Friday 21st of February 2020

कर तिर्दैनन् ठुल्ठूला व्यावसायिक मल

काठमाडाैं । राजधानीमा रहेका ठुल्ठूला व्यावसायिक कम्पनी तथा मलहरूले वर्षांैदेखि काठमाडांै महानगरपालिकालाई कर छल्दै आएका छन् । राजधानीका चर्चित र नाम कहलिएका सिभिल मल, सिटिसी मल, बालाजु औधोगिक क्षेत्र, केही सुपरमार्केटहरू, वल्र्ड ट्रेड सेन्टरलगायत कम्पनीले कर छल्दै आएका हुन् ।

काठमाडौंमा सञ्चालित ठूला व्यावसायिक कम्पनीहरू सिभिल मल, सिटिसी मल, बालाजु औधोगिक क्षेत्र काठमाडौंमा सञ्चालित ६ वटा सुपरमार्केटहरूले विगत तीन वर्षदेखि कर नतिरेको महानगरले जानकारी दिएको छ । वल्र्ड ट्रेड सेन्टरले भने स्थापनाको सुरुआतदेखि नै कर छल्दै आएको काठमाडौं महानगरपालिकाका राजस्व विभागीय प्रमुख राज्यप्रकाश प्रधानांगले बताएका छन् । राजस्व छल्नेलाई के गर्ने भन्ने स्पस्ट कानुन नभएकाले ठूला व्यवसायीसँग कर उठाउन नसकिएको महानगरको स्विकारोक्ति रहेको छ । राजस्व नर्तिने व्यवसायीलाई कस्तो कारबाही गर्ने भन्ने कानुनमा स्पस्ट नुहुनु नै मुख्य समस्या भएको प्रमुख प्रधानांगको भनाइ छ । यी सबै व्यावसायिक कम्पनीबाट महानगरले ५ करोड रुपैयाँ बढी उठाउन बाँकी रहेको छ ।

कुन कम्पनिले महानगरमा कति कर तिर्न बाँकि छ भन्ने विषयमा समेत महानगर मौन बनेको छ । आफुहरूले हिसाब नै नगरेका बताउँदै आएको विभागीय प्रमुख प्रधानांगले भने, ‘अधिकांश व्यवसायको तीन वर्षको बाँकि छ, तर यसको यति नै छ भन्न सकिन्न ।’ व्यवसायीक कम्पनीले भने अहिलेसम्म पनि विवरण महानगरपालिकामा पेस गरेका छैनन् । त्यसैले यो कम्पनीको यति नै बाँकी छ भन्न नसकिने प्रधानांगले बताए । सञ्चालन गरेको अवस्थामा भन्दा सिभिल मलले केहि भाग घटाएको छ भन्ने आइरहेको छ । त्यसैले कर कति बाँकी छ भन्न नसकिने विभागीय प्रमुखको दाबी छ । कर छल्ने व्यवसायीलाई करको दाउरामा ल्याउने खालको कानुन बनाउन लागेको बताउँदै प्रधानांगले भने, ‘कानुन बनाउँदै छौँ श्रावणदेखि कानुन पूर्णरूपमा लागू गर्दै जाने छौँ यस्ता व्यावसायिक कम्पनीलाई जसरी पनि करको दायरामा ल्याउछाैं।’

काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष ०७४÷७५ मा १३ अर्ब २ करोड राजस्व संकलन भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र दर्ता वा इजाजत प्राप्त गरी स्थापित उद्योग, व्यापार, व्यवसाय, सेवा र यस्तै प्रकारका जुनसुकै कारोबार गर्ने व्यक्ति वा निकायलाई व्यवसायको प्रकृति आर्थिक कारोबार, स्थान विशेष र लगानीका आधारमा व्यवसायबाट कर उठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्