैंक तथा विभिन्न कम्पनी एवं संस्थाहरुसँग रकम असुली गरी कर्मचारीहरुलाई सात हजारदेखि १३ हजार रुपैयाँ मात्रा दिने गरेको कर्मचारीलाई सञ्चयकोषदेखि घर बिदा, बिरामी बिदा मात्र होइन कर्मचारीलाई दिएको बाह्र हजारबाट पाँच सय कटौटी गरी कर्मचारी ठगी गरेको बताइएको छ ।
लाहुरेमा कार्यरत कर्मचारीका अनुसार कर्मचारीहरु मात्र ठगी गरेको छैन । पाँच वर्षदेखि राज्यलाई तिर्नुपर्ने करसमेत नतिरी अहिले सो कम्पनी कालो सूचीमा परेको बताइएको छ । कर्मचारी ठगीदेखि राज्यलाई कर छल्न न्यूनतम आम्दानी देखाई अडिट गराउने काम पछिल्लो समयमा भइरहेको समेत खुुलासा नाम बताउन नचाहने एक कर्मचारीले गरेका छन् ।
उक्त कम्पनी तत्कालीन युवराज दीपन्द्रको एडीसी बनेर काम गरेका राजकुमार कार्कीको नाममा दर्ता भएर श्री कृष्ण परियारको नाममा नामसारी भएपछि महाप्रबन्धकमा विशाल परियारलाई नियुक्त गरेको छ । परियारको नियुक्तपछि कर्मचारी ठगी घटना घटेको छैन, अझ बढ्दै गएको आरोप छ ।
विभिन्न सेक्युरीटी कम्पनीमा आबद्ध सुरक्षागार्डहरुले आर्थिक शोषण भएको गुनासो गरेका छन् । उनीहरुले सुरक्षागार्ड उपलब्ध गराएबापत कम्पनीले विभिन्न संघसंस्थाहरुबाट धेरै लिए पनि आफूहरुलाई थोरै दिने गरेको दुखेसो पोखेका हुन् । यसरी आर्थिक शोषणमा परेको गुनासो गर्नेमा विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षागार्ड रहेका छन् । कम्पनीले १२ घण्टा काम गर्ने एक सुरक्षागार्डको मासिक तलब कम्तीमा पनि १८ हजारसम्म बुझेर आफूहरुलाई सात हजार रुपैयाँमा भुल्याएको सुरक्षागार्डको गुनासो रहेको छ । सेक्युरिटी कम्पनीहरुले बैंकसँग ठेक्कापट्टा गरी सुरक्षगार्ड पठाउने गरेका छन् । कैलालीमा लाहुरे, कान्तिपुर, जी फोर एस, गरुड, जी फोर्स, गुरु फोर, काठमाडौं र कृष्ण नामका कम्पनीहरुले सुरक्षा गार्ड खटाएका छन् ।
यसैगरी, नेपाल एक्स टु सेक्युरिटी सर्भिस नामको कम्पनीका सञ्चालकले श्रमशोषण गरेको आरोप सुरक्षागार्डहरुले लगाएका छन् । सो कम्पनीमा आबद्ध आठ सय ५६ जना सुरक्षागार्डहरुले आर्थिक शोषण भएको गुनासो गरेका हुन् । उनीहरुले सुरक्षागार्ड उपलब्ध गराएबापत कम्पनीले विभिन्न संघ÷संस्थाहरुबाट न्यूनतम २० हजार रुपैयाँ मासिक तलब असुली गर्दै आएको तर सुरक्षागार्डहरुलाई न्यूनतम तलब दिने गरेको आरोप पीडितहरुको रहेको छ । कम्पनीले १२ घण्टा काम गर्ने एक सुरक्षागार्डको मासिक तलब कम्तीमा २० हजारसम्म बुझेर आफूहरुलाई सात हजारदेखि नौ हजार सात सय रुपैयाँमा भुक्तानी दिने गरेको नाम नछाप्ने शर्तमा एक सुरक्षागार्डले बताए ।
