Friday 24th of January 2020

नारायणगढ–मुग्लिन सडकको जाखिम यथाबत पानी पर्‍यो कि पहिरो झर्‍यो

चितवन । नारायणगढ मुग्लिन सडकमा जनताले चाहे भन्दा उल्टो परिमाणल जनता हैरान भएका छन । यो सडक खण्ड २४ सैं घण्टा गाडी चल्न शुरु भएको केहि दिन पनि टिक्न सकेन । दैनिक पहिरोका कारण यात्रुहरु जोखिममा यो सडक खण्डमा हिड्न बाध्य छन । यो सडक खण्डको स्थायी समाधान नखोजिने हो भने ठुलै मानिविय क्षति नहाेला भन्न सकिने अवस्था छैन ।

यति मात्रै नभएर निर्माणाधिन सडकको पुरै खण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम पनि सकियो। हिलो, खाल्डो र धुलोयुक्त सडकमा घण्टौं जामको कष्ट बेहोरेर यो सडकमा यात्रा गर्न बाध्य यात्रुहरु यो खबरले खुशी भए। चिल्लो सडकमा सरर्र गाडी चल्ने दिन आयो भनेर मख्ख परे। तर त्यो खुशी धेरै दिन टिकेन। पहिरोले दुख्ख देला कि भन्ने शंका यथार्थमा परिणत भइदियो। नभन्दै अहिले पहिरोले यो सडकमा दिन दिनै सास्ती बढ्दै गएको छ।

मंगलबार बिहानै पहिरो आउँदा मध्यान्हसम्म बाटो खुल्न सकेको थिएन। सोमबार पनि पहिरोका कारण दिनभर यातायात प्रभावित थियो। मध्य असारको वर्षाले बाटोमा पहिरोको व्यथा थुपार्न सुरु गरेको छ। तर समस्या मनसुनअघि नै सुरु भएको थियो। बैशाख जेठको सामान्य वर्षामा पनि एकाध घण्टा बाटो बन्द हुन थालेको थियो। पहिरोको समस्या नौलो हैन। सडक निर्माणको काम अगाडी बढेसँगै पहिरोले पनि पिरोल्न थालेको हो। पहिरोको समस्या कहिलेदेखि निराकरण हुन्छ, यात्रा बाधारहित र सुरक्षित कहिलेदेखि हुन्छ भन्ने प्रश्नको पक्का जवाफ अहिले कोहीसँग छैन।

अनुमान बाहिरको समस्या

सडक निर्माणको काम ०७२ सालको बैशाखसँगै सुरु भएको हो। निर्माण सुरु हुनुभन्दा अघि यति धेरै पहिरो खस्ला भन्ने अनुमान गरिएको थिएन। नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार निर्माणका बेलामा ३० हजार घन मिटरसम्म पहिरो जाने सम्भाव्यता अध्ययनमा देखिएको थियो। तर गत वर्षसम्म दुई लाख घन मिटर पहिरो गइसकेको खनालले बताए। अनुमानभन्दा निकै नै धेरै पहिरो गएका कारण नियन्त्रणमा सकस भइरहेको छ।

वि.सं. २०३६ सालमा चीन सरकारको सहयोगमा नारायणगढ–गोरखा राजमार्ग अन्तर्गत निर्माण भएको उक्त सडक जम्मा साढे पाँच मिटरसम्म फराकिलो थियो। विश्व वैंकको सहयोगमा एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन उक्त सडकलाई नौदेखि ११ मिटरसम्म फराकिलो बनाउने काम सुरु भयो। सडक फराकिलो बनाउने कामले नै पहिरोको समस्या निम्तयाएको हो। किनकी बाटो चौडा बनाउन धेरै ठाउँमा पहाड काट्नु परेको छ। पहाड काटेको ठाउँहरुमा पहिरो गएको छ।

नारायणगढ मुग्लिन सडकमा सवैभन्दा डर लाग्दो पहिरो घुमाउनेमा गयो। विस २०७३ सालको चैत्र २१ गते घुमाउनेमा पहिरो जाँदा दुईजना यात्रुको घटनास्थलमा ज्यान गयो। घुमाउरो बाटोलाई सिधा बनाउन त्यहाँ अग्लो पहाड काट्ने काम भइरहेको थियो। सम्भाब्यता अध्ययनमा त्यहाँ पहिरोको समस्या नहुने उल्लेख थियो। २९ ठाउँ पहिरोको उच्च जोखिममा रहेको पछि पत्ता लाग्यो।

