Sunday 19th of January 2020

कथा : रातो झोला

काठमाडौं । हिजोआज देवनारायणलाई बाबुको रातो झोलाले तर्साउँछ । सपनामा देख्छ– उक्त रातो झोलाभित्र कहिले बम त कहिले बन्दुक । कहिले बिषका बोतलले भरिएको त कहिले डोरीको लठारोले ।

बिहान उठ्ने बित्तिकै बाबुको त्यो रातो झोला खोतलेर हेर्छ । उनै पुराना पुस्तकहरू, दस्तावेजहरू, डायरी र डटपेन भेट्छ । सपनामा देखिएका डरलाग्दा वस्तुहरू त्यहाँ हुँदैनन् । अनि शान्तिले लामो सास फेर्छ ।

कहिलेकहीँ असिनपसिन हुँदै राति उठेर पनि झोला खोतलेको छ उसले । र, भेटाएको छ, उनै पुराना चीजहरू । अनि छातीमा हात राखेर भयमुक्त सास फेरेको छ ।

‘के खोज्छ बाउको झोलामा ?’ दुईतीन पटक आमा शीतलले सोधेकी पनि थिइन् ।
‘केही होइन । के राख्नु हुँदोर‘छ झोलामा भनेर हेरेको ।’ यसैगरि टार्दै आएको थियो, देवनारायणले ।

उक्त झोला देवनारायण जन्मनुपूर्व नै घरको धुरीखाँबोमा काँटी ठोकेर झुण्ड्याइएको थियो । आजपर्यन्त न त्यो झोलाले स्थान बद्लिएको छ, न त्यहाँभित्र राखिने पुस्तक र दस्तावेज बद्लिएका छन । न त लेखिएका भाष्य र मिथकहरू नै बद्लिएका छन । फरक यत्ति छ कि उक्त निर्जीव झोलाले देवनारायणलाई तर्साउन थालेको छ ।

माइखोलाको किनारमा अवस्थित एउटा पुरानो गाउँ । त्यही गाउँको केन्द्रमा छ, परालको छानो ओडाइएको देवनारायणको भुइँघर । वनमाराको झिक्राद्वारा निर्मित टाटीमा सेतो माटोको लेप लगाएर देवनारायणको घरलाई तीन भागमा बाँडिएको छ ।

पहिलो भागमा खाना पकाउने र राखनधरन गरिएको छ । दोश्रोमा देवनारायण सुत्छ । र, तेश्रोमा बुधनारायण चौधरी र शीतल चौधरी । अथवा देवनारायणका बाआमा सुत्छन् । आँगनको छेउमा एउटा पानीको कल गाडिएको छ । र, घर पछाडि छ, एउटा शौचालय ।
घर आँगन सफासुग्घर राख्नु थारु जातिको विशेषता नै हो । सेतो कमेरोले पोतिएको घरको अग्रभागको भित्तोरूपी क्यानभासमा थारुसमुदायको परम्परा र संस्कृति झल्काउने विभिन्न चित्रहरू कुँदिएका छन् । चिरिच्याट्ट पारेर सिँगारिएको उक्त घरलेपनि आफ्नो परम्परा निभाउन कुनै कसर बाँकी राखेको छैन ।

बुधनारायण चौधरी ५० पुग्न लागेका होलान् । तर, ६०–७० का जस्ता देखिन्छन् । दिनभरि रिक्सा तान्छन् । उमेरको हिसाबले कठिन शारीरिक श्रमबाट विश्राम लिने बेला हो, यो । तर, त्यसो गर्न पापी पेटले दिएको होइन ।

देवनारायण कलेज पढ्छ । छोराको पढाई नबिग्रियोस भनेर छोरालाई रिक्सा चलाउन दिँदैनन्, बुधनारायण । बि.ए. (ब्याचलर) पास गराउन पाए नेताहरूलाई भनसुन गरेर एउटा जागिर खुवाउने धोको छ, उनको । आजसम्म केही मागेका छैनन् पार्टीसित । त्यत्ति त गरिदेलान् भन्ने आशा बोकेका छन् उनले । त्यसैले पार्टीको उक्त झोला बिसाई हाल्नपनि सकेका छैनन् ।

