Tuesday 18th of February 2020

बझाङमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, २ चिन्ताजनक

बझाङ । बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप चालक केदारस्युँ गाउँपालिका(१ का ३५ वर्षिय लालबहादुर भण्डारीको मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि छविसपाथीभेरा गाउँपालिका-४ डाँडागाउँका ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी श्रीमती ३८ वर्षीया जलादेवी सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो।
घटनामा ६ जना घाइते भएका थिए। घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेमा छविसपाथिभरा गाउँपालिका-५ का ४५ वर्षीया सोभान धामी र सोही गाउँपालिका ३ का ३१ वर्षीय गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ।

यस्तै अन्य घाइतेमध्ये मृतक वीरेन्द्र सिहंका २ वर्षीया छोरा भूपेन्द्र सिहं, छविसपाथीभेरा-३ की २७ वर्षीया पशुपति नेपाली र गणेश नेपालीकी ७ महिनाकी छोरी मुस्कान नेपालीको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविस पाथीभेरा गाउँपालिका(४ को नेटाखानमा दुर्घटना भएको थियो। दुर्घटना के कारणले भएको खुल्न सकेको छैन। एकै परिवारका दुइ जनाको घटनामा मृत्यु भएपछि अहिले व्याँसी गाउँ नै शोकमग्न भएको गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामीले बताए।

प्रतिक्रिया दिनुहोस्