Wednesday 22nd of January 2020

कर्मचारीको उमेर हद, ६० बनाउन उच्च पदस्थकै चलखेल

काठमाडौं । निजामती कर्मचारीको उमेर हदको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबीच विवाद भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित उमेर हद ५८ वर्ष राख्नुपर्ने पक्षमा छन् भने अर्थमन्त्री डा. युवराज खतिवडा ६० वर्ष राख्नुपर्ने अडानमा छन् । अाजकाे राजधानी दैनिकमा खबर छ ।

संघीय मन्त्रालयले निजामती कर्मचारीको उमेर हद ५८ वर्ष गर्न राखेको प्रस्तावमा अर्थ मन्त्रालयले असहमति जनाउँदै ६० वर्ष पु¥याउन भनेपछि दुई मन्त्रालयबीच विवाद भएको हो ।निजामती सेवा ऐन, २०४८ मा ५८ वर्ष उमेर पूरा भएका निजामती कर्मचारी स्वतः सेवाबाट अवकाश हुने प्रावधान छ ।

संघीय मन्त्रालयले निजामती सेवा ऐन र नयाँ पुस्तालाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यसहित उमेर हद ५८ वर्ष राखेकोमा अर्थले त्यसमा असहमति जनाएर ६० बनाउन भन्दै पत्र काटेको हो ।

उमेर हद ६० वर्ष बनाउन लागिपरेका निजामती सेवाका उच्चपदस्थ कर्मचारीले अर्थ मन्त्री खतिवडालाई समेत प्रभावमा पारेको स्रोतको दाबी छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा ५८ वर्षीय उमेर हदलाई हटाएर ६० वर्ष बनाउन अर्थले पनि सामान्यलाई पत्र काटिसकेको छ । यसअघि सामान्यले अर्थसँग विधेयकको मस्यौदाका बारेमा राय मागेको थियो ।

निजामती उच्च पदस्थ कर्मचारीले यसअघि सरकार र मन्त्री परिवर्तन हुनासाथ पटकपटक उमेर हद ६० पु¥याउनका लागि लबिइङ गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयले तयार पारेको प्र्रस्तावमा ५८ वर्ष नै रहेको र छलफलका लागि प्रस्ताव भएकाले यसको अन्तिम निर्णय भइनसकेको बताए ।

‘मन्त्रालयले छलफलका लागि प्रस्तावमा ५८ वर्ष नै उमेर हद राखेको छ तर यो छलफलका लागि प्रस्तावित भएकाले अन्तिम निर्णय हुन बाँकी छ,’ मन्त्री पण्डितले राजधानीसँग भने ।अर्थमन्त्री खतिवडाकै अध्यक्षतामा बसेको बैठकले भने ५८ को सट्टा उमेर हद ६० हुनुपर्ने निर्णय गर्दै विधेयकको मस्यौदामा सामान्यलाई सहमतिपत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्