Sunday 22nd of September 2019

बीपी राजमार्गमा हायस आतंकः दैनिक लिन्छन् ज्यान

काठमाडाैँ । साँघुरो र मोड नै मोड भएको बर्दीबास–सिन्धुली–बनेपा (बीपी) राजमार्गमा पछिल्लो समय हायस गाडीको ठक्करबाट दैनिकजसो ज्यान जान थालेको छ।

महोत्तरीको बर्दिबासदेखि काभ्रेको बनेपासम्मको झन्डै १ सय ६० किलोमिटर दुरीमा चल्ने हायस गाडीका कारण दैनिक सडक दुर्घटना हुन थालेको  छ।

शनिवार मात्र बीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका ४ हरिपानी नजिकै बा ५ ख ८४० नम्बरको हायसले बा ७२ प ४९२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक दुधौली नगरपालिका ६ हर्षाहीका अन्जीत कुँवरको घटनास्थलमै मृत्यु भयो। उनीसँगै सवार गणेश फनेत गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगियो।

त्यसको २४ घण्टा नबित्दै आइतबार कमलामाई नगरपालिका–२ को चियावारिमा हायसकै कारण अर्को दुर्घटना भयो । बा३ख ८२७० नम्बरको हायसले मे१ज २३३६ नम्बरको सुमोलाई ठक्कर दिँदा १२ जना भन्दा धेरै घाइते भए। यी त केही प्रतिनिधि घटना मात्र हुन्।

१३५ को ज्यान गयो
बीपी राजमार्ग पूर्ण रूपमा तयार भई सञ्चालन भएको तीन वर्ष नबित्दै हायसका कारण भएका सडक दुर्घटनाबाट मात्र एक सय ३५ को ज्यान गइसकेको छ । दुर्घटनामा एक सय ५५ गम्भीर र एक सय ७० सामान्य गरी कुल ३ सय २५ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार पछिल्ला दुई वर्षयता मात्र बीपी राजमार्गमा १ सय ८० सडक दुर्घटना भएका छन् । अधिकांश दुर्घटना हायस गाडीसँग सम्बन्धित छन् । यहीका सङ्ख्यामा दुर्घटना र मानवीय क्षति महोत्तरी र काभ्रे जिल्लामा समेत भएका छन्।

पूर्वको काँकडभिट्टादेखि, तराईको जनकपुर, सर्लाही, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप र दोलखा लगायतका जिल्लाबाट दैनिक आउने हायस गाडीको अत्यधिक गतिका कारण बीपी राजमार्गमा दैनिक दुर्घटना हुने गरेको प्रहरीकै तथ्याङ्ले प्रस्ट बताउँछ ।

प्रतिक्रिया दिनुहोस्