Sunday 17th of November 2019

नेपाली सुरक्षाकर्मी कमजोर भएरै आए ‘रेकी’ गर्न भारतीय हवाई सेना नेपालमा ?

काठमाडौं । वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाप्रति भारतीय सुरक्षाकर्मीको चासो बढेको छ। त्यसैले भारतीय वायुसेना आज नेपाल प्रवेश गरेको छ। मोदीको भ्रमणका लागि सुरक्षा अवस्था बुझ्न भारतीय वायुसेनाको विमानले जनकपुरको अवलोकन गरेको छ। मुक्तिनाथ, काठमाडौंमासमेत भारतीय सुरक्षा निकायको निगरानी छ। सोमवार भारतीय वायु सेनाको विमान जनकपुरबाट नेपाल प्रवेश गर्‍यो। सोमबार दिउसो करिब १स्१५ बजे दिल्लीबाट आएको वायुसेनाको विमान जनकपुरस्थित विमानस्थलमा अवतरण गरेको थियो।

वैशाख २८ गते बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको राजधानी पटना हुँदै जनकपुर प्रवेश गर्दैछन्। उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पाँच घेराको सुरक्षा योजनासमेत तयार गरेको छ।

उनको सुरक्षामा जनकपुरमा मात्रै ७ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका अधिकारी तथा मोदीको नजिकको घेरामा भारतीय सुरक्षाकर्मी रहने गरी पाँच घेराको सुरक्षा योजना बनेको छ।

के नेपालले मोदीको सुरक्षा दिन सक्दैन ?
भारतीय प्रधानमन्त्रीको सुरक्षा चासो बढ्दै जाँदा एउटा प्रश्न भने खडा भएको छ। के नेपाल सुरक्षित छैन ? के नेपाली सुरक्षा निकाय भारतीय प्रधानमन्त्रीको सुरक्षा दिन सक्षम छैनन् ? भारतीय वायुसेनाको विमानमा सेनाका २५ जना अधिकारीहरु जनकपुर विमानस्थलमा ओर्लिएपछि स्वभाविक रुपमा यस्तो प्रश्न उठेको हो।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता गोकुल भण्डारी नेपाली सेना सुरक्षा प्रदान गर्न सक्षम रहेको दाबी गर्छन्।

‘हामी उहाँको सुरक्षा दिन सक्षम छौं, भारतीय सेना नेपाल आउनुलाई नै लिएर हामी असुरक्षित र असक्षम छौं भन्ने होइन्,’ उनले भने, ‘राष्ट्र प्रमुखको भ्रमणका बेला अर्को देशका सुरक्षाकर्मी आउनु सामान्य हो, हामी पनि प्रधानमन्त्रीको भारत भ्रमणको बेला त्यहाँ गएका थियौँ। हामी सानो संख्यामा थियौँ, उनीहरु ठूलो र एड्भान्स रुपमा आएका छन्।’

भारतीय सुरक्षाकर्मीको यो सक्रियताले नेपाली सेनाको विश्वसनीयता माथि प्रश्न खडा भएको सुरक्षा तथा भूराजनीतिका मामिलामा जानकार गेजा शर्मा वाग्ले बताउँछन्।

प्रतिक्रिया दिनुहोस्