Tuesday 25th of June 2019

यसरी हटाइए एसपी

हेटौँडा । जिल्ला प्रहरी कार्यालय, हेटौँडामा चौतर्फी दबाब दिएर सरुवा भई आएका एसपी लोकेन्द्र श्रेष्ठ अन्ततः दुई महिना पनि टिक्न सकेनन् । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गृहसचिव प्रेमकुमार राईसम्मको सोर्सफोर्स लगाएर आइजिपी सर्वेन्द्र खनालको सिफारिश विपरीत दबाब दिएर हेटौँडाको प्रहरी प्रमुख बनेका श्रेष्ठ अन्ततः गृहमन्त्री रामबहादुर थापाको दबाबका कारण हट्नुप¥यो ।

हट्नुका पछाडि उनी आफैँले व्यापारीहरूसँग रेट तोक्दै बार्गेनिङ गरेको अडियो रेकर्डहरू गृहमन्त्री थापाकहाँ पुगेपछि हटाइएको मन्त्रीको सचिवालयस्रोत बताउँछ । प्रदेशका मुख्यमन्त्री र स्वयं गृहसचिवले भनेपछि सरुवा भएका श्रेष्ठ अन्ततः टिक्न सकेनन् र तुरुन्तै तानिनु प¥यो । उनको विगतको कारण पनि प्रहरी संगठनभित्र राम्रो छवि नभएका कारण आइजिपी खनालले उनलाई हेटौँडा पठाउन खोजेका थिएनन् । गृहसचिव राईको र एसपी श्रेष्ठको घर धरानमा सँगै भएका कारण सचिव राईसँग नजिकको सम्बन्ध रहेको कारण सचिवको दबाब झेल्न नसकी आइजी खनालले श्रेष्ठलाई हेटौँडा पठाउन बाध्य भएका थिए ।

जबकि हेटौँडामा एसपी सुरेन्द्र मैनालीलाई पठाउने तयारीमा थिए आइजिपी खनाल । तर, मुख्यमन्त्री पौडेल र गृहसचिवको दबाब कारण आइजीले हेटौँडा पठाउन बाध्य भए । उनी हाजिर भएलगत्तै सञ्चारकर्मीहरूमाझ तस्करी नियन्त्रणदेखि अपराध नियन्त्रण, गुण्डादेखि डाँकाहरूलाई इन्काउन्टर गर्नेसम्मको भाषण गर्न चुकेनन् ।

यसैबीच उनले मकवानपुरमा सञ्चालित धेरै क्रसरहरू बन्द पनि गराए, सञ्चारमाध्यमहरूले त्यस्ता क्रसरहरू बन्द गरेकोमा राम्रो समाचार सम्प्रेषण पनि गरे तर लगत्तै तिनै क्रसरवालाहरूसँग उनले यसअघिका एसपीहरूले लिने रकमभन्दा बढी रकम माग गरी मोलमोलाइ गरिरहेको अडियोहरूसमेत व्यापारीहरूले मन्त्री थापाकहाँ पु¥याएपछि उनी हटाइएको गृहस्रोत बताउँछ ।

जिल्ला समन्वय समितिका प्रमुख (एलडिओ) र प्रमुख जिल्ला अधिकारीसँग काममा समन्वय नगर्ने, सिडिओको निर्देशन पालना नगर्ने र सिडिओलाई नै माइनस गरेपछि सिडिओ र एसपीबीच पनि राम्रो सम्बन्ध थिएन । तत्कालीन माओवादीसँग नजिक रहेका सिडिओसँग सम्बन्ध बिग्रिएपछि प्रजिअले नै मन्त्री र सचिवलाई समेत एसपी श्रेष्ठका बारेमा सबै जानकारी गराएपछि उनी हटेको बताइएको छ । बन्द गरिएका क्रसरका मालिकहरूसँग उनले रेट तोकेरै बार्गेनिङ गरेपछि बाध्य भएर क्रसर व्यवसायीहरूले वार्तालापको रेकर्ड गर्दै मन्त्रीकहाँ पु¥याइएको बताइन्छ ।

प्रदेश सभामा सांसद रहेकी कुमारी मोक्तानसम्मले गृहमन्त्री रामबहादुर थापालाई एसपीले गरेका गैरकानुनी कार्यसमेतको विरुद्धमा जानकारी गराएको बताइन्छ । एसपी लोकेन्द्र श्रेष्ठका बाबु पनि नेपाल प्रहरीका पूर्व सई हुन् । लामो समय प्रहरीमा लेखापाल रहेका कारण उनको धेरै उच्च अधिकृतहरूसँग सम्बन्ध भएकै कारण लोकेन्द्र श्रेष्ठले प्रहरी निरीक्षकमा प्रवेश गरेसँगै राम्रा र कमाउ ठाउँहरूमा पोष्टिङ पाउँदै आएका थिए । तत्कालीन आइजिपी प्रदिपसमशेर जबराले निरीक्षक रहँदा श्रेष्ठलाई साँगा प्रहरी स्कुलको जिम्मेवारीसमेत दिएका थिए ।

साँगा स्कुल प्रहरीहरूको अतिरिक्त कमाई हुने आकर्षक ठाउँका रूपमा अहिले पनि चिनिन्छ । श्रेष्ठ तत्कालीन ध्रुवबहादुर प्रधान आइजिपी हुँदा नातेदार भएकै कारण तत्कालीन वडा प्रहरी कार्यालय जनसेवामा सरुवा भई आउँदा सुनकाण्डमा परी निलम्बन भएका थिए । श्रेष्ठ हटाइएपछि जिप्रका मकवानपुरको प्रहरी प्रमुखका बुद्धि गुरुङलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्