Monday 27th of January 2020

आचार्य श्रीनिवासको हिरासतमा निराहार रहेर अनसन शुरु

मोरङ । हिन्दुराज्य स्थापनाका लागि आफैलाई गोली हान्न लगाएर आन्दोलन गराउन असफल भएका आचार्य श्रीनिवासले हिरासतमा निराहार रहेर अनसनको सुरु गरेका हुन् ।

निराहार रहेको सन्देश फैलाएर अझ पनि उनले आफ्ना अनुयायीहरुलाई आन्दोलन चर्काउन संन्देश दिन खोजेका छन्। सोमबारदेखि आचार्य निराहार बसेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख अरुणकुमार बिसीले आचार्यलाई पक्राउ गरेर ल्याएदेखि केही नखाएर निराहार बसेको बताए। ‘उनलाई जिल्ला प्रहरी कार्यालयमा नै सलाईन पानी चढाएर राखेका छौँ,’ उनले भने, ‘उनको गोली लागेको घाउ पनि पूर्ण रुपमा निको भइसकेको छैन। ’

आचार्यप्रति आदर भाव राख्दै आएका विराटनगरका कविराज न्यौपानेले उनले गरेको कुकृत्यबाट सम्पूर्ण हिन्द धर्मावलम्बीहरुको शीर निहुरिएको बताए। ‘आचार्यले आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिका लागि गोली प्रहार गर्न लगाएर जुन हिंसा भडकाउन खोजेका थिए ,’ उनले भने, ‘आचार्यको अनशनबाट मृत्यु भएपनि अब नेपाली समाजमा त्यसको कुनै असर पर्दैन। ’

सनातन हिन्दु राष्ट्र जागरण अभियान मोरङका अध्यक्ष तिलक रिजालले आचार्यलाई गोली लागेपछि विभिन्न माग राखेर र्‍याली प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको तर घटनाले अर्कै मोड लिदा अत्यन्तै असहज महशुस भइरहेको बताए। ‘यस्ता घटनाहरु सिनेमामा हेर्ने गरेका थियौ तर आचार्यले हामीलाई सामाजिक जीवनमा नै देखाई दिए,’ उनले भने, ‘यो अत्यन्तै संवेदनशील विषय हो र यो मुर्खतापूर्ण कार्य हो।’

राप्रपाका अध्यक्ष कमल थापाले पनि ट्वीटरमा आचार्य श्रीनिवासले गरेको कार्य अत्यन्तै निन्दनीय र भत्र्सना योग्य भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्