देवनारायणलाई बाबुको सपना पूरा हुनेमा पटक्कै विश्वास छैन । पार्टी र नेताको दिन्दगीभरि झोला बोकेर बाबुले आर्जन गरेको त्यो आशाको त्यान्द्रो छिन्यो भने के होला ? यही प्रश्नले देवनारायणलाई सताउँछ । र, डरलाग्दा रूपहरू लिएर आएका प्रश्नका उत्तरहरूले सपनामा तर्साउँछ ।

बुधनारायण चौधरीसँगै संघर्ष गरेका, जेलनेल खेपेका उनका साथीहरू देश हाँक्ने ठाउँमा पुगेका छन् । उनीहरूलाई कुलले, परम्पराले, राजकीय बिरासतले साथदियो । तर, बुधनारायणको कुल, शिक्षादीक्षा, परम्परा र बिरासतले साथ दिएन । उनी रिक्सा मजदुर थिए, रिक्सा मजदुरनै रहे । आज रिक्सा मजदुरको नेता भएका छन् । जुलुस र हड्ताल गर्नु पर्‍यो भने रिक्सा चालक जुटाउने जिम्मेवारी पाउँछन् उनले ।

हडतालको कारण कयौंपटक निस्तो भात खाएर सुतेका छन्, देवनारायणको परिवारले ।
‘के पाउनुहुन्छ, आफ्नै रोजीरोटी गुमाउने हड्ताल गरेर ?’ नुन र खोर्सानीको चटनीमा निस्तो भात चोप्दै, कयौँ पटक शीतलले सोधेकी छन्, बुधनारायणलाई । ऊ नाजवाफ भएको छ ।

यो सब, चित्त बुझेको हुँदैन, देवनारायणलाई । देवनारायण चाहन्छ बाबुले उक्त झोला र त्यहाँभित्र राखिएका पुराना र जढ वस्तुहरूबाट मुक्ति पाओस । तर, भन्न सक्दैन । कहिलेकहीँ त फ्याँकिदिउँ कि भनेर नसोचेकोपनि होइन । तर, के भनेर फ्याँक्ने ? भरपर्दो र चित्तबुझ्दो उत्तर नै भेटाउँदैन ।

देवनारायणलाई उक्त झोलाले तर्साउन थालेको एक महिना जति भयो;

**********

साँझको नौ बजेको थियो । आँखीझ्यालबाट यसो बाहिर चियायो, देवनारायणले । जूनको आभामा छिमेकीको घर छर्लङ्ग देखियो । आँगनको बायाँपट्टि बकाइनोको रुख झुलिरहेकी थिइन् ।

छिमेकी खगेश्वर शर्माको बकाइनोको रुख भन्दा अग्लो घरले देवनारायणलाई हजुरआमाले भनेको पुरानो कुरा संझायो, ‘२०४१–४२ सालतिर हो क्यार । कतै नभएको हुरीबतास आयो । धेरैका घरका छाना उडायो । खगेश्वर शर्माको पनि उडायो । रातभरी त्यही बक्काइनो फेदमा गुन्द्री ओडेर गुडुल्की परेर रात गुजारेका थिए, खगेश्वर शर्माको परिवारले ।

‘भोलिपल्ट बिहान राजवंशीहरू भेलाभएर घर बनाइदिए, खगेश्वर शर्माको । साँझतिर डेगेन्द्र राजवंशीलाई पुलिसले पक्रिएर लग्यो । घर बनाइदिने टोलीको टोलीप्रमुख थिए, ती । खगेश्वर शर्मा घरमा भेटिएनन् । खगेश्वर शर्माको घर बनाउन किन सघाइस भनेर डेगेन्द्र राजवंशीलाई पुलिसले लगेकोर‘छ ।

‘विचरा डेगेन्द्र राजवंशी, खगेश्वर शर्माको घर बनाइदिइको निहुँमा ४ वर्ष जेल बस्यो । त्यसैबेला गाउँभरी चर्चा चलेको थियो, खगेश्वर शर्मा पञ्चायत विरोधी हो ।

वीरेन्द्र कटुवाल

‘हेर त देवु, बक्काइनोको रूखभन्दा अग्लो, भूकम्पभन्दा बलियो घर बनाए खगेश्वरले । विचरा त्यो डेगेन्द्र राजवंशीको पुरानो भएर जीर्ण भएको घर लडाइदियो भूकम्पले ।’ परारको विनाशकारी भूकम्पको अवशेषमा उभिएर हजुरआमाले छिमेकीको घरतिर औल्याएर, लामो खुइ गर्दै भनेकी थिइन्, ‘दैवपनि कति स्वार्थी छ हगी ? गरिबको लागि महाप्रलय भयो, भूकम्प । खगेश्वरले अर्को तलो थपे ।’
हजुरआमाले भनेका यीनै पुराना कुराहरू संझिदै खगेश्वर शर्माको घर तिर टोलाइरहेको थियो, देवनारायण ।

