Sunday 23rd of February 2020

कर्मचारी अभावले अध्यागमन प्रभावित

काठमाडौँ । रिक्त कर्मचारी पूर्ति नहुँदा र सरुवा भएकाहरू कार्यथलोमा नपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सेवा प्रभावित भएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याए पनि अध्यागमन अधिकृत नहुँदा यात्रुले लामो समय कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

१ सय २९ जना अधिकृतको दरबन्दी रहेको विमानस्थलमा अहिले ७५ जना मात्रै कार्यरत छन् । कर्मचारी अभावमा एक तिहाइ कुर्सी खाली रहन्छन् । यसको सोझो असर सेवा प्रवाहमा परिरहेको छ । अध्यागमन स्रोतका अनुसार केही साताअघि मात्रै सामान्य प्रशासन मन्त्रालयले १४ अधिकृतलाई यहाँ सरुवा गरेको थियो । सरुवा भएकामध्ये तीन जना हाजिर नै नगरी अन्तै रमाना भइसकेका छन् भने बाँकी ११ जना पनि कार्यथलोमा पुगेका छैनन् ।

दुई सिफ्टमा सञ्चालन हुँदै आएको विमानस्थल अध्यागमनले तीन सिफ्टमा सेवा दिन थालेको छ । तर दरबन्दी पूर्ति नहुने र सरुवा भएका कर्मचारी कार्यथलोमा नपुग्ने भएपछि सेवा प्रभावित भइरहेको छ । अध्यागमनका एक कर्मचारीले यात्रुहरू लामो समय लाइनमा उभिनुपर्ने अवस्था सिर्जना भएको बताए ।

विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याइए पनि अध्यागमन अधिकृत नहुँदा यात्रुले लामो समय कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पदभारग्रहण गर्नु अघिल्लो दिन ३२ अध्यागमन अधिकृतको सरुवा गरिएको थियो । तालुकदार निकाय गृह मन्त्रालयसँग सामान्य परामर्शसमेत नगरी कर्मचारी सरुवा गरिएपछि अभाव खटकिएको हो ।

विमानस्थल अध्यागमन प्रमुख होमनाथ थपलियाले भने, ‘कर्मचारी अभावमा दु:खसुख चलिरहेको छ ।’ उनका अनुसार अहिले पनि अध्यागमनमा दरबन्दीअनुसार कर्मचारी छैनन्, सरुवा भएका पनि आइपुगेका छैनन् । ‘कर्मचारी अभावमा सेवाग्राही लामो समय लाइन बस्नुपर्ने र सेवा लिन कष्ट सहनुपर्ने अवस्था निम्तिरहेको छ,’ उनले भने ।

कर्मचारी अभाव भएकोबारे गृह र सामान्य प्रशासन मन्त्रालय जानकार नभएका होइनन् । स्रोतका अनुसार संगठित सुन तस्करीका एकपछि अर्को घटना सार्वजनिक भएपछि र कर्मचारीको गतिविधिमाथि निगरानी बढेपछि सरुवा भएकाहरूसमेत विमानस्थल अध्यागमन जान आनाकानी गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्