Friday 24th of January 2020

महानगरका सडक देखाउनका लागिमात्रको व्यवस्थापन

काठमाडौँ । त्रिपुरेश्वरमा फुटपाथ र सडक अवरुद्ध हुने निर्माण सामाग्री तथा फोहोर पदार्थ थुपारेको भन्दै काठमाडौ महानगरीय प्रहरीले दुईजनालाई नियन्त्रणमा लियो ।

केहिदिन अघि देखि थुपारेको पदार्थ नहटाएपछि प्रहरीले बुधबार ११ बजे उनीहरुलाई नियन्त्रणमा लिएको नगरप्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक विष्णु जोशीले बताए।

फोहोर पदार्थ एक टिपरजति छ। उनीहरुलाई सोधपुछ गर्दा यसबारे थाहा नभएको बताए। जोशीले दुवैको भनाईलाई उद्धृत गर्दै भने, ‘दैनिक ज्यालामा काम गर्छौ, नयाँ काम पाएर आएका हौ, काम दिने मान्छेले यहि भेट हुने फोन भनेको थियो, ऊ आइनपुग्दै नियन्त्रणमा लिनुभयो।’

उनीहरुले काम दिने मान्छे,कार्यालको ठेगाना र नियमसम्बन्धि अनविज्ञ रहेको जवाफ दिएका थिए। प्रहरीले जिम्मेवार व्यक्ति पत्ता लाग्ने आँकलनले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। पत्ता नलाग्ने भएपछि उनीहरुलाई छाडिदियो। फोहोर पदार्थ जस्ताको तेस्तै थुप्रिएको छ।

महानगरीय प्रहरीले चौपाया नियन्त्रण लिएको भोलीपल्टै त्रिपुरेश्वर खण्डको सडक पेटीमा भेटिएको गाई। तस्बिर : विद्या राई/कान्तिपुर

यसैगरी प्रहरीले गत मंगलबार महानगरका सडकमा जथाभावी छोडिएका ३७ वटा चौपायाहरुलाई नियन्त्रणमा लियो। पेप्सीकोला देखि सोल्टीमोड र एयरपोर्टदेखि लाजिम्पाटसम्मको सडक खण्डमा भेटिएका चौपाया महानगरीय प्रहरीले नियन्त्रणमा लिएको थियो।

सडकहरु अवरोधरहित, स्वच्छ, स्वस्थ, सुन्दर राख्ने महानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार बाधक पक्षहरुलाई नियन्त्रणमा लिने गरेको छ। महानगरपालिकाको आदेशमा महानगरीय प्रहरीले स्थलगत रुपमा कारबाही गर्दै आएको छ। ‘ सडक अवरुद्ध गर्ने र अवरोध गर्न लगाउने सबैलाई ठाउँका ठाँउ कारबाही गर्दै आएका हौँ, गर्दैछौँ र गर्नेछौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने।

वर्षेनी यस्ता कार्यक्रम गरेपनि प्रभावकारी भने नभएको सर्वसाधारणको गुनासो छ। ‘सडकका पेटीमा ढुगां, माटो जतापनि थुपारेकै हुन्छ, नअटिनटि मान्छे, वस्तुभाउ उस्तै हुन्छन्,’ बल्खुका श्याम श्रेष्ठले भने। सडक पेटीहरुमा यात्रुहरुलाई हिँड्न अवरोध पुग्नेगरी पसल राख्न पाइदैन। तर महानगर नजिकैको आरएनएसी अगाडि पसल राखिएका हुन्छन्।
चौपाया जथाभावी छाडिदा पैदल यात्रुहरुलाई पेटीमा हिड्ँन असहज हुन्छ। सडकमा सवारी साधनहरुलाई आवतजावत गर्न कठिन हुन्छ। दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको छ। जथाभाबी छोडिएका चौपायाले सडक र फुटपाथमा दर्गन्ध र फोहारे फैलने गरेको छ।

प्रहरीले नियन्त्रणका कदम पटक पटक चालेपनि दीर्घकालिन प्रभाव भएको पाइदैन। जस्तो त्रिपुरेश्वरकै निर्माण सामाग्री र फोहोरको सन्दर्भमा पनि नियन्त्रणमा लिइएकाहरुले अनविज्ञ बताएकै आधारमा छाडिए। कसले थुपार्‍यो भन्ने थप अनुसन्धानपट्टि प्रहरीले ध्यान दिएन।

चौपायाहरु बेलाबेला नियन्त्रणमा लिएको भोलिपल्टै फेरी सडकमा भेटिन्छन्। कहाँबाट आउँछन्, कसले छोड्छन् भन्ने थप सोधीखोजी न त महानगरले गर्छ न त प्रहरीले नै। सडक पेटीका पसल र सामान जफत गरिन्छन्। भोलीपल्ट उस्तै हुन्छ। सर्वसाधारणमा चेतनाको कमी र अटेरीपनाले गर्दा सबैलाई चित्तबुझ्दो कार्यान्वयन गर्न नसकेको प्रहरी नायब उपरीक्षक जोशी बताउँछन्।

@kantipur

प्रतिक्रिया दिनुहोस्