Tuesday 18th of February 2020

स्व. राजा वीरेन्द्रको १२ जिल्लामा जग्गा रहेकाे थप सम्पति खोज्दै नेपाल ट्रष्ट

काठमाडौं । नेपाल ट्रष्टले स्व. राजा वीरेन्द्रविक्रम शाहको थप सम्पति खोज्न थालेको छ । उनको परिवारका नाममा रहेका थुप्रै चल–अचल सम्पत्ति नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको छ ।

ट्रष्ट अझै पनि सम्पत्तिको खोजबिनमा लागिपरेको छ । तर, उपयुक्त कार्यविधि अभावमा ट्रष्टको नाममा जम्मा भएको ५७ करोड रुपैयाँको सदुपयोग हुन सकेको छैन । नेपाल ट्रष्टको कार्यालयले हालसम्म स्व. राजा वीरेन्द्र शाहको नाममा रहेको २१ हजार ५६३ रोपनी जग्गा फेला पारेको छ ।

ट्रष्टको कार्यालयले स्व. राजा वीरेन्द्रको नाममा १२ जिल्लामा जग्गा रहेको पनि जनाएको छ । स्व. राजा र उनको परिवारका नाममा काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कास्की, नुवाकोट, धादिङ, चितवन, सुर्खेत र धनकुटामा जग्गा भेटिएको छ । ती जग्गा ट्रष्टले आफ्नो स्वामित्वमा लिइसकेको छ ।

जग्गा बाहेक स्व. राजा वीरेन्द्रको नाममा रहेको नबिल बैंक लिमिटेडको ४ लाख ३५ हजार ४१६ कित्ता शेयर, नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता शेयर, होटल अन्नपूर्णको ३० हजार ७५० कित्ता शेयर ट्रष्टको नाममा आइसकेको छ ।

२०६४ साल मंसिरमा स्थापना भएको ट्रष्टले स्थापनाको पहिलो वर्षमा ८३६ रोपनी जग्गा फेलापारेको थियो । तर, पछि छानबिन हुँदै जाँदा थप जग्गा फेला परी हाल २१ हजार ५६३ रोपनी जग्गा ट्रष्टको नाममा आइसकेको छ । नेपाल ट्रष्टका सहसचिव यदुप्रसाद पन्थीले ट्रष्टकै नाममा कति जग्गा आउन बाँकी छ ? भन्ने चाहिँ खुलाएनन् ।

हालसम्म ट्रष्टको कोषमा ५७ करोड रुपैयाँ जम्मा भएको छ । पूर्व राजपरिवारको नाममा जम्मा भएको रकम नेपाल ट्रष्ट ऐन २०६४ अनुसार सार्वजनिक हितमा लगानी गर्नसकिने व्यवस्था रहेको ट्रष्टले जनाएको छ । ट्रष्टले संकलन गरेको रकम हालसम्म खर्च नभएकाले कार्यविधि बनाएर अगाडि बढ्ने सहसचिव पन्थीले बताए । स्व. राजा वीरेन्द्र र उनको परिवारका नाममा अझै पनि केही स्थानमा सम्पत्ति रहेको अनुमान गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्