Tuesday 18th of February 2020

बुर्काभित्रको सपना

नेपालगन्ज । नेपालगन्जको गुरुद्वारा सडकमा रहेको मदरसा दारुल उलुम बरकातिया माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन्, सना पठान ।

नेपालगन्ज–११ की १६ वर्षीया सनाको नर्स बनेर अशक्त बिरामीको सेवा गर्ने धोको छ । कालो रङको सांस्कृतिक पहिरन बुर्कामा विद्यालय शिक्षा लिँदै गरेकी सनालाई सेतो कोट लगाएर बिरामीको स्याहार गर्ने रहर जागेको छ ।
उनकी कक्षा दौंतरी हुन्, करिस्मा राइन । करिस्मा पनि नर्सिङको सपना बुनिरहेकी छन् । पाँच वर्ष अघिसम्म उनी पढ्ने मदरसाले माध्यमिक तहको स्वीकृति नपाउँदा कक्षा ८ सम्म पढेर घरमै बस्नुपर्ने बाध्यता टरेको छ । अब विद्यालयले माध्यमिक शिक्षाको अनुमति पाएको छ र अभिभावक पढाउन राजी छन् । सना भन्छिन्, ‘ठूलो संकट टरेको छ, अब नर्स बन्ने सपना पूरा हुन्छ ।’

नेपालगन्ज–१५ गुरुद्वारा रोडमा रहेको मदरसा दारुल उलुम बरकातियामा कक्षा ९ मा पढ्दै मुस्लिम बालिकाहरू ।
अभिभावकले आफूहरूलाई मदरसाबाहेकका सामुदायिक विद्यालयमा पढ्न नपठाउने भएकाले शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था टरेका कारण उनी फुरुंग छिन् ।

नेपालगन्ज–१५ की १५ वर्षीया देवा खान कक्षा १० मा पढ्छिन् । उनको चिकित्सक बन्ने सपना छ । उनकी सहपाठी नेपालगन्ज–१६ की १५ वर्षीया अनम राई पनि चिकित्सक बन्ने तयारीमा छिन् । अँध्यारो बुर्काभित्र रहे पनि उज्यालो सपना देख्ने किशोरीहरू बिस्तारै खुल्न थालेका छन् । उनीहरूसँग मदरसाको शिक्षा लिँदालिँदै पनि जीवनमा ठूलो, राम्रो र सेवामूलक काम गर्ने सपना छन् ।

प्रतिक्रिया दिनुहोस्