Sunday 8th of December 2019

जलाउन लागेको शवसहित १७ मलामी नियन्त्रणमा

गोरखा । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ ।

मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए । मदिरा सेवन गरेका राजेशले आमालाई कुटपिट गरेका थिए ।

शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको डिएसपी भेषराज रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्