Tuesday 25th of February 2020

ट्राभल्स एण्ड टुर्सको ब्यानरमा अवैध हुण्डीको कारोबार

बिराटनगर । पछिल्लो समय हुण्डीको कारोबारमा संलग्न व्यवसायीले पेसालाई परिवर्तन गरी हुण्डीको कारोबारलाई व्यापक बनाउन थालेका छन् । गत आर्थिक वर्षको असोज महिनातिर मोरङ प्रहरीले सरकारबाट अवैध भनी प्रतिबन्ध लगाइएको हुण्डी व्यापार फस्टाउँदै गएपछि छापा मारी हुण्डी व्यवसायीलाई नै पक्राउ गरेको थियो । अहिले पनि ती हुण्डीका कारोबारी पूर्वपक्षका लागि भन्दै अदालतको आदेशमा कारागारमै रहेका छन् । बाँकी हुण्डी कारोबारीले पेसालाई परिवर्तन गरेको बहानामा अवैध कारोबारलाई निरन्तरता दिएको कुरा जानकारहरुले बताएका छन् ।

विराटनगर बजारको मुख्य बजारमा रहेको हिमालय रोडमा सञ्चालित महेस ट्राभल्स एण्ड टुर्सको ब्यानरमा लामो समयदेखि अवैध हुण्डी कारोबार गर्ने हुण्डी व्यापारी प्रमोद राठी कारोबारीको अग्र पङ्क्तिमा रहेको कुरा समाचारस्रोतले बताएका छन् । राठीले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट महेस ट्राभल्स एण्ड टुर्सका नाममा ६०१३२१३३७ नम्बरको पान दर्तासमेत गराएको कुरा जानकाहरुले बताएका छन् । केही महिनाअगाडि मात्र मोरङ प्रहरीले छापा मारी हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको थियो । त्यसको केही महिनापछि नै फेरि कारोबारीहरुले आफ्नो धन्दालाई निरन्तरता दिएका हुन् । पछिल्लो समय हुण्डीका कारोबारी राठीले २० देखि २५ प्रतिशत ब्याजमा अन्य व्यापारीलाई लगानी गर्ने र महेश ट्राभल्स एण्ड टुर्सको ब्यानरमा भारतीय रेल्वेदेखि हवाई टिकटको समेत कारोबार गर्ने नाममा अवैध हुण्डीको कारोबार सञ्चालन गरेको दाबी समाचार स्रोतहरुले गरेका छन् । स्रोतका अनुसार भारतको दिल्लीमा हुण्डी गरेबापत नौ रुपैयाँको फरकमा बढी पैसा लिएर हुण्डीको कारोबार गर्ने गरेको रहस्य हुण्डी कारोबारी पक्राउसँगै खुल्न पुगेको थियो ।
हुण्डी कारोबारीले भारतीय बजार जोगबनीको व्यापारीलाई साथ लिएर विराटनगरमा हुण्डीको सञ्जाल नै चलाएको दाबी पनि सूत्रले गरेको छ । यस बेला विराटनगरबाट हुण्डीका कारोबारीले तेस्रो मुलुक मलेसिया, दुबई, सिंगापुर र चीनका लागि आइएमई प्रयोग गरी हुण्डीको कारोबारलाई निरन्तरता दिएको कुरा बताइन्छ । अहिले प्रहरीको निगरानीबाट बच्नका लागि हुण्डीका कारोबारीले भारतीय मोबाइल र सिमको अत्यधिक प्रयोग गर्ने गरेको रहस्य पनि स्रोतहरुले खोलेका छन् । कारोबारीले भारतीय नम्बरबाट भाइवर वा ह्वाटसेफ प्रयोग गरी हुण्डीको कारोबारलाई निरन्तरता दिएको दाबी पनि समाचारस्रोतले गरेको छ ।
विराटनगरबाट अवैध हुण्डी व्यापारी राठीले सीमावर्ती भारतीय बजार जोगबनी र फारबीसगञ्ज हुँदै पूर्णियासम्मका लागि सम्पर्क व्यापारी खडा गरेर अवैध हुण्डी व्यापारलाई अहिले पनि निर्वाधरुपले सञ्चालन गर्ने गरेको स्रोतले जानकारी दिएको छ । उनले भारतीय बजार सिलीगुडीदेखि कलकत्ता, वनारस, दिल्ली, मद्रास र पटनाका लागि विशेष गरेर हुण्डीको कारोबार गर्ने गरेको रहस्य पनि खुलेको छ ।
अमृत लक्ष्मी मनिचेन्जरका सञ्चालकसमेत रहेका प्रमोद राठीले विराटनगर (साविक वडा १२) हाल वडा १३ मा रहेको मनिचेन्जरमा देखाउन भारु मोरुको कारोबारसमेत महेश ट्राभल्सबाट नै गर्ने गरेका छन् । मनिचेन्जरसमेतको बोर्ड राखेर राठीले अवैद्य हुण्डीको करोबार सञ्चालन गरेको विषय अहिले महेश ट्राभल्समा पुगेपछि सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्