Thursday 27th of February 2020

विजाड फ्रेगनेन्सको शुद्धप्लस नामक गुटखा मापदण्डविपरीत बिक्री वितरण

रुपन्देही । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गते निर्देशिका जारी गरेपनि कार्यान्वयन हुन नसक्दा सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरुले मापदण्डविपरीत आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएका थिए ।
तर, केही साता अघिबाट सुर्तीजन्य पदार्थको ¥यापर तथा बट्टामा ९० प्रतिशत खतरायुक्त चिह्न राख्नुपर्नेमा सोनगरी मापदण्डविपरीत उत्पादन गर्ने उद्योगहरुलाई कारबाही गर्ने चेतावनी दिएपनि सरकारको चेतावनीको समेतबेवास्ता गरी केही उद्योगहरुले आफ्ना उत्पादनहरु खुलेआम बिक्री वितरण गर्दा यतिबेला कानुन कार्यान्वयनको पक्ष फितलो देखिँदै गएको छ ।

सुर्तीजन्य पदार्थलगायत स्वास्थ्यमा प्रतिकूल असरपार्ने उत्पादनहरुमा आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट भाषणमा सुर्तीजन्य पदार्थमा अन्तः शुल्कदर बढाउँदै नयाँ शीर्षकअन्तर्गत स्वास्थ्य जोखिम कर थपेर स्वास्थ्यमा प्रतिकूल असर पार्ने उत्पादन गर्ने उद्योगहरुलाई कडाइ गर्ने भने पनि बजारमा सुर्तीजन्य पदार्थको बिक्री वितरणको अवस्था हेर्दा अन्तःशुल्कमार्फत राजस्व वृद्धिमा फरक परेपनि उद्योगीहरुको कानुन कार्यान्वयनमा नियमनको अवस्था फितलो भएको पाइएको छ । त्यस्तै, कपिलवस्तुको बहादुरगञ्जमा अवस्थित विजाड फ्रेगनेन्स उद्योग प्रालिले उत्पादन गरेको शुद्ध प्लस नामक गुट्खा मापदण्डविपरीत बिक्री वितरण हुँदै आएको पाइएको छ ।

कम्पनीले बजारमा ल्याएको शुद्धप्लस नामक उक्त गुटखा ९० प्रतिशत खतरायुक्त चिह्न अङ्कित गर्नुपर्ने कानुनी प्रावधान भए पनि ४० प्रतिशतभन्दा पनि कम चिह्न अङ्कित गरेर बजारमा बिक्री वितरण हुँदा मापदण्डविपरित भएको भेटिएको हो । यसरी मापदण्डविपरीत उद्योगले उत्पादन गरेको उक्त गुट्खा कपिलवस्तु जिल्ला मात्र नभएर रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पश्चिम नेपालका अधिकांश बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।

यसरी मापदण्डविपरीतका उत्पादनहरु बजारमा खुलेआम बिक्री वितरण भइरहँदा एकातर्फ जनतालाई सरकार र कानुनप्रति शङ्का गर्ने वातावरणको सिर्जना भएको छ भने अर्कोतर्फ कानुन उल्लङ्घन गर्नेहरुको मनोबल बढ्दै गएको र समाजमा अराजकता फैलिँदै गएको छ । जुन विषयमा नियमन निकाय जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले पहिला मापदण्डविपरीतका उत्पादनहरु बजारमा अनुगमन गर्दा भेटिएपछि उद्योग बन्द गरेर छानबिन गरेका थियौं । कपिलवस्तुको कुरा हामीले बजार अनुगमन गर्दा अहिले त्यस्तो समस्या देखिएको छैन ।

यदि त्यस्तो कतै कानुन उल्लङ्घन गरेर बिक्री वितरण भएको भए प्रशासनमा सूचना दिन आग्रह गर्दैै बजारमा मापदण्डविपरीत भेटिए कानुनअनुसार कारबाही गर्ने बताए । जिल्ला प्रशासन कार्यालयल रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीले नारायण पाण्डेले बजारमा हेरेर त्यस्तो भेटिए शीघ्र कानुनी दायरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्