उनले बैंक तथा वित्तीय संस्था र कम्पनीले समेत आफूहरुको वास्तविक तलब उल्लेख नगर्ने गरेको बताए । उनले भने, ‘हामीहरु कम्पनीको ठेकेदारी प्रथाले साह्रै अन्यायमा परेका छौं, हाम्रो वास्तविक तलब कति हो भन्ने नै थाहा छैन ।’ ती मजदुर गार्डले भने, ‘हाम्रो तलब दैनिक ज्यालादारी मजदुरभन्दा पनि कम छ, बैंकले त एउटा तलब दिएको सुनिन्छ तर, कम्पनीले थोरै दिएर ठगिरहेका छन् ।’ कम्पनीले आठ घण्टा काम गर्ने गार्डको कम्तीमा १२ हजार र १२ घण्टा काम गर्नेको १७ हजार पाँच सयदेखि २२ हजारसम्म मासिक तलब सो सेक्युरिटीले बुझ्ने गरेको जिल्ला सेक्युरिटी संगठनका सदस्यको भनाइ रहेको छ ।
नेपाल एक्स टु सेक्युरिटी सर्भिस प्रालिका प्रबन्धनिर्देशक पूर्वमेजर पदमबहादुर खत्रीले कम्पनीमा कार्यरत सुरक्षा गार्डलाई दिइने तलबबारे अरुलाई बताउन जरुरी नरहेको बताए । उनले भने, ‘मलाई आर्थिक दैनिक र पत्रकार भन्ने पनि थाहा छैन र कोही पनि पत्रकारलाई मेरो कम्पनीको विवरणबारे बताउन जरुरी छैन ।’ सो सेक्युरिटी कम्पनी तथा बैंकहरुले मोटो कमिसनका भरमा ठेक्कापट्टा गर्ने गरेको एक बैंकका शाखा प्रबन्धनिर्देशकको समेत गुनासो रहेको छ । नाम नलेख्ने सर्तमा ती निर्देशकले भने, ‘आफ्ना चिनेजानेका र नातेदारहरुलाई बैंक नियमविपरीत सुरक्षागार्डको जिम्मेवारी दिने गरेका छन् । यो कार्य माथिल्लो तहबाट निर्णय हुन्छ, हामी त सोही निर्णय कार्यान्वयन गर्ने हो तर प्रक्रिया गलत छ ।’
सो कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुले बिरामी, सरकारी बिदा, घर बिदाको मात्र होइन, सञ्चयकोष तथा उपदानसमेत नदिने गरेको बताएका छन् । ठेकेदारी प्रथाका कारण बंैकबाट आफूहरुलाई कुनै किसिमको सुविधा नमिल्ने गरेको उनीहरुको गुनासो छ । यसै विषयमा प्रतिक्रियाका लागि प्रबन्धनिर्देशक खत्रीलाई पुनः जिज्ञासा राख्दा भने, ‘मेरो कम्पनीको बारेमा जे पायो त्यही लेख्नुभयो भने तपाईंहरुलाई गाह्रो पर्छ, जे पनि हुनसक्छ, मेरो कम्पनीको अधिकार मलाई मात्र छ ।’ यसो भन्दै उनले फोन काटेका थिए ।
विभिन्न बैंकहरुले नेपाल राष्ट्र बैंकको नीतिविपरीत सुरक्षागार्डको ठेक्का दिइएको समेत फेला परेको छ । नेपाल एक्स टु सेक्युरिटी सर्भिसलाई राष्ट्र बैंकको नीतिविपरीत सुरक्षागार्डको ठेक्का दिँदै आएको आरोप बैंकका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा खुलासा गरे । बैंकको सेक्युरिटी अफिसर पदमा जागिरे रहेका जयबहादुर खत्रीको मिलेमतोमा खत्रीका बुबा पदमबहादुर खत्री प्रबन्धनिर्देशक रहेको नेपाल एक्स टु सेक्युरिटी सर्भिसलाई सुरक्षागार्डको ठेक्का दिइएको भेटिएको छ ।
एकाघरका परिवारका कुनै पनि सदस्य जागिरे वा सञ्चालक रहेको बैंकमा सोही परिवारका अर्का सदस्यले सञ्चालन गरेको सेक्युरिटी कम्पनीबाट सुुरक्षागार्ड राख्न नपाउने कानुनी प्रावधान रहेको छ । यसरी खुलेआम मिलेमतोमा बैंकले उक्त सेक्युरिटी सर्भिसलाई सुरक्षागार्डको ठेक्का दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्