Friday 21st of February 2020

स्वेता खड्काको घर धरौटीमा

काठमाडौं । आफ्नो अगुवाईमा इन्द्रावती नदी किनारको साँगाचोक झ्याडी गाउँमा बनिरहेको एकीकृत नमूना माझी बस्ती निर्माणमा रकम अभाव भएपछि नायिका स्वेता खड्काले व्यक्तिगत सम्पति धितो राखेर लगानी जुटाएकी छिन् ।अभियन्ता खड्काले स्थापना गरेको स्वेताश्री फाउन्डेसनको अगुवाइमा अविरल बहिरहने इन्द्रावती नदी किनारको यो गाउँमा एक वर्षदेखि ५३ घरधुरीसहितको एकीकृत नमूना बस्ती बनिरहेको छ । एकीकृत नमूना माझी बस्ती विकास परियोजनाका नाममा सार्वजनिक निजी साझेदारी ९पिपिपि० मोडेलमा निर्माणाधीन परियोजनामा रकम अभाव भएपछि सहकारी संस्थाबाट ऋण निकालेर लगानी गरेको उनले बताइन् ।

‘काठमाडौँको बागबजारमा रहेको घर सहकारीमा धितो राखेर जुटाएको २० लाख रुपैयाँ बस्ती विकासमा लगाएको छु । त्यस बापत सहकारीलाई मासिक व्याज मात्र २२ प्रतिशत तिरिरहेको छु,’ परियोजनाबारे सरोकारवालालाई जानकारी दिन शुक्रबार सदरमुकाममा आयोजित अन्तक्र्रियामा फाउन्डेसनकी अध्यक्ष रहेकी खड्काले भनिन् ।सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाई भएको र कानुनी जटिलताले बैंकबाट भूकम्प पीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम रोक्न नदिन निजी सम्पत्ति धितो राखेर लगानी जुटाउनु परेको गुनासो उनले गरिन् ।

पीडितले अनुदानको ३ लाखमा बैंकबाट ४ लाख ऋण थपेर ७ लाख रुपैयाँ जुटाउने र बस्तीको सम्पूर्ण भौतिक पूर्वाधार विकासमा फाउन्डेसनले सघाउने गरी खड्काले गत वर्षको जेठमा परियोजना शिलान्यास गरेकी थिइन् ।फाउन्डेशनका अनुसार १९ रोपनी क्षेत्रफल जमिनमा निर्माण भइरहेको बस्तीमा तीन घर सम्पन्न भइसकेका छन् भने गारो लगाइसकिएका २२ घर निर्माण अन्तिम चरणमा पुगेका छन् । १० घरको भुईँ तलाको संरचना ९डिपिसी० तयार हुँदा अरु सात घरको जग खन्ने काम भइरहेको छ । बाँकी १३ घरको जग खन्ने काम सुरु हुन सकेको छैन ।

‘निर्माण सामग्री, कामदार अभाव लगायत धेरै कारण बस्ती निर्माणमा ढिलाई भइरहेको छ,’ अभियन्ता खड्काले भनिन्, ‘मुख्य त लगानी अभावमै कामलाई तीव्रता दिन सकिएको छैन ।’ गत वर्षको दशैँमै स्थानीयलाई बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएको फाउन्डेसनले उक्त समयभित्र नसकेपछि यो जेठको भाका बनाएको थियो । सबैको सहयोग पाए आउने साउन पहिलो साताभित्र स्थानीयलाई ‘गृह प्रवेश’ गराउन सकिने गरी काम भइरहेको नायिका खड्काले जानकारी दिइन्।

