Wednesday 19th of February 2020

इन्टरनेटको मूल्य घटाउन सरकारद्वारा समिति गठन, मूल्य समायोजन गर्न सेवा प्रदायक तयार

काठमाडाैँ। इन्टरनेटमा भएको मूल्यवृद्धिको चौतर्फी आलोचना भएका बेला सरकारले मूल्य समायोजन गर्न समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा आएको ह्रासकाबीच मूल्यबृद्धि भएको भन्दै सरकारको आलोचना सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटको मूल्य निर्धारणका लागि एक समिति गठन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यका आधारलाई टेकेर समितिले निर्धारण गर्ने छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीका अनुसार समितिले मूल्य समायोजनका लागि लागत विश्लेषणका साथै नीतिगत तथा कानूनी उपाय खोज्नेछ ।

समितिमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र इस्पानका प्रतिनिधि रहनेछन् । सेवा प्रदायकहरुले आफूले खरिद गरेभन्दा तीन गुणा महङ्गो मूल्यमा उपभोक्ताहरुलाई इन्टरनेट बिक्री गर्दै आएका थिए । आर्थिक बर्ष २०७५/०७६ को बजेट बक्तव्यमा बढेको करलाई आधार बनाउँदै इन्टरनेटको मूल्य बृद्धि गरेपछि मूल्य घटाउन सरकारले प्रयास थालेको थियो ।

त्यसैक्रममा मन्त्रालयले इन्टरनेट सेवा प्रदायक इस्पानका प्रतिनिधिलाई बोलाएर यसअघि दुई पटक मूल्य समायोजनका लागि आग्रह गर्दै आएको थियो । तर, उनीहरुले मूल्य घटाउन अस्वीकार गर्दै आएका थिए । समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । समितिको प्रतिवेदन अनुसार इन्टरनेट मूल्य समायोजन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्