Tuesday 21st of January 2020

भारतबाट नेपाल आउने चिनी कोलकोतामा थन्किएपछि चिनी आयात डिफल्डरमा पर्दै

बिराटनगर । चिनी आयात कर्ताले विराटनगर भन्सार कार्यालय रानीबाट ४० मेट्रिक टनभन्दा बढी चिनीको आयात गरिसकेर पनि अझै ठूलो परिमाणमा चिनी कोलकोता बन्दरगाहमा नै थन्किएको छ । सरकारले व्यवसायीबीचमा भएको सहमतिभन्दा अगाडि नै चिनी आयातमा भन्सार महसुल ३० प्रतिशत वृद्धि गरेपछि धमाधम चिनीको एलसी खोलेर पाकिस्तानबाट आयात गरिएको चिनी अहिले ५० हजार मेट्रिक टनभन्दा बढी कोलकोतामा थन्किएको हो । सरकार र व्यवसायीका बीचमा भएको सहमतिका आधारमा आयात भएको चिनी नेपाल नआइपुगी सरकाबाट भन्सार दरबन्दी वृद्धि गरेपछि अब उक्त चिनी के गर्ने ? भन्ने दोधारमा परेको कुरा स्रोतले बताएको छ । विराटनगरमा रहेका निजी क्षेत्रका बैंकबाट एलसी खोली पाकिस्तानबाट आयात भएको उक्त ठूलो परिमाणको चिनी कोलकोता बन्दरगाह आएपछि पार्टी पेमेन्टका लागि बैंकबाट ताकेता सुरु हुनसाथ चिनी आयातको रहस्य खुलेको हो । स्रोतका अनुसार चिनी आयात कर्ताले उक्त चिनी नेपाल ल्याउँदा आजको दिनमा ५० करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपर्ने निश्चित भएपछि अहिले चिनी आयात कर्तालाई कोलकोतासम्म आइपुगेको चिनी निल्नु न ओगल्नु भएको छ ।
चिनी आयात कर्ता एक व्यवसायीले दिएको जानकारीअनुसार चिनी मूल्यलाई आधार मान्दा चार सय ६० डलर हुन आउँछ । तर, पछिल्लो समय भारतमा नै चिनीको उत्पादन बढ्न थालेपछि अहिले प्रतिकेजी २३ रुपैयाँ (भारु) अर्थात् ३६ रुपैयाँ ८० पैसा नेपाली मूल्य हुन आउँछ । उक्त चिनीमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट जोड्दा प्रतिकेजी ४१ रुपैयाँभन्दा बढी मूल्य नपर्ने भएपछि आयात भएको ठूलो परिमाणको चिनी अहिले कोलकोता बन्दरगाहमा नै थन्किएको हो । अब एकातिर बैंकको ताकेता र अर्कोतिर चिनी कोलकोतामा डम्पिङ भएको यो अवस्थाका कारण कतै व्यवसायीदेखि बैंकसमेत डिफल्डरमा त पर्ने होइन भन्ने त्रास अहिले चिनी व्यापारीदेखि बैंकिङ क्षेत्रमा समेत परेको छ ।
पाकिस्तानमा सस्तिएको चिनी आयातमा व्यापारीको होडबाजी चलेपछि बजारमा चिनीको मागमा समस्या देखिएको छैन । हरेक आयात कर्ता व्यापारीको आफ्नो गोदामसमेत भरिएको अवस्था छ । गोदाममा चिनी भरेर बसेका आयात कर्ता र चिनी उद्योग सञ्चालन गर्ने समेतले आवश्यकभन्दा बढी नै चिनीको आयात गरिसकेको रहस्य पनि अहिले आएर खुलेको छ । तर, भारतमा एक्कासी चिनी सस्तिएपछि चिनी व्यापारीले भन्सारकै गोदाममा चिनी थन्क्याउने रणनीतिअनुसार अहिले विराटनगर भन्सारमा आयात भइसकेको चिनीले भरीभराउ बन्न पुगेको छ ।
उद्योगी व्यवसायीको नेतृत्वदायी संस्था मोरङ व्यापार संघले समेत सरकारले वृद्धि गरेको महसुलमा चिनी आयात गर्न नसक्ने अवस्था भएकोले भन्सारकै गोदाममा थन्क्याउन थालिएको अग्रिम जनाउ गरिसकेको थियो । संघले व्यवसायीलाई टाट पल्टाउने सरकारी नियम विश्वव्यापार संगठनको मर्मविपरीत भएको दाबी गर्दै चिनी आयात महसुलमा ३० प्रतिशत वृद्धि गरेपछि भन्सार बिन्दुमा सन्दर्भ मूल्य लागू गर्दै मूल्य अभिवृद्धि कर लगाउने र बिलबिजकलाई मान्यता नदिने जस्ता विषयलाई कडारुपमा विरोध गरेको थियो । आज तिनै व्यवसायीदेखि एलसी खोल्ने बंैकसमेत डिफल्डरमा पर्ने देखिएपछि अबको पाटो के हुने ? भन्ने कुराको जोड घटाउमा लागेको कुरा व्यवसायी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्