Friday 3rd of April 2020

आज इंग्ल्यान्डलाई स्विडेनको चुनौती

विश्वकप फुटबलमा इंग्ल्यान्ड र स्विडेन सेमिफाइनल प्रवेशका लागि शनिबार प्रतिस्पर्धा गर्दै छन् । इंग्ल्यान्डले प्रिक्वार्टरफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराएकोे थियो । स्विडेनले स्विट्जरल्यान्डलाई १–० ले निराश पार्दै क्वार्टरफाइनल स्थान बनाएको हो ।

इंग्ल्यान्ड र स्विडेन विश्वकपमा अनपेक्षित टिमका रूपमा रहेका छन् । अब दुईमध्ये एक टिमले अन्तिम ४ मा स्थान बनाउनेछ । स्विडेन १९९४ पछि सेमिफाइनल पुग्न सकेको छैन । २४ वर्षपछि पुनः इतिहास बनाउने ध्याउन्नमा स्विडेन हुनेछ ।

इंग्ल्यान्डले सन् १९६६ मा आयोजक राष्ट्रका रूपमा उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड उपाधिविहीन छ । यसपटक इंग्ल्यान्डसमक्ष दोस्रोपटक च्याम्पियन हुने राम्रो मौका छ । स्विडेनलाई हराउँदा इंग्ल्यान्ड उपाधिनजिक पुग्नेछ । इंग्ल्यान्ड र स्विडेनले सेमिफाइनलमा क्रोएसिया र रसियामध्ये एक प्रतिद्वन्द्वी पाउनेछन् । इंग्ल्यान्ड र स्विडेनलाई यसपटक फाइनल प्रवेश तुलनात्मक रूपमा सहज छ ।

लय समाउने चुनौती
स्विडेन जारी प्रतियोगितामा आफ्नो बलियो लयमा देखिएको छैन । स्विट्जरल्यान्डविरुद्धको खेलमा अधिकांश समय दबाबमै रहे पनि स्कोर निकाल्दा क्वार्टरफाइनल सम्भव भयो । इंग्ल्यान्डलाई हराउन स्विडेनले ठूलो मिहिनेत गर्नुपर्नेछ । बलियो डिफेन्स लाइन र छरितो फर्वार्डमा विश्वास गर्ने स्विडेन यसपटक तुलनात्मक रूपमा अस्थिर देखिएको छ । समूह चरणमा जर्मनीसँग पराजित भएयता स्विडेनले एक गोल पनि खाएको छैन । तर, उसको चुनौती भने घटेको छैन ।

चिरपरिचित प्रतिद्वन्द्वी
इंग्ल्यान्ड र स्विडेन एक–अर्काविरुद्ध परिचित प्रतिद्वन्द्वी हुन् । २४ पटक एक–अर्काविरुद्ध भिड्दा इंग्ल्यान्डले ८ र स्विडेनले ७ पटक जित निकालेका छन् । दुईबीच ९ पटक बराबरी भएको छ । विश्वकपमा ४ पटक आमने–सामने भएका इंग्ल्यान्ड र स्विडेनबीचको खेल केवल समूह चरणमा मात्र सीमित रह्यो । समूह चरणमा यी दुईले बराबरी नतिजा निकालेका छन् । २००६ मा भएको विश्वकप भिडन्तमा २–२ गोलको बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्