Tuesday 31st of March 2020

३३ किलो कुन प्रकरणः कसैलाई तर्साउन वा कोहीलाई खुशी पार्न अनुसन्धानको नाटक

विराटनगर । सरकारद्वारा गठित विशेष अनुसन्धान समितिले साढे ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा तयार पारेको अभियोगपत्र कर्मकाण्डी देखिएको छ । हिरासतमा रहेका २९ जना, उनीहरूका निकट र प्रत्यक्षदर्शीको समेत बयान भएको उक्त १ सय ५३ पृष्ठ लामो अभियोगपत्रबाट ठोस निर्क्याैल भने निस्कँदैन । कसैलाई तर्साउन वा कोहीलाई खुशी पार्न अनुसन्धानको नाटक गरेको झैं देखिन्छ ।

त्यसमा प्रजातन्त्र पुर्नबहाली २०४६ अगावैदेखि विमानस्थलबाट सुन तस्करी हुँदै आएको र २०६९ देखि हाल फरार गोरे भन्ने चुडामणि उप्रेतीको पनि संलग्नता देखिएको भनेको छ । तर यसमा अरु कुनकुन समूह वा व्यक्ति सक्रिय छन् भन्ने उसले खोजबीन गर्नुपर्ने आवश्यकता औंल्याएको छैन ।

अभियुक्त बनाइएका कुनै पनि प्रहरी अधिकृतको तस्करीमा संलग्नता रहेको उक्त अभियोगपत्रले पुष्टि गर्दैन् । औपचारिकता पुरा गर्नलाई बयान लिएको जस्तै देखिने उक्त अभियोग प्रतिवेदनमा केही प्रहरीमाथि तस्करलाई सहयोग गर्ने आशय वा नियत राखेको निचोड निकालिएको छ जुन अदालतमा कहिल्यै प्रमाणित हुन्न । उनीहरू सहजै सामान्य धरौंटी वा तारेखमा रिहा हुने स्थिति छ । यसैगरी संगठित सुन तस्कर गिरोहका भरिया सनम शाक्यलाई मोरंग उर्लाबारी–१ को जंगलमा पाँच दिनसम्म शारीरिक यातना दिएर हत्या गरिंदासम्म स्थानीय प्रहरी अनभिज्ञ रहनु बारे उसले केही बोलेको छैन । उक्त जंगलमा दैनिक वाहन, सामान र मान्छेको आवागमन हुँदा समेत प्रहरीले सूचना नपाउने प्रश्न नै उठ्दैन ।

पुरा छानबीनकै मुटु मानिने साढे ३३ किलो सुन लुटको रहस्य बारे समितिको अनुसन्धानले केही भनेको छैन । बाटाबाटै सुन लुटि लाने दुई मोटरसाइकलमा सवार हेलमेट लगाएका ती चार व्यक्ति को थिए ? वा यो तस्कर समूह वा सुन गायब पार्नेले रचेको कथा हो ? यो बारेमा थोरै पनि खोजी गर्ने समितिले रतिभर चासो देखाएको छैन । मुख्य अपराधीसम्म पुग्नेभन्दा पनि सतहमै यो समिति अलमलिरहेको प्रतिवेदनले नै देखाउँछ ।

एक संगठित तस्कर समूहले दुबईबाट नेपाल भित्र्याएको सुन लुटिएको तीन महिना बढी भइसकेकोले लुटेरा र सामान फेला नपर्नुले अदालतमा प्रस्तुत अभियोगपत्रलाई नीकै कमजोर बनाएको छ । तस्करी गिरोहमा संलग्न काभ्रेप्लाञ्चोक देउपुर मण्डन–१२ का टेकराज मल्ल ठकुरीले विशेष अनुसन्धान टोली समक्ष दिएको बयानमा माघ ९ मा भित्रिएको उक्त सुन काठमाडौको अनामनगरमा लुटिएको खुल्छ । तर ‘सेटिंग’ मिलाएर निरन्तर सुन तस्करी भइरहेकै क्रममा गिरोहकै सदस्यहरूले, अन्य तस्करहरूले वा अझ बढी कमाउने लालसामा हाल अभियुक्त बनेका प्रहरीहरूले लुटे/लुटाए भन्ने सवालको जवाफ नदिइकनै प्रतिवेदन समाप्त हुन्छ ।

