Saturday 21st of September 2019

यस्ता छन विश्वकपमा मेसी र रोनाल्डोले तोड्ने नसक्ने केहि रेकर्ड

काठमाडौँ । विश्व फुटबलमा पछिल्लो दशक देखि नै दुई खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले आफ्नो दबदबा बनाएर राखेका छन् । उनीहरुको व्यक्तिगत प्रदर्शनको तुलना हरेक सिजन, हरेक खेल र हरेक गोलमा हुने गर्दछ । दुवै अहिलेका विश्वकै उत्कृष्ट खेलाडी हुन् । दुई मध्ये को उत्कृष्ट भन्ने कुरामा सबैका आ-आफ्ना तर्क छन् तर मेसीको टिम वर्क र निश्वार्थपनको विश्वभर चर्चा हुन्छ भने रोनाल्डोको हरेक खेलमा गोल गर्ने र खेल्न जित्ने भोकको चर्चा हुने गर्दछ ।

विश्वकप नजिकिदै गर्दा विश्वकपमा यी दुवै खेलाडीको चर्चा अहिले चुलिएको छ । दशक भन्दा बढी विश्व फुटबलमा राज गरेका यी दुवै खेलाडीले अहिलेसम्म विश्वकपको उपाधि भने जित्न सकेका छैनन् । मेसी गत विश्वकपमा फाइनल सम्म पुगेर विश्वकप जित्दा जित्दै हर्न पुगे भने रोनाल्डोले २०१६ को युरो कप जितेर आफ्नो देशको लागि अहिलेसम्मको ठुलो उपाधि त्यहि जितेका छन् ।

सम्भवत उमेरका कारण मेसी र रोनाल्डो दुवै बढीमा अर्को विश्वकप सम्म खेल्न सक्छन् तर फुटबल विश्लेषकहरुले दुवैको यो अन्तिम विश्वकप पनि हुन् सक्ने बताइरहेका छन् । यस्तोमा विश्व फुटबलका यी दुई महान खेलाडीहरुले विश्वकपमा तोड्न नसक्ने केहि रेकर्डको चर्चा गरौ ।

पेलेको धेरै विश्वकपको उपाधि जितेको रेकर्ड :

ब्राजिलका लिजेण्ड पेलेले सन १९५८, १९६२ र १९७० मा गरि तीन पटक विश्वकपको उपाधि जितेका छन् । पेले एक मात्र त्यस्ता खेलाडी हुन् जसले तीन पटक विश्वकपको उपाधि जितेका छन् । त्यस्तै २० जना अन्य खेलाडी छन् जसले विश्वकपको उपाधि दुई पटक जितेका छन् । जसमा ब्राजिलका रोनाल्डो र काफु पनि रहेका छन् ।

तर क्रिस्टियानो रोनाल्डो र मेसीको कुरा गर्दा उनीहरु दुवैले अहिलेसम्म एक पटक पनि विश्वकपको उपाधि जितेका छैनन् । अर्जेन्टिना गत विश्वकपमा फाइनलमा पराजित भयो भने पोर्चुगल विश्वकपमा २००६ मा सेमिफाइनल सम्म पुगेको थियो ।

त्यसैले मेसी र रोनाल्डोले पेलेको यो रेकर्ड आफ्नो जीवनमा पुरा गर्न सकिने देखिदैन । अहिले रोनाल्डो ३३ बर्षका भए भने मेसी ३० बर्षका भए । दुवैले लगातार विश्वकप जिते पनि १२ बर्ष यो रेकर्ड तोड्न लाग्छ जुन असम्भव छ ।

एक विश्वकपमा धेरै गोलको रेकर्ड :

विश्वकपको एकै सिजनमा अहिलेसम्म धेरै गोल गर्ने खेलाडी इटालीका जस्ट फोंटेन हुन् ।उनले सन १९५८ को विश्वकपमा ६ खेलमा १३ गोल गरेका थिए । उनको यो रेकर्डको नजिक १९७० मा जर्मनीका जर्ड मुलरले १० गोल गरेर नजिक पुगेपनि ६० बर्षसम्म यो रेकर्ड तोडिन सकेको छैन ।

मेसी र रोनाल्डोको अहिलेसम्मको विश्वकप गोल हेर्ने हो भने मेसीले अहिलेसम्म ५ र रोनाल्डोले केबल ३ गोल गरेका छन् । त्यसैले यो रेकर्ड तोदिदैन नै भन्न त सकिन्न तर असम्भव भने देखिन्छ ।

बढी उमेरमा गोलको रेकर्ड :

विश्वकपमा बढी उमेरमा गोल गर्ने खेलाडी क्यामरुनका रोजर मिल्ला हुन् । उनले सन १९९४ को विश्वकपमा रसिया विरुद्ध ४२ बर्ष एक महिना ८ दिनको दिन गोल गरेका थिए । अहिले मेसी ३० बर्षका भए उनले यो रेकर्ड तोड्न अझै कम्तिमा ३ विश्वकप खेल्नु पर्दछ । त्यस्तै रोनाल्डो ३३ बर्षका भए भने उनले पनि यो रेकर्ड तोड्न कम्तिमा ३ विश्वकप खेल्नु पर्ने हुनाले यो रेकर्ड पनि दुवैबाट तोडिन नसक्ने देखिन्छ ।

विश्वकपमा बढी गोलको रेकर्ड :

विश्वकपमा अहिलेसम्म बढी गोल गर्ने रेकर्ड जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ । उनले अहिलेसम्म विश्वकपमा १६ गोल गरेका छन् । क्लोजले २००२, २००६, २०१० र २०१४ गरि १६ गोल गरेका हुन् भने उनले २००६ मा गोल्डेन बुट पनि जितेका थिए ।

तीन विश्वकप खेलेका मेसी र रोनाल्डोले ५ र ३ गोल गरेका छन् । मेसीको हकमा यो रेकर्ड तोड्न १२ गोल गर्नुपर्छ । मेसी राष्ट्रिय टिममा गोल गर्ने भन्दा पनि प्लेमेकरको भूमिकामा बढी देखिने संकेत देखाएकाले उनले यस विश्वकपमा धेरै गोल गर्ने भन्दा पनि गोलको अवसर सिर्जना गरिदिने भूमिकामा आफुलाई प्रस्तुत गर्ने देखिएको छ । त्यसैले यस विश्वकपमा १२ गोल गरेर क्लोजको रेकर्ड तोड्ने कुरा असम्भव त छैन र मुस्किल अवस्य छ ।

त्यस्तै रोनाल्डोले क्लोजको रेकर्ड तोड्न १४ गोल गर्नुपर्ने देखिन्छ । जुन व्यावहारिक रुपमा पनि सम्भव जस्तै देखिन्छ ।

विश्वकपको लागातार ३ फाइनल खेल्ने खेलाडी :

आफ्ना ४ विश्वकपमा लगातार ३ विश्वकपमा फाइनल खेलेर ब्राजिलका काफुले यो रेकर्ड राखेका छन् । काफुले सन १९९४, १९९८ र २००२ मा विश्वकपको फाइनल खेलेका थिए भने २००६ मा क्वाटरफाइनल बाटै बाहिरिएको थियो । मेसी र रोनाल्डोको हकमा यो रेकर्ड पनि तोड्न असम्भव देखिएको छ । मेसी २०१४ मा एक पटक फाइनलमा पुगेका छन् भने रोनाल्डो २००६ मा सेमिफाइनलसम्म पुगेका छन् । दुवै खेलाडीको उमेरका कारण अब यो रेकर्ड तोड्न पनि असम्भव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्