ठीक त्यत्तिनै बेला एउटा बूढो मान्छे खगेश्वर शर्माको घरमा प्रवेश गर्‍यो ।
वर्ण– कालो । चुस्स बढेका तिलचामले दारी । पातला जुँगा, दिग्दारलाग्दो गरि उम्रिएका । सेतो पाइजामा र फुस्रो रङ्गको कुर्ता लगाएको । गोडामा टायरका चप्पल भिरेको । र, पछाडि एउटा रातो झोला उनेको थियो, उसले ।

पुरानो साइकल अड्यायो, कम्पाउण्ड वालमा र बकाइनोको रुखभन्दा अग्लो घरलाई तलदेखि माथिसम्म नियाल्यो ।
‘विचरा, यो बूढो त मेरो बाबु जस्तै र‘छ ! साइकलसम्म फेर्न सकेको रैनछ । यो पनि त खगेश्वर शर्माको साथी नै होला !’ आफ्नो बाबु र बाबुको रातो झोला संझिदै एकछिन टोलायो, देवनारायण ।

त्यो बूढोमान्छेलाई मजाले नियाल्यो, देवनारायणले । तर, चिनेन । आँखामा एउटा चस्मा थियो, त्योपनि अपाङ्ग । दाहिने पट्टिको खुट्टोमा काम्रो बाँधेर डोरीको पस्यौटो जडिएको थियो ।

चस्माको पस्यौटो मिलायो । र, कान घुसार्‍यो, पस्यौटोमा । घरको देब्रेपट्टि अथवा बकानोको रुख भएपट्टिकै झ्यालमुनी ओझेल पर्‍यो । टुसुक्क बस्यो, भूइँमा । र, फेरि नियाल्यो बकाइनोको रूख, फेददेखि टुप्पोसम्म ।

त्यही बूढो मान्छेले तान्यो, पल्लो घरको आँखिझ्यालबाट चियाइरहेको देवनारायणको ध्यान ।
सोच्यो ‘यो बूढो किन भित्र गएन ? को होला यो मान्छे ?’

सिसाको झ्यालबाट देखिन्थ्यो, खगेश्वर शर्माको बैठक कोठाको तामझाम । त्यो बूढोमान्छे झ्यालबाट भित्र चियाउँथ्यो । देवनारायणको मनमा जिज्ञासाका कुइरिमण्डल बादल मडारिन्थे ।

बूढोमान्छे झोलाको मुख खोल्न थाल्यो । देवनारायणको मन शङ्का–उपशङ्काले भरिँदै गयो ।
‘के झिक्दै छ झोलाबाट ? किन गएन यो मान्छे घरभित्र ? कतै बन्दुक त झिक्दै छैन ? कतै खगेश्वरको परिवारलाई एउटै चिहान पार्ने त होइन, राजा वीरेन्द्रको जस्तो !’ देवनारायणको मनमा नानाभाँती कुरा खेल्न थाले ।

डरले आँखा चिम्म गर्‍यो, देवनारायणले । र, दुवै कान थुन्यो । कतै गोली पड्किएको आवाज नसुनियोस । एकछिनसम्म अधैर्यतापूर्वक प्रतिक्षा गर्‍यो । तर, केहीपनि पट्कीएको आवाज सुनेन ।

मन दरो पार्‍यो । र, बिस्तारै आँखा खोल्यो ।
देख्यो, बूढोमान्छेको एउटा हातमा कापी र अर्को हातमा कलम । मन अलि शान्ति भयो । तर, मनभित्र रहस्यको कुइरोले कावा खान भने छोडेको थिएन ।

‘आखिर को हो त्यो, मान्छे ? के गर्दैछ त्यहाँ ? कतै पत्रकार त होइन, कुनै गोप्य रहस्य पत्ता लगाउँ यत्रो जोखिम मोल्दैछ ? तर, पत्रकार भए यो भेषमा आउन के जरुरी छ ?