दुबईबाट आएको सुन सबैभन्दा पहिले जिम्मा लिने विमानस्थलका कर्मचारी सानु बन सुन लुटिएपछि चार दिन गायब हुनु, पुन: अचानक विमानस्थलमा देखिनु र लगतै नाटकीय ढंगले उनको नेपाल आयल निगमको टंयाकरले किल्चेर मृत्यु हुनु आफैमा ठूलो रहस्य हो । विमानस्थलका लोडर प्रेमलाल चौधरीले प्रहरी हिरासतमै किन र कसरी आत्महत्या गरे बारे पनि अनुसन्धान मौन छ । सनमको मित्र मोडेल निसा सेन ठकुरीसँग पनि मायाप्रेम साटासाटको प्रसँग बाहेक समितिले खासै केही बकाउन सकेको छैन ।

उक्त ठूलो परिमाणमा सुन बेपता भएको घटनापछि तस्करहरूलाई तर्साउन विमानस्थलमा २० किलो सुन बरामद भयो भन्ने हल्ला कसले र कसरी चलायो त ? यो हल्ला चलाउने प्रहरी, अन्य गिरोह वा त्यो सुन पचाउने मनसाय भएका व्यक्ति वा समूह पनि हुनसक्छ । सयौ पृष्ठ लामो अभियोगपत्र अध्ययन गर्दै जाने हो भने यो प्रकरण कुनै रोचक फिल्मभन्दा कम देखिन्न जहाँ अभियुक्तहरूको अपराध बारे त भनिएको छ तर त्यसलाई प्रमाणित गर्ने आधार कतै छैन । अभियुक्त पक्षका अधिवक्ताहरूले कमजोर अनुसन्धानको भरपुर फाइदा उठाउने देखिन्छ । हाल हिरासतमा रहेकामध्ये एसपी विकासराज खनालले स्पष्टरुपले नै सुन तस्करमा संलग्न कसैलाई नचिनेको भनेका छन् । अन्य प्रहरीले व्यक्तिगत रुपले चिने पनि तस्करहरूको अबैध धन्दामा संलग्न नरहेको आधार प्रस्तुत गरेका छन् । समग्रमा कुनै पनि तल्ला वा उपल्ला प्रहरीको तस्करसँग प्रत्यक्ष साँठगाँठलाई समितिको अनुसन्धानले प्रमाणित गर्दैन ।

सुन तस्करीमा संलग्न रही हाल पक्राउ परेकाहरूले पनि पर्दा पछाडि बसेर काम गरिरहेका कुनै ठूलो माछालाई जोगाउन खोजेजस्तो बयान दिएको प्रष्ट हुन्छ । जानकारहरूका अनुसार अहिलेसम्म यो काण्डका मुख्य नाइके भनिएका चुडामणि उप्रेती (गोरे) भन्दा माथि पक्कै अर्को कोही हुनुपर्छ किनकी विना कुनै शक्तिशाली राजनीतिक संरक्षण विमानस्थलबाट यति ठूलो परिमाणमा सुन बाहिरिनु सम्भव नै छैन ।

विवादित हुने वा करियर धरापमा पर्ने डरले वहालावाला कुनै पनि जिम्मेबारी प्रहरी अधिकारी यो बारेमा प्रतिक्रिया समेत दिन चाँहदैनन् । प्रतिवेदनको निचोडमा भने प्रहरीले कुन्ठा पोखेको देखिन्छ । प्रतिवेदनमा झापा, मोरंग र सुनसरीका सुरक्षा निकायहरूलाई सामान्य सूचना समेत नदिइ काठमाडौंबाट मोरंगको उर्लाबारीको घटनामा हस्तक्षेप गर्नु सरकारी मुद्दासम्बधी ऐनको प्रावधान विपरित भएको भनिएको छ ।@kantipur

प्रतिक्रिया दिनुहोस्