Sunday 29th of March 2020

बैंक कर्मचारी बलात्कार आरोपमा पक्राउ

धनुषा । एक बालिका बलात्कार गरेको आरोपमा प्रहरीले नेपाल राष्ट्र बैंक जनकपुर शाखामा कार्यरत मेकानिक विजयकुमार न्यौपनेलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका– २४ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बैंकका न्यौपाने पक्राउ परेका हुन् ।

उनलाई सहयोग गरेको आरोपमा ३७ वर्षीया सुनीतादेवी साहलाई पनि नियन्त्रणमा लिइएको छ ।

उपमहानगरपालिका–३ घर भएका ४७ वर्षीय न्यौपानेले बालिकालाई घरमा बोलाएर विभिन्न प्रलोभन दिई बलात्कार गरेको आरोप छ । सुनीतादेवीले जेठ ७ गते बालिकालाई घरमा बोलाएपछि न्यौपानेले बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते उजुरी गरेका थिए ।

पीडितको उजुरीका आधारमा स्थानीय महिला र नेपाल राष्ट्र बैंकका कर्मचारीलाई पक्राउ गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यौपानेले बलात्कार गरेपछि कसैलाई घटनाबारे जानकारी नगराउन भन्दै २ हजार रुपैयाँ बालिकालाई दिएको पनि खुलेको छ । पीडित बालिकाले घटनाबारे परिवारलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्