Tuesday 17th of September 2019

लोकतन्त्र अझै सुरक्षित छैन : पूर्व सभामुख ढुंगाना

चितवन । पूर्व सभामुख दमननाथ ढुंगानाले लोकतन्त्र अझै पनि असुरक्षित रहेको बताएका छन् । नवलपुरको गैंडाकोटमा शनिबारदेखि सुरू भएको नेपाल डेमोक्रयाटिक लयर्स एसाेशिएसनकाे १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनमा बोल्दै ढुंगानाले संसारमा कुनै पनि कम्युनिष्टले लाेकतन्त्र नजाेगाएकाे बताए ।

‘संविधान लोकतान्त्रिक छ । तर जनमत लोकतन्त्रवादीले सत्ता चलाउने आएन । सत्तामा कम्युनिष्टहरू छन् ।’ उनले भने, ‘संसारमा कुन कम्युनिष्टले लोकतन्त्रको रक्षा गरको छ । यसको रक्षा गर्ने दायित्व प्रजातन्त्रवादीको हो ।’

दुई तिहाइको शक्ति बनाएका कम्युनिष्टहरू अझै एकीकृत हुन खोजेको तर लोकतन्त्रवादी कांग्रेसभित्र एकता खोज्नु पर्ने अवस्था आएको उनले बताए । उनले कांग्रेस विस्तारित र फराकिलो हुनु पर्ने बताए । कार्यक्रममा सहभागी कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनले अनुरोध गरे, ‘नेपाली काँग्रेस अब संकीर्ण हैन फराकिलो हुनु पर्छ । यसका लागि नेता ज्यूहरूले वृहत लोकतान्त्रिक मोर्चा बनाउनु पर्छ ।’

कांग्रेसले भविष्यका राम्रा योजना बनाउनु पर्ने भन्दै उनले सधै इतिहासका कुरा मात्रै गर्दै हिँड्नुकाे सट्टा भविष्य देखाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सत्ताधारी दलको व्यवहारले संविधान बाँदरको हातमा नरिवल बन्ने खतरा बढेको बताए । ‘आपतकालको झल्को आउने गरेर सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । यो गलत हो,’ लेखकले भने ।