Thursday 20th of February 2020

द्रुतमार्ग निर्माण : सुरुङ लम्बिने, पुल संख्या घट्ने !

काठमाडौँ । सेनाले काठमाडौं–निजगढ द्रुतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने विषयमा अध्ययन थालेको छ । सातदोबाटोबाट हेटौंडा जोड्ने कान्ति राजपथसँग केही स्थानमा जुध्ने भएपछि सेनाले त्यसलाई असर नपर्ने र कुल लम्बाइ पनि घट्ने गरी सडक विभागसँगको समन्वयमा तीन किलोमिटरभन्दा बढी सुरुङमार्ग बनाउने योजना बनाएको हो ।

यसअघि करिब एक दशमलव ५ किमि मात्र सुरुङ बनाउने योजना थियो।

यद्यपि सुरुङमार्ग र अग्ला पुल कति बन्ने भन्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै टुंगो लाग्नेछ। डीपीआर तयार पारेर ठेक्का दिने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ। डीपीआर तयार पार्न एक नेपालीसहित १७ कम्पनीले चासो देखाएका छन्। सेनाले भारतीय कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिद गर्न खोजे पनि त्यसले अधिक रकम माग गरेपछि नयाँ प्रक्रिया सुरु भएको परियोजना प्रमुख उपरथी योगेन्द्र खाँणले जानकारी दिए।

२७ मिटर चौडा रहने दु्रतमार्गको सुरुङ पनि त्यही बराबर हुने दाबी सैनिक अधिकारीले गरेका छन्। कटानमा समस्या पर्ने केही स्थानमा सुरुङभित्र सडक २७ मिटरभन्दा कम चौडा पनि हुन सक्ने सेनाले जनाएको छ। अहिले निर्माण सुरु भइसकेको ५४ किलोमिटर खण्डमा २७ मिटरकै आधारमा काम अघि बढेको छ। सुरुङमार्ग बढदा अग्ला ६ वटा पुल (करिब एक मिलोमिटर जति) घट्ने बताइएको छ। खर्चमा खासै असर नपर्ने भएकाले सुरुङमा जोड दिइएको सैनिक अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्