‘कतै सिआईबीको एजेन्ट पो हो कि ? हो, पक्कै हुनसक्छ ! तर, यति बूढो ? हुनसक्छ, मान्छेले नचिनून भनेर…।
‘होइन, होइन । पक्कैपनि खगेश्वर शर्माको विरोधी पार्टी या गुटको मान्छे हुनुपर्छ । जासुसी गर्न आ‘को । तर, यस्तो बूढो ? धन देखेपनि महादेवकोपनि नेत्र बल्छ भन्छन् । हुनपनि त सक्छ ?’ जिज्ञासाहरू एकपछि अर्को गर्दै ताँती लाग्यो देवनारायणको मस्तिष्कमा । छटपटी बढ्यो । बेचैन भयो चित्त ।
मोवाइल समायो र पुलिसलाई फोन गर्न खोज्यो ।
सोच्यो, ‘पुलिसलाई फोन गरेरपनि के होला र ? बरु, त्यो बूढोमान्छे निर्दोष रहेछ भने अनाहकमा अनाम सहीद हुन्छ, विचरो ।

खगेश्वर शर्माले भोलि बिहानै र‘अको एजेन्ट मलाई मार्न आको भनेर फुकिदिन्छन् । मान्छेहरू मशाल बोकेर सडकमा उत्रिन्छन् । राष्ट्रनायक भनेर नारा लगाउँछन…। विचरा, त्यो बूढोलाई कुकुरको मौत नसिब हुन्छ ।

‘आ, मरोस । बिहान त थाहा भै’हाल्छ ।’ डाइल गर्न खोजेको नम्बर मेट्यो । मोबाइल सिरानीमा राख्यो र ओछ्यानमा पल्टियो, देवनारायण । तर, दिमागभरि रहस्याको चाङ् बोकेर कसरी निदाओस् र ?

फेरि बूढोमान्छेलाई अझ गहिरिएर हेर्‍यो– कालो छाला, चाउरिपरेको अनुहार, चुस्स दाह्री, पातला जुँगा, गहिरा आँखा, चौडा निधार, चेप्टो नाक, सेतै फुलेको कपाल, थोते दाँत, र चेहरामा छटपटाई रहेको मरणासन्न खुसीहरू । आफ्नै बाबुको रूप प्रतीत भयो उसलाई । झन् छटपटी बढ्यो देहभित्र । र, ठान्यो– पुलिसलाई फोन नगरेर ठूलो अनर्थ हुनबाट बचाएँ ।

एकफेर खगेश्वर शर्मालाई पनि सम्झियो– गोरो छाला, पोटिलो अनुहार, चुच्चो नाक, सुनका दाँत, चिल्लो चिउँडो, मेहनत गरेर मुठारेका छोटा जुँगा, सीमा मिचेर फैलिएको निदार, बाजका जस्ता तीखा आँखा, सुरिलो र तीखो बोली, अनौठा र नौला मान्छेसितको उठबस, पेसा सर्वराहाराको राजनीति, चार अङ्कको आर्थिक वृद्धि दर र चेहरामा नाचिरहेका रहस्यमय खुसीहरू ।

देवनारायणको ध्यान फेरि त्यही बूढोमान्छेमा केन्द्रीत भयो, ‘त्यो रातो झोला । आखिर त्यहाँभित्र के होला, कतै बम, सुसाइट बम, बन्दुक या क्यामरा ?

‘कि खुसुक्क गएर बुझौं ? धत् !’ आफैले आफैलाई हपार्‍यो, ‘भरै, तँलाई खेदेर पड्काई दियो भने । दशा लागेपछि हरेक थोक हुन्छ । तँ आफैं सहीद हुन्छस् । त्यहाँ जाने कुरा सोच्दै नसोच् ।’ जे सुकै होस् मतलव नभएको कुरामा वास्ता नगर्ने निष्कर्षमा पुग्यो र ओछ्यानमा पल्टियो ।

तर, कसरी निदाओस देवनारायण । फेरि झ्यालबाट चियायो । बूढोमान्छे बेलाबेला झ्यालबाट भित्र हेर्‍थ्यो । र, खै के के लेख्थ्यो ।
बिस्तारामा पल्टिएर एकछिन के के सोच्यो, देवनारायाणले । एकछिनपछि झ्यालबाट फेरि बाहिर हेर्‍यो । हेरेको हेर्‍यै भयो । किनभने, बूढो मान्छे त्यहाँ थिएन । आँखाले भ्याए सम्म चारैतिर खोज्यो । तर, अँ हँ । कहीँकतै नामोनिशान देखेन ।

तर, आश्चर्य, रातो झोला भने त्यहीँ टल्किरहेको थियो । तर, खाली । झनझन् रहस्यका पुलिन्दाहरू थपिँदै जान्थे, देवनारायणको अगाडि ।

मोबाइल हेर्‍यो । रातको १२ बजिसकेको थियो ।
‘कहाँ गयो होला त्यो मान्छे ? को थियो त्यो ? झोलापनि खाली छ । के थियो होला झोला भित्र ? कतै बम फिट गरेर त भागेन ?’ देवनारायाणको मनमा डर प्रवेश गर्‍यो, ‘बम शक्तिशाली र‘छ भने ?’

