Friday 28th of February 2020

यी हुन् भारतीय दूतावासको कार्यालयमा बम पड्काउने व्यक्ति

विराटनग । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अुनसार मोरङको बेलबारी नगरपालिका ४ का ४२ वर्षीय युगेन भनिने उदय राई र ताप्लेजुङ थुकिमा ७ का ३४ वर्षीय भीम लिम्बूलाई विराटनगरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये राई नेकपाको मोरङ सेक्रेटरी र लिम्बू कार्यकर्ता हुन् । उनीहरूविरुद्ध प्रहरीले सोमबार बम विष्फोटन सम्बन्धी मुद्दा दर्ता गर्न म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । दुबै जनालाई आइतबार पक्राउ गरिएको बिसीले जानकारी दिए ।

दुई नेता कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटको घटनामा नेकपाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । दूतावासको सम्पर्क कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा गत सोमबार राति ८ः१५ बजे प्रेसर कुकर बम विष्फोट गराइएको थियो ।

प्रहरीका अनुसार, पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो पार्टीको संलग्नता रहेको स्वीकार गरेका छन् । प्रहरीले बम विष्फोटमा कति जना संलग्न थिए भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न भनेर नाम आएका नेकपामा आवद्ध अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना भएकै भोलिपल्ट मंगलबार पूर्वसांसद बाबुलाल पासवानलाई पनि पक्राउ गरेको थियो ।

माओवादीबाट सांसद बनिसकेका उनी अहिले नेकपामा आवद्ध छन् । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका पूर्वसांसद पासवानविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको एसपी बिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्