Wednesday 22nd of January 2020

विमानस्थलमा उपभोक्ता अधिकारकर्मीको नाममा यस्तो धन्दा

काठमाण्डौं  । सरकारी कार्यालयदेखि संघ/संस्थामा कार्यरत कर्मचारीहरुले शक्तिको आडमा पदको दुरुपयोग गरी व्यक्तिगत काम गरेको सामान्य लागे पनि उपभोक्ता अधिकारकर्मीद्वारा पनि पदको दुरुपयोग गरेको भेटिएको छ । उपभोक्ताहरुको हितमा काम गर्ने भन्दै विधिवत् दर्ता भएका संस्थाहरुमा कार्यरत कर्मचारी र सदस्यहरुले व्यक्तिगत काम गर्नमा प्रयोग गरेको पछिल्लोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको छ । 
आफूलाई उपभोक्ता अधिकारकर्मी तथा आपूर्ति विभागको कर्मचारी भएको भन्दै विभागबाट जारी भएको परिचयपत्र भिरेर निजी काममा एयरपोर्टमा देखा परेका थिए । रन्जन खनाल नाम गरेका उक्त व्यक्तिले नागरिक न्यायिक उपभोक्ता मञ्चको महासचिव भएको र विभागद्वारा जारी गरेको परिचयपत्र भिरेर व्यक्तिगत काम गरेको आरोप उनीमाथि लागेको छ । प्रायः खनालको परिवार नै अधिकारकर्मी भएको भन्दै व्यक्तिगत काममा खटिने गरेको समेत स्रोतको भनाइ छ । खनालकी श्रीमती विमला खनाल पनि कन्जुमर आई नेपाल नामको संस्थाकी अध्यक्ष हुन् । व्यक्तिगत फाइदाकै लागि उनीहरुको परिवार राजनैतिक दलको विभिन्न पदमा रहेका छन् । रन्जन खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (प्रकाश लोहनी)को केन्द्रीय सदस्य छन् भने खनालकी श्रीमती एमालेको प्ररायुको उपत्यका सदस्य छिन् । यसैगरी, श्रीमती विमला उपभोक्ता संरक्षण परिषद्को सदस्य रहेकी छिन् भने श्रीमान् रन्जन आपूर्ति मन्त्रालयअन्तर्गत रहेको आपूर्ति समितिको सदस्य रहेका छन् । उनीहरुले व्यक्तिगत कामका लागि पद र कार्डको दुरुपयोग गरेको अन्य संघ÷संस्थाका पदाधिकारीहरुले बताएका छन् । भ्रष्टाचारले जनआस्था गिराउँदै आएको अवस्थामा व्यक्तिगत कामका लागि समेत पदको आडमा काम सम्पन्न गर्ने काम पनि एक प्रकारको भ्रष्टचार नै भएको अर्थविद्हरुको ठहर रहेको छ । सार्वजनिक पदको दुरुपयोग गरी निजी लाभ आर्जन गर्नु भ्रष्टाचार रहेको पूर्वअर्थमन्त्री रामशरण महतले बताएका छन् । यस्ता लाभहरु रिस्वत्, नातावाद–कृपावादको माध्यमबाट प्राप्त हुने व्यक्तिगत लाभ, राज्यको सम्पत्तिको दुरुपयोग र राजस्वको विचलन आदिको रुपमा प्राप्त गरेको देखिँदै आएको छ ।
भ्रष्टाचारको आधारभूत माध्यमको रुपमा रहेको घुसको उपयोग केन्द्रीय वा स्थानीय सरकारबाट उपलब्ध हुने सेवा प्राप्त गर्नका लागि गरिन्छ । किनकि सरकारी पदाधिकारीहरुले यस्ता सेवाहरु प्रदान गर्दा घुस माग्नेदेखि व्यक्तिगत काम सम्पन्न गर्न प्रयोग हुँदै आएको छ । विश्व बैंकले घुसको प्रयोग हुने विभिन्न सरकारी क्रियाकलापहरुलाई सूचीकृत गरेको छ । त्यसमा सरकारी ठेक्कापट्टा लिने, लाभहरुको बाँडफाँटमा प्रभाव पार्ने, राजस्वको परिमाण घटाउने, लाइसेन्स प्राप्तगर्ने, निर्णय छिटो गराउने र न्यायिक निर्णयहरुमा प्रभाव पार्नेजस्ता कुराहरुमा घुसको प्रयोग गर्ने कुरा समावेश छन् । भ्रष्टाचारले विकास प्रक्रियालाई प्रतिकूल प्रभाव पार्ने र गरिब मुलुकको जीवनस्तर सुधार्नको लागि उपयोग भइरहेका आन्तरिक र बाह्यस्रोतको प्रभावकारितालाई समेत न्यून बनाउँदै लगेको अर्थविद्हरुको भनाइ छ । यसरी व्यक्तिगत कामदेखि भ्रष्टाचारको कारण स्रोत साधनको वितरणमा समेत प्रयोग हुँदै आएको छ । यस्ता गलत बाँडफाँट हुने र विकासको लागत बढ्ने मात्र नभई यसले सामाजिक मूल्य र मान्यताहरु, योग्यता र न्यायलाई समेत विकृत गराई अन्ततः गरिबमाथि सबैभन्दा ठूलो मार पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्