Tuesday 21st of January 2020

मलेसियावाला सिण्डिकेट व्यवसायी भटाभट पक्राउ

काठमाडौं  । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङमा सिण्डिकेट गर्ने वैदेशिक रोजगार व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

केही व्यवसायीलाई प्रहरीले हिरासतमा राखे पनि केहीलाई राजनीतिक दवावमा छाडेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई सिण्डिकेट लागू गरेर दुःख दिएको भन्दै त्यस्ता व्यवसायीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए ।

मन्त्री विष्टको आदेशसँगै प्रहरीले विगत लामो समयदेखि अवैधानिक रुपमा ‘जिएसजी’ सञ्चालन गर्दै आएका पूर्व डिएसपी गोविन्द थपलियालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो । तर, थपलियाले राजनीतिक पावर लगाएर सोमबार हाजिर हुने सर्तमा उन्मुक्ति पाएका छन् ।

नेपाल प्रहरीमा हुँदा भ्रष्टाचार अभियोगमा थपलियालाई ९ महिना निलम्बन गरिएको थियो । त्यसपछि उनले लामो संघर्षपछि अदालतबाट सफाइ पाएका थिए । सफाइसँगै जागिर छाडेका थपलियाले मलेसियाका लागि वैदेशिक रोजगारीको व्यवसाय सुरु गरेका हुन् । सिण्डिकेट लागू गरेको भन्दै थपलियाविरुद्ध श्रममन्त्री विष्टले एक्सन लिएका हुन् ।

त्यसैगरी प्रहरीले वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठलाई गैरीधाराबाट पक्राउ गरेको छ । श्रेष्ठको ओएससी नामक कार्यालयले मलेसिया जाने कामदारको राहदानी संकलन गर्नेगर्छ । यो काम गरिदिएबापत यो कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ तिर्नुपर्छ । राहदानी दूतावाससम्म पु¥याउन भीएलएनले अर्को ३ हजार ६ सय १६ उठाउँछ ।

दुइटा फरक कम्पनी भए पनि ओएससी र छोटकरीमा भीएलएन भनिने मलेसिया भीएलएन नेपाल प्राइभेट लिमिटेड उही व्यक्तिका हुन् । श्रेष्ठाको राजनीतिक पहुँच नपुगेपछि उनलाई हिरासतमा राखिएको छ ।

मलेसियाद्वारा श्रमिकलाई आर्थिक भार थोपर्ने गरी वभिन्न बाहनामा रकम असुल्न खडा गरेको ५ वटा कम्पनीले लिने शुल्कलाई सरकारले खारेज गरेको थियो । भिसा लगाउने प्रक्रियाका लागि मलेसियाले नेपाल सरकारसँग सहमति नलिई जबर्जस्ती ५ कम्पनीमार्फत शुल्क उठाउँदै आएको छ । प्रति कामदार १८ हजार ८ सय रुपैयाँ खर्च हुन्छ ।

त्यसैगरी, सबैभन्दै धेरै विवादित स्वास्थ्य परीक्षण गर्ने वायोमेट्रिकमा पनि प्रहरीले छापामारेको छ । यद्यपि त्यसका सञ्चालक कैलाश खड्का फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्