Wednesday 16th of October 2019

यस्तो छ नक्कली सुन, सक्कली लुटेरा

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले लुटिएको नक्कली सुनसहित लुटेराहरुलाई पक्राउ गरेको छ । प्रहरीले १ किलो सुन लुटिएको सूचनाका आधारमा खोजी गर्दा पक्राउ परेका लुटेरहरुसँग बरामद भएको सुन जाँचको क्रममा नक्कली भएको पत्ता लागेको हो ।

प्रहरी परिसर काठमाडौंले जेठ १० गते बा २ ज १९२३ नम्बरको ट्याक्सी चालकले दिएको सुन लुटपाटको सूचनामा अनुशन्धान गर्दै जाँदा नक्कली सुनसहित लुटेरहरु पक्राउ परेका हुन्। गोगंबुबाट पोखरा जान लागेका यात्रु ओमनाथ देवकोटाको साथबाट दुई वटा मोटरसाइकलमा आएका तीनजना केटाहरुले एक किलो सुन लुटेको खबर ट्याक्सी चालकले प्रहरीलाई दिएका थिए।

त्यही सूचनाका आधारमा प्रहरीले गोगंबु बस्ने कुमार केसीले सोनाम भन्ने नेमजुङ्ग तामाङसँग एक किलो सुन खरिद गर्ने सहमति गरेको तथ्य पत्तो पायो। उनीहरुबिच सुन बिक्री वापत तत्काल दस लाख दिने र बाँकी रकम बिक्री पश्चात दिने सहमति भएको थियो।

कामको सिलसिलामा पोखरा रहेका कुमारले सुन किन्न ९ लाख ५० हजार रुपैयाँ ग्लोबल आईएमई बैंकमा आफ्ना साथी ओमनाथ देवकाटाले पाउने गरी डिपोजिट गरिदिएका थिए। कुमारले भने अनुसार ओमनाथले सो रकमले सुन किनेर पोखरा फर्किंदै गर्दा सुन लुटिएको तथ्य थाहा पाएसँगै प्रहरी सुन लुटेराको खोजीमा लागेको थियो।

अनुशन्धानमा सुन बेच्नका लागि देव भन्ने कोतबहादुर तामाङले सुन ग्राहक खोजेर सोनामलाई भेटाइदिएको र सुनको किनबेच भएपछि उनी आफैंले उक्त सुन लुट्ने योजना बनाएको देखिएको छ। सुन किनेर पोखरा लिएर जाने बेलामा लुटने योजना अनुसार नै देवले आफ्ना साथी नविन गुरुङलाई खबर गरेको र नबिनले पनि आफूहरुलाई सघाउन अर्का सहयोगी निमा लामालाई भनेको र उनले पुनः राजिबकुमार बोलोन, अर्जुन तामाङ र बानसन श्रेष्ठलाई खबर गरेपछि सुन लुटने योजना तय भएको देखिएको छ।

योजना अनुसार बा ७४ प २७१९ नम्बरको मोटरसाइकल र बा६६प ३१५६ नम्बरको स्कुटर र एक स्कार्पियो गाडीमा सुन लिएर जाँदै गरेको देवकोटाको ट्याक्सी पछ्याउँदै दहचोकमा ट्याक्सी रोकेर ओमनाथलाई कुटपिट गरी सुन लुटेको देखिएको प्रहरीले बताएको छ।

लुटेरा समूहलाई पक्राउ गरेपछि र निमाको साथबाट सुन बरामद भएको र सोको परिक्षण गर्दा नक्कली सुन किनबेच र लुटपाट भएको तथ्य प्रहरीले चाल पाएको हो।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलले नक्कली सुन भन्ने कुरा अनुसन्धानको अन्तिममा मात्रै पत्ता लागेको बताए। एसएसपी पोख्रेलले यो घटना सार्वजनिक भएसँगै नक्कली सुनलाई सक्कली भनेर अवैध कारोबार गर्नेको समूह नै राजधानीमा सक्रिय रहेको देखिएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्