Thursday 12th of December 2019

कार्यकालको अन्तिम समयमा प्रधानसेनापति क्षत्रीको विदेश भ्रमण

काठमाडौं । आफ्नो कार्यकालको दिनगन्ती सुरु भए पनि प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चिनिया जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणको लागि २०७५ असार १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ । भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले चीनका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

साथै, भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले मित्रराष्ट्र म्यान्मारको भ्रमण पनि गर्ने र त्यहाँका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री २०७५ असार २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

भ्रमण अवधिभर प्रधान सेनापति महारथी क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरु चीन तथा म्यान्मारका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

स्मरण रहोस्, अवकास हुनु एक महिना अघि प्रधानसेनापति एक महिने विदा बस्ने परम्परा छ। परम्परा अनुसार, प्रधानसेनापति क्षत्री २०७५ साउन २४ गतेबाट विदा बसेर २०७५ भदौ २४ गते अवकास हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्