Wednesday 22nd of January 2020

साँढे बनेको सरकारलाई कांग्रेसले यसरी देखाउनेछ असली ‘पावर’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउन शीर्ष नेताहरू एकजुट भएको बताएका छन् ।

कांग्रेसका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १८ जना शीर्ष नेताहरूको मंगलबार बसेको विशेष बैठकले संसदमा प्रभावकारी रुपमा कम्युनिस्ट सरकारविरुद्ध मुकाविला गर्ने सहमति भएको थियो ।

सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको कार्यान्वयन, डा.गोविन्द केसी र गंगामाया अधिकारीको अनशन, बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दार लगायतका विषयमा कांग्रेसका शीर्ष नेताहरूबीच कुराकानी भएको शर्माले जानकारी दिए ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको, मूल्यवृद्धि नियन्त्रण नगरेको र प्रधानमन्त्री केपी ओलीले विपक्षीले उठाएका प्रश्नलाई बेवास्ता गर्दै आएको लगायतका विषयलाई कांग्रेसले मुख्य रुपमा उठाउने शर्माले बताए ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले पार्टीभित्र भएका सामान्य विवाद र फरक विचार पनि अब एक हुने बताए ।

सरकार हरेक क्षेत्रमा कि हचुवा शैलीमा, कि निश्चित नियतका साथ प्रस्तुत हुँदै आएको कांग्रेसको ठहर छ । त्यसको उदाहरणको रुपमा चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकलाई लिन सकिने प्रवक्ता शर्माले बताए । ओली सरकार अशनको साँढेको रूपमा प्रस्तुत भएको भन्दै प्रवक्ता शर्माले भने, ‘कांग्रेसले अब सडक र संसदबाट खबरदारी गर्नेछ ।’

सरकारले गत आइतबारको प्रतिनिधिसभा बैठकमा नियम निलम्बन गरी फास्ट ट्रयाकबाट चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले त्यसो गरिएमा संसद अवरोध गर्ने चेतावनी दिएपछि सरकार पछि हटेको छ । अध्यादेशमा भएका महत्वपूर्ण प्रावधान हटाएर प्रतिस्थापन विधेयक ल्याइएको कांग्रेसको दाबी छ ।

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कजेललाई सम्बन्धन दिन नहुने, मेडिकल कलेजको सम्बन्धन पाउन तीन वर्ष सञ्चालन हुनुपर्ने जस्ता अध्यादेशका प्रावधानलाई प्रतिस्थापन विधेयकमा हटाइएपछि कांग्रेस रुष्ट छ ।