Friday 17th of January 2020

नेपाली कांग्रेस जिल्ला सभापतिहरूकाे भेला तयारी अन्तिम चरणमा

हेटौडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको हेटौडामा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म भेलाको तयारी पुरा हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

भेला तयारी समितिका प्रचारप्रसार संयोजक प्रदीप कोइरालाले खाजा खाना, आवास, प्रदेश समन्वय, अतिथी समन्वय, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सांस्कृतिक कार्यक्रम लगायतका ११ समिति/उपसमिति संयोजक तोकेर तयारी तीव्र पारिएको उनले जानकारी दिए । उनले केन्द्रीय सचिवालयका सचिवलगायत कर्मचारीहरु आइतबार बेलुकासम्म हेटौडा आईपुग्ने बताए ।

७७ जिल्लाका सभापति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सोमबार बेलुकासम्म हेटौडा आइपुग्ने मकवानपुर कांग्रेसले जनाएको छ । भेलामा केन्द्रीय कार्यसमिति र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु सहभागी हुनेछन् ।

३ सय जनालाई बास व्यवस्थापन गर्न होटल बुक गरिसकेको कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले जानकारी दिए ।

सभापतिहरुको राष्ट्रिय भेलाको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार एक भव्य समारोहबीच गर्ने कार्यक्रम रहेको छ । नगरका ४ स्थानमा स्वागतद्वार बनाउने कार्य भइरहेको छ । २ हजार झण्डा टाँग्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।

केन्द्रीय पदाधिकारी र सदस्यसहित हुने जिल्ला सभापतिको भेलामा संगठन निर्माण, संघीय व्यवस्थामा संगठन संरचना र समसामयिक राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारेमा छलफल हुनेछ ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएको कांग्रेसले भेलापछि राष्ट्रिय जागरण अभियान चलाएर चलाएमान हुने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्