हतनपत बाआमाको ओछ्यानतिर गयो । बाआमा निदाइरहेका थिए, मस्त । फर्कियो, आफ्नै ओछ्यानमा । र, गुडुल्की परेर सुत्यो । ताकि बमको छर्रा आँखीझ्यालबाट नछिरोस् ।

फेरि निदाउने कोशिश गर्‍यो, देवनारायणले । ज्ञ त्र क्ष ह… उल्टो क ख पढ्यो । १००, ९९, ९८ उल्टो गन्ती गर्‍यो । र, पनि निदाउन सकेन । न बन्दुक पड्कियो न बम । न त उसलाई निद्रै लाग्यो । धेरै पटक झ्यालबाट हेर्‍यो । तर, केहीपनि देखेन । कतिबेला कतिबेला देवनाायणका आँखा लागेछन् पत्तै पाएन ।

**********

कल्याङ्कुलुङको आवाजले देवनारायाण्को अधुरो निद्रा खुल्यो । हतनपत झ्याल खोल्यो र छिमकीको आँगनतिर हेर्‍यो । आँगनमा पोषाकधारी प्रहरी र सर्वसाधारणहरूको भीडभाड थियो ।

एकतमासले झमझम परेको थियो, झरी । पटट्ट पटट्ट मकैका पातहरू बजिरहेका थिए । बकाइनोको रुखपनि आफ्ना पातहरूबाट तप्पतप्प आँशु झरिरहेकी थिइन् । मानौं, सारा प्रकृति रोइरहेकी थिइन् ।

‘पक्कैपनि खगेश्वर शर्माले पक्राउ खायो । कि मारिदियो खगेश्वरलाई ? मारी त हालेन होला !’ आफै जिज्ञासा जन्माउँदै, आफैं उत्तर खोज्दै हत्तनपत्त गुला लगाएर दौडियो घटनास्थलतिर ।

मान्छे पन्छाउँदै भीडभित्र छिर्‍यो । एउटा प्रहरीको हातमा क्यामरा थियो । एकजना इन्सपेक्टर उसको रातो झोला खोतल्दै थियो । र, एउटा कापी र डटपेन ल्याएर डिआइजीलाई दियो ।

देवनारायण रातिको कुरा संझिदै रहस्यमय तरिकाले बुढो मान्छे खोज्दै थियो । न खगेश्वरको लास देखिरहेको थियो, न बूढो मान्छे ।
‘आखिर के थियो त्यो झोला भित्र ? प्रहरीले त कापी र कलममात्रै भेट्यो ।’ देवनारायणले सोच्यो, ‘कतै यही क्यामरा पो थियो कि ।’

देवनारायणको आँखा साइकलमा पर्‍यो । र, ठान्यो– ‘यही प्रहरी मध्य एउटा हुनुपर्छ ।’

प्रहरीहरू लाठी उज्याउँदै मान्छेलाई बाहिर भगाउँदै थिए ।

भाग्दै गर्दा देवनारायणको आँखा बकाइनोको फेदमा पर्‍यो, जहाँ बूढो मान्छेले लगाएको टायरको चप्पल थियो । उसका नौं नारी भतक्क भएर गले । आँखा रसाए । रसाएका आँखाले बकाइनोको रुखतिर पुलुक्क हेर्‍यो । बूढो मान्छे त घाँटीमा पासो लगाएर बकाइनोको हाँगामा झुण्डिरहेका थिए ।

‘गरिब दु:खीको भाग्य निर्माण गर्न भिरेको रातो झोला आफ्नै मृत्युको सर्दाम जो गर्न पो काम आएछ’ सोच्यो, ‘यी गरिब दु:खीलाई यही दिन ल्याउन राता पुस्तकहरू घोकाइएको थियो ? आफ्नै घाँटीको पासो बोक्न ती राता झोलाहरू भिराइएको थियो ?’

