Saturday 22nd of February 2020

अमेरिकन सहयोगमा क्रिश्चियनको प्रचार–प्रसार: आइएनजिओहरूको डरलाग्दो बदमासी

काठमाडौं । नेपालमा अमेरिकनहरूले कतिसम्म बद्मासी गर्छन् भन्ने कुराको उदाहरण फेला परेको छ । एनजिओ र आइएनजिओको नाममा नेपालमा विकास गर्ने भनेर आएका अमेरिकन संस्थाहरूले करोडौँ रकम भ्रष्टाचार गरेर बेपत्ता हुने गरेको खुलासा भएको छ ।

अमेरिकन सहयोग नियोग (युएसएआईडी) अन्तर्गत सञ्चालन भएका आइएनजिओहरूमा करोडौँ रुपियाँ बराबरको अनियमिता भएको प्रमाण फेला परेको छ । ती संस्थाहरूमा अत्याधिक भ्रष्टाचार भएपछि बद्नाम हुने डरले नेपालस्थित अमेरिकन दूतावासको दवावमा युएसएआइडीले कारबाहीको नाटक पनि गरेको तथ्य फेला परेको छ ।

एनजिओ र आइएनजिओको लेखा परीक्षण हुने व्यवस्था नभएकै कारण गरिव नेपाल जनताका लागि आएको पैसा कसरी र केमा खर्च भएको भन्ने तथ्याङ्क एवम् प्रमाणहरू सीमित अमेरिकनहरूलाई बाहेक कसैलाई थाहै हुँदैन । एनजिओ र आइएनजिओहरूमा व्यापक भ्रष्टाचार भएपछि लेखापरीक्षण गर्न माग उठेको छ । महालेखा परीक्षणको कार्यालयले पनि प्रत्येक वर्ष एनजिओ र आइएनजिओको रकमलाई लिएर कहाली लाग्ने भ्रष्टाचारको रिपोर्ट दिँदै आएको छ ।

क्रिश्चियनको पक्षमा प्रचार–प्रसार गर्दै आएको अमेरिकन आइएनजिओ रिसर्च ट्रेङगल इन्स्च्युट (आरटिआई)ले काम नै नगरेर भ्रष्टाचार गरेपछि एक करोड १० लाख (एक लाख डलर) नेपाल रुपियाँ जरिवाना तिर्नुपरेको छ । यो संस्थाले हिन्दू धर्मसँग सम्बन्धित चाढपर्वमा कर्मचारीलाई विदा दिँदैन । तर, क्रिश्यिनसँग सम्बन्धित चाढपर्वमा भने लामो विदा दिने गरेको छ ।

आरटिआईले संघीय प्रदेश र स्थानीय निकायमा स्वास्थ्य सहितका क्षेत्रमा काम गर्ने भनेर नेपाली रुपियाँ झण्ड साढे तीन करोड बराबरको कार्यक्रम युएसएआइडीसँग लिएको थियो । तर, समय सकिन छ महिना अगाडि नै आरटिआइले काम नगरेर कार्यक्रम बन्द गरेको छ । संस्थामा आएको पैसा विभिन्न सामान खरिद गरेको भनेर फर्जी बिल भरपाइ बनाएर झ्वाम पारेको स्रोतले जनाएको छ । आरटिआइका ठूला कर्मचारीहरूले संस्थाभित्रको सूचना बाहिर नलैजान कर्मचारीलाई पटक–पटक चेतावनी दिँदै आएका छन् ।

सबैतिरबाट आलोचना भएपछि बाध्य भएर युएसएआइडीले आरटिआइलाई एक लाख अमेरिकन डलार अर्थात एक करोड १० लाख जरिवाना तिराएका हो । बद्नाम हुने भएपछि महाराजगञ्जस्थित अमेरिकन राजदूतावासले विशेष भूमिका खेलेको थियो ।

आरटिआइका डेपुटी अफ चिफ दामोदर अधिकारीले करोडौँ रुपियाँ भ्रष्टाचार गरेको भन्दै कार्यालयभित्रै आलोचना हुने गरेको छ । तर, जागिर जाने डरले कर्मचारीहरूले मुख खोल्न सकेका छैनन् । दामोदर अधिकारीले आइएनजिओको नियम विपरित आफ्ना छोरा विवेक अधिकारीलाई मोनिटिरिङ एण्ड इभ्यालुएसन स्पेसालिस्ट पदमा नियुक्त गरेका छन् । कानूनी व्यवस्थाअनुसार एनजिओ–आइएनजिओमा आफन्त र नजिकका व्यक्तिलाई जागिर लगाउन पाइँदैन ।

आरटिआइएका एक कर्मचारीले भन्छन्, ‘गरिव नेपाली जनताको नाममा विदेशी पैसा आउँछ । तर, जनताको पक्षमा कुनै पनि काम हुँदैन । अमेरिकनहरू नै महँगो तलव खाने गरेर आफै आउँछन् । सबै पैसा अमेरिका नै फिर्ता लिएर जान्छन् ।’

अमेरिकन सहयोग संस्था युएसएआइडीद्वारा सञ्चालित अधिकांस संस्थामा काम गर्ने अमेरिकनले दुई करोडभन्दा धेरै नेपाली रुपियाँ तलव खान्छन् । उनीहरूले काम नै नगरेर विलासिताका गाडी खरिद गर्नुदेखि रात्रिकालीन भोजभतेरसम्म नेपाल जनताको नाममा आएको रकमबाट खर्च गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्