Tuesday 25th of February 2020

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण पहिले पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार पूर्वप्रधानमन्त्रीहरूसँग भारत भ्रमणका एजेन्डाबारे छलफल गरेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरूले भारतसँग आर्थिक विकासको एजेन्डामा केन्द्रित भएर छलफल गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आफूले राख्नुपर्ने एजेन्डाका विषयमा परामर्श गर्न पूर्व प्रधानमन्त्रीहरूलाई बोलाएका थिए। पूर्वप्रधानमन्त्रीहरूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक विकासको एजेन्डालाई प्राथमिकताका साथ उठान गर्न सुझाव दिएका थिए।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक विकासको एजेन्डालाई प्राथमिकताका साथ भारत सरकारसँग उठान गर्न पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको एमाले नेता एवम् परराष्ट्रवीद् डा. राजन भट्टराईले जानकारी दिएका थिए।

पूर्वप्रधानमन्त्रीहरूले विगतमा भएका सहमतिको प्रभावकारी ढंगले कार्यान्वयन गर्ने वातावरण बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री ओली शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उठाउने विषयमा प्रधानमन्त्री ओलीले बुधबार बिहान नेपाल भारत प्रवद्ध समूह, नेपाल–भारत मामिलाका विज्ञहरूसहित पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका छन्। करिब पौने २ घण्टा लामो परामर्शमा पूर्वप्रधानमन्त्रीहरूले बलियो र स्थायी सरकारको रुपमा हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल हुने विश्वास व्यक्त गरेको भट्टराईले जानकारी दिए।

परामर्श बैठकमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्