Wednesday 19th of February 2020

‘सेक्स’ मामिलामा नेपालका १२ शहर कालोसूचीमा परे

काठमाडौं । यौनप्रति नेपाली समाजको बदलिंदो धारणा पहिल्याउन दमक, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, काठमाडौं, पोखरा, बुटबल, घोराही, नेपालगञ्ज र धनगढीमा गरेको सर्वेक्षणमा १८ देखि ७० वर्षसम्मका ३७४ जना सहभागी थिए ।

तीमध्ये ५८ प्रतिशतले पत्र–पत्रिका हेर्दा सबभन्दा पहिले यौन सम्बन्धी सामग्रीमा आँखा जाने बताए । यो समूहमा पुरुष ६७.४ प्रतिशत र महिला ४२.४ प्रतिशत थिए । पत्रपत्रिकामा यौन सम्बन्धी सामग्री कत्तिको पढ्ने गर्नुभएको छ ? भन्ने प्रश्नमा नियमित पढ्ने गरेको बताउनेमध्ये ७९.३ प्रतिशत १८–२४ वर्ष उमेर समूहका थिए ।

२५–३९ उमेर समूहका ६७.६ प्रतिशत र ४०–५९ समूहका ४२.९ प्रतिशतले पत्र–पत्रिकाका यौन सामग्री पढ्न रुचि राख्ने गरेको सर्वेक्षणले देखायो। ६० वर्ष माथिका भने १७ प्रतिशतले मात्रै यौन सामग्री पढ्ने गरेको जवाफ दिए । ३०.४ प्रतिशतले पत्र–पत्रिकामा छापिएका तस्वीर र सामग्री अश्लील भएकाले परिवारसँग बसेर हेर्न, पढ्न नमिल्ने र ३० प्रतिशतले मिल्ने बताएका थिए ।
नेपाली समाज यौनका विषयमा उदार बन्दै जानुमा ३२.६ प्रतिशतले मोबाइल फोन र ३१ प्रतिशतले इमेल इन्टरनेटको मुख्य भूमिका रहेको बताए भने २०.६ प्रतिशतले पत्रपत्रिका र टेलिभिजनलाई कारक माने। इन्टरनेटलाई कारक भन्नेमा १८ देखि २४ वर्ष उमेर समूहका ४०.२ प्रतिशत छन् । ६० वर्षमाथि ४५ प्रतिशतले मोबाइल फोनलाई समाजलाई खुला बनाउने कारक मानेका छन् ।

तपाईं यौन सम्बन्धी कोसँग खुलेर कुरा गर्नुहुन्छरु भन्ने प्रश्नमा ५९ प्रतिशतले साथीसंगीसँग भन्ने जवाफ दिए। साथीसंगीसँग यौनका कुरा गर्नेमा १८–२४ वर्ष उमेर समूहका ७१.३, २५–३९ वर्ष उमेर समूहका ६७.६ र ४०–५९ उमेर समूहका ४९.५ प्रतिशत देखिए ।

टोल, छिमेकमा यौन सम्बन्धबारे बढी उदार गर्लफ्रेण्ड र ब्वाईफ्रेण्ड बनाउने र यौनसम्बन्ध राख्ने, विवाहेत्तर सम्बन्धमा लाग्ने मान्छे कत्तिको देख्नु भएको छ ? भन्ने प्रश्नमा ५२.७ प्रतिशतले अलि अलि देखेको र २०.९ प्रतिशतले धेरै देखेको बताए भने ५०.५ प्रतिशतले समाजले खुल्ला यौन गतिविधिलाई सहज रूपमा नलिएको, ३२.४ प्रतिशतले सहज रूपमा लिन थालेको बताए । १८ देखि २४ वर्ष उमेर समूहका ५६.३ प्रतिशत र २५–३९ उमेर समूहका ५२.८ प्रतिशतले नेपाली समाज अझै परम्परागत रहेको बताए ।

प्रहरीले होटलमा छापा मारेर यौनकार्यमा संलग्न भन्दै जथाभावी पक्राउ गर्नुलाई ३४.८ प्रतिशतले विकृति रोक्ने प्रयासका रूपमा लिए भने २१.४ प्रतिशतले नागरिकको व्यक्तिगत अधिकारको हनन्को रूपमा अथ्र्याए । यसैगरी, १३.६ प्रतिशतले यसलाई प्रहरीको मनपरी भने। सर्वेमा सहभागी ५०.४ प्रतिशतले नेपालमा अलग्गै रेडलाइट एरिया आवश्यक भइसकेको बताए, जसमा पुरुष ५९.१ प्रतिशत र महिला २८.९ प्रतिशत छन् । यसैगरी, २०.६ प्रतिशतले रेडलाइट एरियालाई अनावश्यक भने, रेडलाइट एरिया आवश्यक ठान्नेमा १८–२४ वर्ष उमेर समूहका ५० प्रतिशत छन् । ६० वर्षभन्दा माथिका ७२.२ प्रतिशत उत्तरदाताले रेडलाइट एरिया तोक्न ढिलो भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्