Friday 24th of January 2020

ललितपुर महानगरपालिकाकाे बजेट ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजारको प्रस्ताव गरेको छ । महानगरले दोस्रो नगरसभामार्फत सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्ताव गरेको हो । प्रस्तावित बजेट प्रस्तुत गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जनले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक बोर्ड, अन्तर्राष्ट्रिय संस्थालगायत स्रोतका आधारमा अनुमानित आय प्रस्ताव गरिएको जानकारी दिए । महानगरले संघीय सरकारबाट ८९ करोड ७८ लाख आयको अनुमान गरेको छ ।

प्रदेश सरकारबाट ३ करोड र आन्तरिक स्रोत १ अर्ब ७७ करोड ५४ लाख १ हजार आयको अनुमान गरिएको छ । अनुदान सशर्त र निःसर्त दुवै किसिमका छन् । अनुमानित व्ययमा प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा खर्च हुने अनुमान गरिएको छ । नगर प्रमुख चिरीबाबु महर्जनले ‘नगरले भौतिक पूर्वाधारसँगै खेलकुद, पर्यटन, शिक्षालगायत क्षेत्रको विकास गर्ने नीति लिएको तथा साविक गाउँपालिकाको विकासमा ध्यान केन्द्रित गरेको बताए ।’ ‘महानगरको विकास सबैभन्दा पिछडिएको फर्सीडोलबाट सुरु गरिनेछ’ प्रमुख महर्जनले भने ।

ललितपुर महानगरपालिकामा ३९ वटा वडा छन् । महानगरले यी वडालाई तीन भागमा वर्गीकरण गरी बजेट विनियोजन गरेको छ, वडा नं १२ लगनखेलका वडाध्यक्ष नारायण अवालेले तीन भागमा वर्गीकरण गरी बजेट विनियोजन गरेको जानकारी दिए । वडाको वस्तुस्थिति, भौगोलिक अवस्था र जनसंख्याको आधारमा १ करोड २० लाख र १ करोड ५० लाख बजेट विनियोजन गरेको अवालेले बताए । ‘नयाँ आर्थिक वर्ष ०७५÷७६ मार्फत विगतमा ३० लाख बराबरको रकम भोगचलन गर्दै आएका वडाले १ करोड ४० लाख रकम भोगचलन गर्दै आएका वडाले १ करोड २० लाख र ५० लाख मूल्य बराबरको रकम प्रयोग गर्दै आएका वडाले डेढ करोड रकम पाउने छन्’, अवालेले भने ।

घर घरमा सिंहदरबारः भुसाल

ललितपुर–३ कि सांसद पम्फा भुसालले ललितपुरको घरघरमा सिंहदरबार पु¥याउने दाबी गरेकी छन् । ललितपुर महानगरपालिका ३९ वडालाई समानान्तर रूपमा विकास गर्दा ललितपुरको घरघरमा सिंहदरबार पुग्ने भुसालको दाबी छ । महानगरको दोस्रो नगरसभामा नेता भुसालले भनिन्, ‘ललितपुरका घरघरमा सिंहदरबार पु¥याउने काम गर्नुपर्नेछ ।’ ललितपुर सम्पन्न महानगर भएको उल्लेख गर्दै भुसालले भनिन्, ‘यसलाई विकासको चरणमा केही मात्र अघि बढाउँदा घरघरमा सिंहदरबार भित्रिन्छ ।’

साविकका ६ वटा गाविसलाई मिसाएर ललितपुर महानगर बनाइएको छ । ‘महानगरको खसीडोल तामाङ बस्तीमा विकास कम छ’ भुसालले भनिन् ‘खसीडोल विकास गर्न सकियो भने घरघरमा सिंहदरबार आउनेछ ।’ सुनाकोठीको अन्तिम बिन्दुमा बस्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । हरिसिद्धिको खेती दोसाँधको अवस्थाबाट गुज्रिएको बताउँदै भुसालले भनिन्, ‘हरिसिद्धिको खेतीलाई उर्वर बनाउँदा त्यहाँका जनताले आफ्नै खेतीको प्रयोग गर्न पाउनेछन् ।

उनले उल्लेख गरिन्, ‘ललितपुरमा सिंहदरबार ल्याउन त्यहाँको शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा सुधार गर्दै जानुपर्ने देखिन्छ । ललितपुर कला र संस्कृतिले धनी क्षेत्र भएकाले भुसालले कला र संस्कृतिमा जोड दिने उल्लेख गरिन् ।’ कर्मचारी प्रशासन फितलो भएको उल्लेख गर्दै उनले कर्मचारी प्रशासनको सुधार गर्दा ललितपुरको घरघरमा सिंहदरबार पुग्ने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्