Tuesday 17th of September 2019

प्रहरीको टेण्डरमा यस्तो: ठूलो चलखेल भएको खुलासा !

काठमाडौँ । नेपाल प्रहरीले खरिद गर्न लागेको १० हजार थान म्याट्रेसको टेण्डर प्रक्रियामा ठूलो चलखेल भएको खुलासा भएको छ । दुई पटकसम्म टेण्डर रद्द भई तेस्रो पटक टेण्डर स्वीकृत गर्ने क्रममा समेत ठूलो चलखेल भएको भेटिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानविन सुरु गरेको थाहा भएको छ । १० हजार थान म्याट्रेसका लागि जेभिएम नामक कम्पनीले प्रतिपिस ६ सय ६६, युरेसियाले ८ सय ३०, क्रोनोवाल बिजनेसले ८ सय १५ र एडि सप्लायर्सले ९ सय रूपैयाँमा टेण्डर दर्ता गराएका थिए ।

प्रहरीले टेण्डरका क्रममा नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर पास भएको प्रमाणपत्र अनिवार्यरूपमा हुनुपर्ने प्रावधान राखेको थियो । त्यसैअनुरूप ठेक्का दर्ता गराउने कम्पनीहरूले सोही विभागबाट पास भएको प्रमाणपत्र पेश गर्नुपर्ने थियो । पास भएका कम्पनीहरूले टेण्डर दर्ता गरे तर गतवैशाख ६ गते प्रहरीको प्रबन्धले जेभिएमलाई टेण्डर प्राप्त भएको सूचना सार्वजनिक गरेपछि यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियारमा उजुर परेको आयोगस्रोत बताउँछ । जेभिएमले नेपाल गुणस्तर तथा नापतौल विभागमा गुणस्तरका लागि सामान चेकजाँच गर्ने क्रममा एक पटक केमिकल फेल भएको र दोस्रो पटक चेकजाँच गराउने क्रममा फिजिकल फेल भएको थियो । तर, टेण्डर हाल्ने क्रममा दुई पटक चेकजाँच गराउँदा एक पटकको केमिकल पास भएको र अर्को पल्टको फिजिकल पास भएको रिपोर्ट हालेर ६ सय ६६ रूपैयाँमा सो कम्पनीलाई टेण्डर दिने काम प्रहरीले गरेको र यस टेण्डर प्रक्रियामा २० लाख रूपैयाँमा चलखेल भएको भन्दै अख्तियारमा उजुर परेको स्रोत बताउँछ ।

अख्तियारले पहिलो पटक त के भएको हो खुलाई पठाउनु भनी पठाए पनि दुई पटक चेकजाँच गर्दा छुट्टाछुट्टै पास भएको रिपोर्ट हालेर जेभिएमलाई ठेक्का दिएको थप उजुरी परेपछि अनुसन्धान भइरहेको आयोगस्रोत बताउँछ । एक पटक केमिकल र अर्को पटक फिजिकल फेल भएको जेभिएमलाई के आधारमा म्याट्रेसको ठेक्का दिइयो भन्दै अख्तियारले प्रहरीसँग मात्र नभएर गुणस्तर तथा नापतौल विभागसँग समेत जानकारी मागेको स्रोत बताउँछ । जेभिएम कम्पनीका ठेकेदार राजमान मिश्रले विभागका कर्मचारीहरूलाई समेत प्रभावमा पारी आज चेकजाँचका लागि निवेदन दिएर भोलिपल्टै रिपोर्ट लिएको समेत खुलेको छ । जबकि अन्य ठेकेदारहरूका लागि गुणस्तरका कर्मचारीहरूले हप्तादिन नभई रिपोर्ट दिन नसकिने भन्दै आएका थिए ।

गुणस्तर विभागका प्राविधिकहरू यसरी नै ठेकेदारसँग बिकेकै कारण प्रहरी र सशस्त्र प्रहरीले ठेक्का प्रक्रिया हुँदा आफ्ना लत्ताकपडाहरूको टेष्ट रिपोर्ट एसजिएस तथा आइटिएसबाट गराउने व्यवस्था सुरु गरेको छ । आइजिपीमा सर्वेन्द्र खनाल नियुक्ति भएपछिको पहिलो यो ठेक्काको घोटाला सम्बन्धमा स्वयम् आइजीलाई पनि थाहा नभएको प्रहरीस्रोत नै बताउँछ ।

प्रतिक्रिया दिनुहोस्