अहिलेसम्म ३१४ वटा ठुला पहिरोहरु गएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी शिव खनालले बताए। २५० घन मिटरभन्दा धेरैका पहिरोलाई मात्रै ठुला पहिरो भनिन्छ। यीमध्ये ५३ वटा पहिरो दुई हजार घन मिटरभन्दा माथिका थिए। त्यसैले नारायणगढ मुग्लिन सडक विस्तारको काम सुरु हुँदा पहिरोको अनुमान र अहिलेको यथार्थता के हो यसबाटै छर्लङ्ग हुन्छ। जोखिमको आँकलन सुरुमा नै गर्न नसक्दा नियन्त्रणमा समस्या भएको बुझ्न गाह्रो छैन।

सुस्त नियन्त्रण कार्य

नारायणगढ–मुग्लिन सडक विस्तारको कामसँगै भुकम्प गएको थियो। भुकम्पले कमजोर बनाएको पहाडमा विस्तारका लागि डोजर चलाउँदा समस्या आउछ भन्नेमा दुविधा नहुनु पर्ने हो। तर धमाधम पहाड काट्दा नियन्त्रणमा उपायहरु परम्परागत नै अपनाउने थालिएको थियो।

पहाड काटेको ठाउँमा काँस, बाबियो, खर रोप्ने परम्परागत बायो इन्जिनियरिङको काममा मात्रै आयोजनाले ध्यान दिएको थियो। गत वर्षको साउनमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा बाटो निरीक्षणका लागि आउँदा पहिरो नियन्त्रणको प्रभावकारी उपाय खोज्न भनियो। सडक सुरक्षाको कार्य गर्दै आएका इन्जिनियर टुकलाल अधिकारीले पहिरो नियन्त्रणका विषयमा अध्ययन गरेर उपाय निकाले। विस्तारका बेलामा काटेर नाङ्गो भएका पहाडबाट ढुंगा बालुवा नखसोस भन्नका लागि बायो इन्जिनियरका साथै केही उच्च प्रविधियुक्त उपायहरु पनि गर्नु पर्ने थियो।

उप्केका ठुला चट्टानलाई सडकमा खस्नबाट रोक्न रक बोल्टिङ र साना ढुंगाहरुलाई रोक्न अल्मुनियमको जालीले ढाक्ने रक नेटिङ गर्ने काम सुरु गर्न भनियो। १४ करोड रुपैयाँ खर्च हुने यो काम केही अगाडी मात्रै सुरु भएको छ। गएको बैशाखबाट उच्च प्रविधियुक्त पहिरो रोक्ने कामहरु भइरहेको छ। असारभित्र काम सक्ने सम्झौता छ।

जलबिरेदेखि मुग्लिनसम्म उच्च जोखिम

ठुला पहिरो जाने ठाउँ धेरै छैनन्। चेपाङ डाँडा, चोरखोला, टोपेखोला, कालिखोला र चार किलो पहिरो गइरहने ठाउँहरु हुन्। यी ठाउँहरु जलबिरेदेखि मुग्लिनसम्मको सात किलो मिटर दुरीभित्र पर्दछन्। कालिखोलादेखि मुग्लिसम्मको दुरीमा पहिरो खस्दा चारजनाको ज्यान गइसकेको छ। एकजना वेपत्ता छन्। सडक विस्तारको काम सुरु भएसँगै अहिलेसम्म पहिरोमा परेर र ढुंगाले लागेर छजनाको ज्यान गएको छ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो। लगभग १० हजारको हाराहारीमा बस, ट्रक र अन्य साना ठुला गाडी ओहर दोहर गर्दछन्। यो सडक खण्ड भारतलगायत तेस्रो मुलुकसँग हुने व्यपारको झण्डै ८० प्रतिशत कारोबारको संबाहक भएको नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरु बताउँछन्। यस्तो महत्वपुर्ण सडकमा पहिरोको जोखिम कहिलेसम्म? आयोजनाका अधिकारीहरु केही समय पहिरोको समस्या रही रहने बताउँछन्।

‘मुग्लिनदेखि नारायणगढतर्फ चार किलो र भालु खोला आसपासमा जुन खालको पहिरोको खतरा छ त्यो हाम्रो प्रविधिले अहिले नै रोक्न सक्छ भन्ने छैन। त्यहाँ सक्रिय खालको पहिरो छ। यस्ले लामो समयसम्म बेला बेलामा दुख्ख दिने छ’ नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल भन्छन्।

प्रतिक्रिया दिनुहोस्