देवनारायाणको मन उद्वेलित भयो । आफ्नो बाबुलाई संझियो । र, संझियो वर्षौंदेखि झुण्डिएको बाबुको त्यही रातो झोला ।

**********

कामरेड,
‘म डेगेन्द्र राजवंशी । तिमी मलाई डेगे भन्थ्यौ । म तिमीलाई खगे भन्थें । अतीतलाई संझिदा रमाइलो लाग्छ, बाल्यकाल । भोकै, अभावै भएपनि सपनाहरूको नदीमा पौडी खेल्न रमाइलै हुन्थ्यो । तर, बिरक्त लाग्छ यो वर्तमान । यसलाई बिरक्तिलो तिमीहरूले नै बनायौं ।

‘माइखोलाको किनारमा लमतन्न परेर सुतिरहेका ती बगर, ढुङ्गामाटो, सुखानीको जङ्गल । तिमीले र मैले गाईबाख्रा चराएका सम्मफाँट । र, नाङ्गैभुतुङ्गै खेलेका, नुवाएका ती अविष्मरणीय पृयक्षणहरू । खै किन बिझाउँछन आजभोलि । हिजोका ती संघर्षमय दिनहरू संझिदा, भतभती पोल्छ ।’ प्रहरी अधिकृत पढ्दै हुन्छन्, डेगेन्द्रले लेखेको मृत्यु–पत्र । भिड सुनिरहेको हुन्छ, एकाग्र चित्तले ।

तर, देवनारायाणको ध्यान भने खिच्न सकिरहेको थिएन त्यो मृत्यु–पत्रले । ऊ बारम्बार आफ्नै बाबुलाई संझिन्थ्यो । र, संझिन्थ्यो त्यही रातो झोला । ‘कतै मेरा बाबुले पनि…।’

प्रहरी अफिसर पढ्दै हुन्थ्यो, ‘धर्म भनेको अफिम जस्तै हो भन्यौं । होला तनि भनियो । पुर्खाले पुज्दै आएका देउताका फोटा झिकेर तिमीले दिएका लामालामा दारीजुँगा भएका, तालु खुइलिएका चिउँडोमा मात्रै सुच्स दारी भएका मान्छेका फोटा राखेँ । छेउमा तिम्रो फोटोपनि राखेको थिएँ । अझै यथावत छ ।

‘तिमी मन्त्री हुँदा यी खङ्ग्रङ्ग भएर सुकेका आखाँबाट तप्प आँशु झरे, खुसीका । म छक्क परेँ, ‘कहिलेदेखि साँचेर राखेको थियो ती खुसीका आँशुहरू ।’

‘पोहोर फुलवती मरी । तिमीलाई मध्यरातमा उठेर मकैको ढिँडो पकाएर धेरै पटक खुवाएकी थिई । तिम्रो खरिएको आँतले सिल्वरको कटौराको जाँड कतिमजाले तनतन पारेर तान्थ्यो । थाहा छ, त्यो जाँड मलाई पनि नदिई नदिई तिम्रै लागि राखिदिन्थी, फुलमती ।

‘भन्थी, ‘खगेश्वर बाबु आउने बेला भएको छ । अरूको खुसीको लागि आफ्नो खुसी हाँसीहाँसी कुर्वानी गर्ने मान्छे । तिमी त अर्को बहान खाउला न हुन्न ?’

‘मलाई पनि खुसी नै लाग्थ्यो ।

‘तिमीले त यो पनि बिर्सियौं होला । निस्लट्ट जरो आएको बेला काँडा बनाएर खुवाएकी थिई फुलमतीले । थाहा छ, फुलमतीले मर्ने बेलामा तिमीलाई संझेकी थिई, ‘रोगीरोगी थियो । अहिले कस्तो भा‘को थियो कुन्नी ? मान्छे अलि निठुरी–निठुरी र‘छ क्यार । एकफेर पनि आएन भेट्न । के दिनुपरेको थियो र ? बोलीबचन नै त हो ।’

‘अहिले त तेरो खगेश्वर बाबु हाछ्युँ आउँदा पनि अमेरिका जान्छ । तेरो काँडा संझिदा पनि मुख कोक्याउँछ, पेट बटार्छ उसलाई’ भन्दिउँ कि जस्तो लगेको थियो । तर, भन्न सकिनँ । मलाई उसको मर्न लागेको मृतात्माको विश्वास तोड्न मन लागेन । ठाँने– भ्रम मै सही कमसेकम उसको मृतात्माले पश्चातापको पीडा बोध पर्न त परेन ।

आखिर तिमीहरूको इतिहास देउता बन्ने र बनाउने नै त र‘छ । कस्लाई पुजेनौं र ? पृथ्वीनारायण शाहलाई पुजे नौं कि ? बलभद्र र अमरसिंहलाई पुजेनौं कि ? भानुभक्त र लक्ष्मीप्रसादलाई पुजेनौं कि ?

