Sunday 29th of March 2020

मुग्लिङ–नारायणघाट सडक आयोजनाका ठेकेदारलाई पक्राउ गर्ने तयारी

चितवन। मुग्लिङ–नारायणघाट सडक आयोजनाका दुई ठेकेदारलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापाको जिल्लामा पर्ने तथा देशकै लाइफलाइनको रुपमा रहेको उक्त सडकखण्ड विस्तारमा ठेकेदारले लापरबाही गरेका कारण सरकार कडा रुपमा प्रस्तुत हुने भएको हो ।

उक्त आयोजनाको ठेक्का नं. १ र ३ मा सन्तोषजनक काम नभएपछि बिहीबार साँझ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठेकेदारका प्रतिनिधि र आयोजना प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाई १२ दिनभित्र कालोपत्रेको काम पूरा नगरे पक्राउ गर्ने जानकारी दिएका छन् । उनीहरुलाई सार्वजनिक सडक र यातायात अवरोध गरेको अभियोगमा पक्राउ गर्न लागिएको जानकारी प्रजिअ बस्नेतले गराएका हुन् । १ नं. ठेक्काको काम नारायणघाटबाट सुरु हुन्छ भने ३ नं. को काम मुग्लिङबाट सुरु हुन्छ ।

१ नं. मा अहिलेसम्म तेस्रो लेयरको कालोपत्रे हाल्न भर्खर मात्र सुरु गरिएको छ भने ३ नं.को चेपाङ डाँडामा कटिङको काम अझै बाँकी छ । बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म सार्वजनिक यातायात नै रोकेर ठेकेदारलाई काम गर्ने अवसर दिइए पनि पर्याप्त जनशक्ति परिचालन नगर्दा काम सन्तोषजनक हुनसकेको छैन । देशकै लाइफलाइनको रुपमा रहेको उक्त सडकखण्ड विस्तारको काम तोकिएको मिति भन्दा झण्डै एक वर्ष ढिला भइसकेको छ । काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गरेर कारबाही गर्ने अभिव्यक्ति दिएका गृहमन्त्री  रामबहादुर थापाको गृहजिल्लामा पर्ने उक्त सडकविस्तार पूरा नभएको कारण जिल्ला प्रशासनले कडा रुपमा कारबाहीको तयारी गरेको हो ।

प्रशासनले कडाइ नगरेको कारण उक्त सडकखण्डमा काम नभएको जनगुनासो बढेपछि कारबाहीको तयारी अघि बढेको हो । उक्त सडकखण्ड विस्तार गर्न १ नं. मा पीएलए/श्रेष्ठ कन्स्ट्रक्सन जेभी र ३ नं. मा सुप्रिम/रौताहा जेभीले ठेक्का पाएको छ । उक्त सडकखण्ड विस्तार गर्न ठेक्का नं. १ को यही मे १०, २ को मे २० र ३ को मे ३० तारिखमा म्याद सकिएको छ । ठेक्का नं. २ ले भने झण्डै ९८ प्रतिशत काम सम्पन्न गरिसकेको छ । यसको सडक मार्किङ, ट्राफिक चिह्न बोर्ड र छेउमा स्टिलको बार लगाउन बाँकी छ ।

बिहीबार भएको बैठकमा चितवनका एसपीले ठेकेदारहरुलाई माथिबाट पक्राउ गर्न आदेश आइसकेको ठेकेदारलाई जानकारी गराएका थिए भने ट्राफिक प्रमुखहरुले पनिअब यातायात नरोक्ने जानकारी दिएका थिए । यातायात पनि नरोकिने र तत्काल काम नसके पक्राउ पनि परिने भएकाले कामचोर ठेकेदारलाई ठूलो दबाब परेको छ । तर आयोजना प्रमुख रोहितकुमार बिसुरालले भने यो महिनासम्म सार्वजनिक यातायात १०–४ बजेसम्म बन्द गराएर ठेकेदारलाई काम गर्न अन्तिम अवसर दिनुपर्ने धारणा राखेका थिए । आयोजना प्रमुखले ठेकेदारसँगको बैठकमा पटक–पटक समयमा काम नसके पक्राउ गर्न आफूले नै प्रशासनलाई भन्नुको विकल्प नरहेको समेत जानकारी दिएका छन् ।

उक्त सडकखण्ड विस्तारका तीनवटै ठेक्काको म्याद भने थप भएको छैन । ठेकेदार कम्पनीले म्यादथपका लागि लबिङ गरिरहे पनि आयोजना भने म्यादथपको विपक्षमा छ । ठेकेदारहरु वर्षात्अगाडि म्यादथप गराउन पाए वर्षात्लाई नै कारण बनाएर ठेक्का अवधि लम्ब्याउन सकिने भएकाले लबिङमा जुटेका छन् । वर्षात् सुरु भएसँगै म्यादथप भएको अवस्थामा सडकमा छिटफुट झर्ने पहिरो र पानीले काममा अवरोध पु-याएको भनी ठेकेदारहरुलाई ठेक्काको समयावधि लम्ब्याउन सहज हुने भएकाले पनि उनीहरु म्यादथपका लागि प्रयास गरिरहेका हुन् । यसैबीच ठेकेदारहरुले पक्राउबाट बच्न कालोपत्रको काम पूरा गर्नैपर्ने संकेत प्रशासनले गरेको छ । कालोपत्रे गरेपछि नालीलगायतको काम विस्तारै गरे पनि छुट दिने संकेत प्रशासनले दिएको हो ।

पहिरो रोक्न आधुनिक जाली :- यता सडक आयोजनाले पहिरोको जोखिम भएका विभिन्न १० ठाउँमा आधुनिक प्रविधिको पहिरो रोकथाम कार्यक्रम सुरु गरेको छ । उक्त काम सन्तोषजनक रुपमा अगाडि बढेको पाइएको छ । जसमध्ये पहिलो चरणमा चारवटा पहिरोको उच्च जोखिम भएको र ढुंगा झरिरहने ठाउँमा जालीद्वारा ढुंगा रोक्ने काम सुरु गरिएको छ । सडक विस्तार गरेपछि पहाडको भाग अग्लो भएर पहिरोको जोखिम बढेको हो । जाली राख्नको लागि पहाडमा दुई मिटर गहिरो होल खनेर त्यसमा नट राखी जाली बान्ने काम गरिँदै छ । कुनै कुनै ठाउँको चट्टानमा आठ मिटर र छ मिटर लामो नट कसेर पहाडलाई टाइट गर्ने काम भएको छ । उक्त काम सडकको विस्तारको प्याकेजभन्दा भिन्नै हो ।

प्रतिक्रिया दिनुहोस्