फाउन्डेशनकै अगुवाइमा निजी क्षेत्रको लक्ष्मी बैंक पीडितलाई सहुलियत ब्याजमा ४ लाखका दरले ऋण उपलब्ध गराउन तयार छ । आवास बन्ने एकीकृत बस्तीको जग्गा कित्ताकाट नहुँदा उक्त ऋण पीडितले लिन नसकेको फाउन्डेशनका सचिव तथा परियोजना संयोजक यज्ञराज कार्कीले बताए । ‘बैंकले धितोमा जग्गा खोजेको छ । कित्ताकाट हुन नसक्दा धितो जुटाउन सकिएन,’ उनले भने ।फाउन्डेसनका अनुसार सबै पीडितले पहिलो किस्ताको ५० हजार पाइसकेका छन् । बल्ल ३१ परिवारले दोस्रो किस्ता हात पारेका छन् । तेस्रो किस्ता १ लाख रुपैयाँका लागि प्रक्रिया नै सुरु भएको छैन ।

तेस्रो किस्ता लिन अनिवार्य शौचालय निर्माण वा सोलार बत्ती जडान गर्नु पर्ने व्यवस्था छ । तत्कालै सहज रुपमा पीडितले यो किस्ता पाउने देखिँदैन ।‘अनुदान वितरणमा बिलम्ब हुँदा र ऋण पाउन सहज नदेखिँदा काम नरोकियोस् भनेर नायिका खड्काले आफ्नो घर नै धितोमा राख्नु पर्‍यो,’ परियोजना संयोजक कार्कीले स्पष्ट पारे । लामो र झञ्झटिलो सरकारी प्रक्रियाकै कारण समयमै पीडितले अनुदान नपाउँदा बस्ती निर्माण धकेलिँदै गएको उनले दुःखेसो पोखे । उनका अनुसार हालसम्म १४ परिवारको घँडेरी मात्र कित्ताकाट भएको छ ।

पीडितले आवास निर्माणको लागि ३ लाख सरकारी अनुदान र ४ लाख बैंक ऋण गरी ३ करोड ७१ लाख जुटाउने र समग्र भौतिक संरचना निर्माणमा फाउन्डेशनले २ करोड ९ लाख रुपैयाँ सहयोग गर्ने गरी एकीकृत बस्ती विकासको काम थालिएको थियो । भौतिक संरचना निर्माणका लागि धेरै सहयोग जुटिसके पनि रकम अभावमा पहिला पीडितकै घर ठड्याउन नसकेको फाउन्डेशनको गुनासो छ । ‘निर्माणलाई रोक्न नदिन पछि पीडितको अनुदानबाट शोधभर्ना गर्ने गरी भौतिक पूर्वाधार विकासका लागि संकलित सहयोग परिचालन गरिरहेका छौँ,’ कार्कीले भने ।

प्रस्तावित एकीकृत बस्तीका घर तीन रोपनी जग्गामा बनिरहेका छन् । ‘इन्टर लक’ इँटा प्रयोग गरी आरसीसी पिलर जडित घर तीन कोठे छन् । रंगिन जस्ताले छाइने घरमा एकै रंगरोगनको साजसज्जाद्वारा एक रुपता ल्याइने फाउन्डेशनले जनाएको छ । एक घर अनिवार्य एक जनशक्ति निस्किएर सिंगो माझी गाउँ बस्ती ठड्याउन तल्लिन छ ।गाउँका युवा सम्मिलित झ्याडी टोल सुधार समितिले स्थानीय स्तरमा बस्ती निर्माणको नेतृत्व लिइरहेको छ ।

फाउन्डेशनले भौतिक पूर्वाधार विकास अन्तर्गत बस्तीसम्म पुग्ने सडक, खुला रंगमञ्च, बाल बगैँचा, पानीको फोहोरा, सामुदायिक भवन, चौतारी, मन्दिर, ढल, नाला, साझा सेफ्टी ट्यांकी, व्यक्तिगत र सार्वजनिक खानेपानी धारा, शौचालय, विद्युत व्यवस्थापन लगायतमा सघाउने प्रस्ताव छ । ‘माझी बस्तीलाई होमस्टे गाउँ बनाउँछौँ । गाउँका युवा र महिलालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगार अवसर सिर्जना गर्ने वातावरण बनाउँदै छौँ,’ परियोजनाकी अभियन्ता नायिका खड्काले भनिन् ।

प्रतिक्रिया दिनुहोस्