पछिल्लो पटक तिमीहरूलाई पुज्यौं । विश्वास र भरोसाको साथ पुज्यौं । तर, सत्ताको बलबुतामा हिजोपनि हाम्रो सत्ता, धर्म, भाषा–संकृति र पहिचान लुटिएको थियो । आजपनि लुटिइएका छौ ।

‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’ गाउँगाउँमा मुखिया, जिम्दार, जिम्वाल, बिर्तावालहरू आए । यस्तै मिथकहरू घोकाए । हामी कन्दमूल खाएर उनीहरूको सेवामा रमाउने कोशिश गरिरह्यौं । राज्यले कर र कूतको नाउँमा हाम्रो श्रम र पसिना लुटिरह्यो । सुनको थैलो र धनको पोको थुपारिरह्यो ।

‘शोषणका सबै रूप र तरिकाबाट समाजलाई मुक्तपार्ने क्रान्तिको बिगुल फुक्दै तिमीहरू आयौ । साग र सिस्नु खाएर, भोको पेटमा पटुका काँधेर तिमीहरूको क्रान्तिमा जीवन समर्पित गर्‍यौं ।

‘आजपनि हाम्रा छोराछोरी खाडी मुलुकमा खुन र पसिना बेचिरहेका छन् । राज्य नयाँ-नयाँ जिम्वाल र जिम्दारहरू खडा गरेर उनीहरूको कमाइको दलाली गरिरहेको छ । थुपारी रहेको छ, सुनका थैला र धनको पोको । र, पठाइरहेका छन्, युरोप र अमेरिका ।

‘आजपनि इतिहास तिमीहरूकै लेखिन्छ । हाम्रा कथाहरू आजपनि मूलधारका सञ्चारजगतबाट बहिस्कृत छन् । प्रशंसाका गीत तिमीहरूकै गाइन्छ । आजपनि हाम्रा चित्कारहरू तिमीहरू जस्ता नव–इलिटका दरबारभित्र दबाइन्छ ।

‘लगनपछिको पोते भयो हाम्रो बुझाई । तिमीहरूलाई नयाँ देउताको रूपमा प्रतिस्थापन गर्दागर्दै तागत सकियो । अब त जीवन धान्ने तागत त रहेन भने, बगावत गर्ने तागत कहाँबाट ल्याउनु र ?

थाहा छैन– जीवनको लागि संघर्ष हुन्छ कि हुँदैन यो मुलुकमा ? हामीलाई त जीवन पो संघर्षको लागि भनेर सिकाइयो । संघर्ष गर्दै जुनी बित्यो । हिजोपनि हाम्रा पुर्खाको खुन पसिना तिमीहरूकै पुर्खाले शोषण गरे । र, आज तिमीहरू हाम्रो शोषण गर्दै छौं । कीर्तन हिजोपनि तिमीहरू कै गाइयो । आजपनि तिमीहरू कै गाइँदै छ ।

‘थाहा छैन, हिजो गरेको संघर्ष प्रति गर्भ गरौं कि पश्चाताप ?
यसको उत्तर खोज्ने जिम्मा पनि इतिहासदेखि ठगिएका हाम्रा छोरा-नातीहरूको काँधमा बिसाएर जाँदैछु ।
कामरेड,
छोरानातीको बोझ भएर बाँच्नुभन्दा, यही बकाइनोको बोझ भएर जीवन बिसाएँ ।
अल बिदा कामरेड …अल बिदा ।

**********

त्यही दिनदेखि देवनारायण बाबुको रातो झोलाको भूतले उसलाई तर्साइरहन्छ । ऊ तर्सिरहन्छ, कतै आफ्नो बाबुले पनि डेगेन्द्र राजवंशीको मार्ग समाउने त होइनन् ?

प्रतिक्रिया दिनुहोस्