Monday 27th of January 2020

आईजीपीको ‘स्वार्थ’ नमिलेपछि तानिदै काठमाडौं प्रहरी प्रमुख, को सम्हाल्दैछ कमाण्ड

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख फेर्ने तयारी गरेको छ । एसएसपी विश्वराज पोखरेल २८ माघबाट काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकोमा ५ महिनामै उनलाई तान्न लागिएको हो ।

एसएसपी पोखरेल गुण्डागर्दी एवं लागूूपदार्थ आसोरपसार नियन्त्रणसंगै शान्ति सुरक्षा मजवुद बनाउन सफल भएपनि आईजीपी सर्वेन्द्र खनालले उनलाई हटाउन चाहेका हुन् ।

खनालले एसएसपी पोखरेललाई पुर्व आईजिपी उपेन्द्रकान्त अर्यालसंग जोडेर हटाउन चाहेको स्रोतको दाबी छ । काठमाडौं प्रहरी प्रमुख रहेका पोखरेलले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफु यो जिम्मेवारीमा नरहेपनि प्रहरीले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने र जनताको पक्षमा सधैं उभिने भन्दै सरुवाको संकेत समेत गरिसकेका छन् ।

‘आईजीपी खनाल कामभन्दा प्रचार गर्न बढी मनपराउंछन, आफूू प्रहरी प्रमुख भइसकेपछि काठमाडौंको प्रहरी नेतृत्व फेर्न चाहेका थिए। तर, हाल आएर हटाउन लागेका हुन्,’ एक प्रहरी अधिकारीले भने।‘ सम्भवतः आइतबार काठमाडौंको नेतृत्व फेरिनेछ । यसबारेमा खनालसंग पटक–पटक सम्र्पक गर्दा उनले टेलिफोन उठाएनन् ।

पदस्थापन शुुरु गरेको एक वर्षसम्म सरुवा गर्न नपाइने प्रहरी नियमावलीमा उल्लेख छ। यदि एक वर्षअघि नै सरुवा गर्नु परेमा सरुवा गर्नुपर्ने कारण उल्लेख गर्नुपर्ने व्यवस्था छ । यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा धानुकको ठाउंमा प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई ल्याइएको थियो । उनि नेपाल प्रहरीभित्र व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

त्यसअघि तत्कालिन काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी डीआइजीमा बढुवा भएपछि ५ भदौ २०७४ मा धानुक रुपन्देही प्रहरी प्रमुखबाट काठमाडौं प्रहरी प्रमुख भएका थिए।

कसले सम्हाल्छ कमाण्ड?
एसएसपी र डिआईजीको सरुवा गृहमन्त्री गर्ने गर्छन्। काठमाडौं प्रमुख फेर्ने आईजीपी खनालको प्रस्तावमा गृहमन्त्री रामबहादुर थापा पनि सहमत भइसकेका छन्।

तर, अब काठमाडौं प्रहरी प्रमुख कसलाई बनाउने भनेर निर्णय हुन भने बांकी छ। पछिल्लो समय आईजिपी खनाल रबर स्टेम्प बनेको प्रहरीकै उच्च अधिकारी बताउंछन् । उनले अहिलेसम्म पनि एआईजीको बढुवा गर्न सकेका छैनन् ।

काठमाडौं प्रहरी प्रमुखमा गृहमन्त्री थापा र आईजीपी खनालले आफूू अनकुुल एसएसपी पठाउने तयारी गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री कार्यालयबाट भने एसएसपी हरि पाललाई पठाउन सिफारीस भइसकेको छ । गृहमन्त्री थापाले एसएसपी बसन्त लामालाई काठमाडौं प्रहरी प्रमुख बनाउने चाहना राखेको उनि निकट स्रोतको दाबी छ ।

तर, आईजीपी खनाल एसएसपी उत्तम सुवेदीलाई काठमाडौं प्रहरी प्रमुख बनाउंदा आफूूलाई काम गर्न सहज हुने बताइरहेको स्रोतले बताएको छ।
KathmanduPati

प्रतिक्रिया दिनुहोस्