Tuesday 18th of February 2020

नेकपाका अध्यक्षको धुम्वाराही कार्यालयमा एउटै टेवल

काठमाडौं । बिहीवार गठन भएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार धुम्बाराहीमा साथै लिएर गएका थिए ।

२०७२ सालको भूकम्पपछि नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा दाहाल पहिलो पटक पुगेका हुन्। दाहाल पुग्नुअघि नै नेकपा एमाले केन्द्रीय कार्यालय लेखिएको बोर्ड परिवर्तन गरिएको थियो।

दाहाललाई पार्टी महासचिव विष्णु पौडेलले पुष्पगुच्छा दिएर स्वागत गरेका थिए । नेकपा नेता एवम् तत्कालीन एमालेको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहाल र ओलीलाई कार्यालयका कोठा देखाए।

प्रधानमन्त्री ओलीले दाहाललाई आफ्नो कार्यकक्ष पुर्‍याए। सँगै गएका कृष्णगोपाल श्रेष्ठले आगन्तुकका लागि राखिएको कुर्सी उचाले। अनि टेबलसँगै मिलाए।

दाहाल र ओलीले एउटै टेबलमा दुई कुर्सी राखेर अध्यक्षता गरेका हुन । नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले धुम्बाराहीमा दाहाललाई स्वागत गरेका थिए। वामदेव गौतमले ‘स्वागत छ करमरेड’ भन्दा दाहाल मुस्कुराए।

तत्कालीन नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको कार्यालय प्रयोग गर्दै आएको थियो। धुम्बाराहीमा रहेको तत्कालिन एमालेको वा पेरिसडाँडामा रहेको तत्कालिन नेकपा माओवादीको मध्ये कुनलाई पार्टी कार्यालयका प्रयोग गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन।

निर्णय गर्नु अघि दुवै अध्यक्ष र केन्द्रीय कार्यालयका सदस्यहरुले कार्यालय भ्रमण गरेका हुन्। नेकपामा नेता कृष्ण गोपाल श्रेष्ठका अनुसार नेताहरुले कार्यालयको भौतिक अवस्थाबारे सोधपुछ गरेका थिए।

‘लेटरप्याड, छाप र साइनबोर्ड लगायतका व्यवस्थापनका लागि कार्यालयको ठाउँ कहाँ लेख्ने भन्ने टुङ्गो लागउनुपर्ने भएकाले छिट्टै पार्टी कार्यालय तोक्ने विषयमा उहाँहरु सहमत हुनुहुन्छ’, श्रेष्ठले भने, ‘उहाँहरुले भौतिक अवस्था बुझ्नुभयो।’

प्रतिक्रिया दिनुहोस्